निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा गाडी सहयोग

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ ।

नेपालका लागि महामहिम भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई सवारी साधन हस्तान्तरण गर्नुभएको हो ।

सवारी साधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सहयोगका लागि भारत सरकार तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उहाँले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताउनुभयो ।

श्रीवास्तवले नेपाल सरकार र नेपालको निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारी साधन सहयोग गरेको बताउनुभयो । नेपालको छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको उल्लेख गर्दै उहाँले भारत सरकारले दिएको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्राप्त सवारीसाधनले निर्वाचनको व्यवस्थापनमा सहयोग पुग्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?