म्याग्दीमा तात्यो निर्वाचनको माहोल : बाजीमार्ने दौडधुपमा गर्बुजा र श्रेष्ठ

एमाले तेस्रो जितको खोजीमा सत्तागठबन्धन गढ भत्काउने दाउमा

Read Time = 9 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । राजनीतिक रुपले पञ्चायत कालदेखि नै निकै चर्चित जिल्ला हो म्याग्दी । पञ्चायत कालका सदाबहार नेता भीमप्रसाद गौचनले म्याग्दीको चुनावी इतिहासमा विकास र कुटनीतिलाई सँगसँगै अघि बढाउनु भएको थियो । गौचनको त्यही पदचापलाई पछ्याउँदै म्याग्दीको राजनीति अघि बढिरहेको छ ।

म्याग्दीमा निर्वाचनताका अनौठा कुटनीतिक खेलहरु हुने गर्दछन् । छक्का पञ्जामा आधारित त्यस्ता खेलहरुले निर्वाचनको परिणामलाई नै प्रभावित पार्ने गरेको पञ्चायतकाल देखिकै इतिहास म्याग्दीमा छ ।

यसपटक पनि म्याग्दीको निर्वाचन निकै पेचिलो हुने संकेत देखिएको छ । निर्वाचन आचार संहिता उल्लङ्घन गरेको उजुरीका आधारमा निर्वाचन कार्यालयले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदार हरिकृष्ण श्रेष्ठ र गठवन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार खमबहादुर गर्वुजा (खम्वीर) लाई लिखित स्पष्टीकरण माग गरिसकेको छ ।

दुवै पक्षले स्पष्टीकरण दिएसँगै म्याग्दीमा निर्वाचनको ताप बढेको छ । एउटै मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको तर्फबाट श्रेष्ठ र गठवन्धनको तर्फबाट गर्बुजा चुनावी मैदानमा हुनुहुन्छ । २०७० र २०७४ को निर्वाचनमा एमालेले विजय प्राप्त गरेको म्याग्दीमा एमालेका उम्मेदवार श्रेष्ठलाई त्यो विरासत कायम गर्ने ठूलो चुनौति छ भने गठवन्धनका उम्मेदवार गर्बुजालाई एमालेको गढ ध्वस्त गरेर नयाँ इतिहास कायम गर्ने चुनौति छ । गर्बुजा यस अघिका दुईवटा निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर पराजित हुनु भएको थियो । ०७४ मा माओवादीको साथ पाएको एमाले विजयी भएको थियो । यसपटक माओवादीको साथ कांग्रेसलाई छ । त्यसैले ऊ परिणाम बदल्ने प्रयासमा छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ४ मंसिरको सरगर्मी बढिसकेको छ । यहाँ मुख्य रूपमा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र सत्तागठबन्धनका उम्मेदवार रहनुभएका कांग्रेसका खमबहादुर गर्बुजा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रतिनिधिसभामा स्वतन्त्रसहित नौ, प्रदेश सभा क्षेत्र (क) मा पाँच र (ख) मा ६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। विगतको स्थानीय तहको चुनावको मतपरिणाम विश्लेषण गर्दा सत्तागठबन्धनमा आबद्ध दलको मत बढी देखिएको छ। तर, यहाँ एमाले पनि निकै बलियो शक्तिका रूपमा रहेको छ ।

जिल्लामा गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका गर्बुजा र प्रदेश सभातर्फ निर्वाचन क्षेत्र (क) मा हरिबहादुर भण्डारी र (ख)मा रेसम जुग्जाली उम्मेदवार बन्नुभएको छ । एमालेबाट प्रतिनिधिसभामा श्रेष्ठ र प्रदेश सभा (क) मा देवेन्द्रबहादुर कटुवाल र (ख)मा यामबहादुर गर्बुजा मैदानमा हुनु हुन्छ ।

