‘किलिमन्जारो’ र ‘मृतसागरको उचाइबाट’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अफ्रिका च्याप्टरद्वारा प्रकाशित पहिलो नेपाली साहित्यिक प्रकाशन ‘किलिमन्जारो’ लोकार्पण गरिएको छ । प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमबीच ‘किलिमन्जारो’ लोकार्पण गरिएको हो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं वरिष्ठ साहित्य तथा संगीत साधक गणेश रसिक, वर्तमान सदस्य सचिव श्याम तमोट, कवि श्रवण मुकारुङ, फ्रान्सका लागि पूर्वनेपाली राजदूत मोहनकृष्ण श्रेष्ठ, वरिष्ठ संगीतकार दीपक जंगमलगायत अतिथिहरूले उक्त पुस्तकको लोकार्पण गर्नुभएको थियो । उक्त अवसरमा इजरायलमा बस्ने कवि सिन्धु पौडेललको कविताकृति ‘मृतसागरको उचाइबाट’ पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रसिकले अफ्रिकामा विभिन्न कामका सन्दर्भमा बस्ने नेपाली स्रष्टाहरूका लेखरचना संकलन गरी प्रकाशित भएको ‘किलिमन्जारो’ले नेपाली साहित्यलाई अफ्रिका महादेशमा फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विचार व्यक्त गर्नुभयो ।

अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्काको सभापतित्वमा आयोजना भएको कार्यक्रममा एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापा, साहित्य पोष्टका प्रधान सम्पादक अश्विनी कोइराला, अनेसासका केन्द्रीय उपाध्यक्ष डा.रेणुका सोलु, रमेश पौडेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण एलिसा ढुंगानाले गर्नुभएको थियो । गणेश खड्काद्वारा सम्पादित साहित्यिक संगालोमा विभिन्न लेखकका नियात्रा, यात्रा संस्मरण, अनुभूति, अनुभव, कविता, गीत र गजल समाविष्ट छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?