संसदीय निर्वाचनको इतिहास पल्टाउँदा म्याग्दीमा कांग्रेस, एमाले र माओवादीले सफलता पाएको रेकर्ड छ । ०५६ मा कांग्रेस, ०६४ मा माओवादी तथा ०७० र ०७४ मा एमाले उम्मेदवार निर्वाचित भएका थिए । ०७४ मा एमाले र माओवादीले गठबन्धन गरेका थिए। प्रतिनिधिसभा र प्रदेश सभा (ख) मा एमालेका उम्मेदवार विजयी भएका थिए भने प्रदेश सभा (क) मा माओवादीका उम्मेदवार विजयी भएका थिए। यसपटक कांग्रेस–माओवादी–एकीकृत समाजवादीको गठबन्धन छ भने एमाले एक्लै चुनावी मैदानमा छ । एमाले लगातार तेस्रो जितको खोजीमा छ भने सत्तागठबन्धन उसलाई रोक्दै एमालेको गढ भत्काउन चाहन्छ ।

स्थानीय तहको मत विश्लेषण

म्याग्दीमा एक नगरपालिका र पाँच गाउँपालिका छन्। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमाले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वटा वडामा विजयी भएको थियो। कांग्रेसले दुई प्रमुख, एक उपप्रमुखसहित १७ वटा वडा र माओवादीले दुई पालिका उपप्रमुखसहित ६ वटा वडा जितेको थियो ।

जिल्लामा रहेका ४५ वटै वडाहरूमा दलहरूका उम्मेदवारहरूले पाएको मतको आधारमा गठबन्धनका दल एमालेभन्दा बलियो देखिन्छन्। एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९० मत ल्याएका थिए। त्यहीँ कांग्रेसका वडाध्यक्षका उम्मेदवारले १९ हजार आठ सय ७० र माओवादीका वडाध्यक्षका उम्मेदवारले आठ हजार पाँच सय ९२ मत ल्याएका थिए ।

धवलागिरि गाउँपालिका–१ गुर्जामा माओवादी–कांग्रेस गठबन्धनका उम्मेदवार निर्विरोध भएका थिए। सो मतबाहेककै पनि म्याग्दीमा एमालेभन्दा गठबन्धनसँग पाँच हजार तीन सय ७२ मत बढी रहेको देखिन्छ ।

निर्वाचन आयोगका अनुसार म्याग्दीमा अहिले ८६ हजार एक सय २० मतदाता छन्। स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता थप र अद्यावधिकमार्फत सात सय ४५ जना नयाँ मतदाता थपिएका छन्। तीमध्ये पुरुष ४२ हजार ५५ र महिला ४४ हजार ६४ छन्। गत वैशाखको स्थानीय निर्वाचनमा जिल्लामा ८५ हजार ३७५ मतदाता रहेकोमा ५६ हजार चार सय ५६ मत खसेको थियो।

उम्मेदवारका आ–आफ्नै दाबी

प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खमबहादुर गर्बुजा (खम्बिर) कांग्रेसका जिल्ला सभापतिसमेत हुनु हो । गर्बुजा तेस्रोपटक चुनावी मैदानमा उत्रिनुभएको छ । यसअघि लगातार दुईपटक पराजय व्यहोर्नुभएको गर्बुजा यसपटक माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ लिएर पहिलो जितको खोजीमा हुनुहुन्छ ।

एमाले उम्मेदवार श्रेष्ठ एमाले म्याग्दीका निवर्तमान अध्यक्ष हुनु हो । तत्कालीन अर्थुंगे गाविसको अध्यक्ष भइसकेका श्रेष्ठसँग जनप्रतिनिधिको अनुभव छ । यस्तै, स्थानीय तह निर्वाचनमा जिल्लाका ६ मध्ये ४ स्थानीय तहको प्रमुख जितेर पहिलो ठूलो दल बनेको हौसला पनि छ। एमालेको सांगठनिक बल त छँदै छ ।

प्रदेश सभातर्फ (क) मा गठबन्धनबाट माओवादीका हरि भण्डारी उम्मेदवार हुनु हुन्छ । ३७ वर्षका भण्डारी युवाको जोससहित मैदानमा उत्रिनुभएको छ । उहाँसँग ५७ वर्षका एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल मुख्य प्रतिस्पर्धी देखिनु हुन्छ । यस्तै, (ख)मा गठबन्धनबाट माओवादीका रेशम जुग्जाली र एमालेका यामबहादुर गर्बुजा मुख्य प्रतिस्पर्धी हुनु हो । माओवादी म्याग्दीका जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिका ७ का निवर्तमान वडाध्यक्ष हुनु हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?