लुम्बिनीका चार क्षेत्रमा पूर्व-सहयात्रीको भिडन्त

गुल्मीमा विष्टलाई झाँक्रीको डर रुपन्देहीमा भुसाललाई गठबन्धनको भर

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 10 mins

बुटवल । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन र विपक्षी गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने भएकोे छ । उहाँहरू लामो समयसम्म सहकर्मी भएर पार्टीमा काम गरेका नेताहरू हुनुहुन्छ । जुन क्षेत्रमा उहाँहरू चुनावी प्रतिस्पर्धामा रहनुभएको छ त्यो क्षेत्र अरू क्षेत्रभन्दा फरक र रोचक हुने देखिन्छ । पार्टीमा सँगै राजनीति गरेका एमाले र एकीकृत समाजवादी सहयात्री हुन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा (नेकपा एकीकृत समाजवादी)ले चार क्षेत्रमा उम्मेदवार बनाएको छ । सत्तारूढ गठबन्धनसँगको तालमेलमा एकीकृत समाजवादीले चार सिट पाएको हो ।

चारै सिटमा (नेकपा एमाले)का उम्मेदवारसँग प्रतिस्पर्धा हुँदै छ । चुनाव नजिकिँदै गर्दा यी क्षेत्रमा एकीकृत समाजवादीले आफ्नो समर्थन बढाउँदै लगेको स्थानीय मतदाताहरूको भनाइ छ । दाङ- क्षेत्र नं १ का स्थानीय शंकर चौधरीका अनुसार केही दिन अघिसम्म एकीकृत समाजवादीको चर्चा परिचर्चा कम थियो तर अहिले एमालेका मतदाताहरूबाट नै समाजवादीका नेताहरूलाई भोट हाल्ने अवस्था देखिन्छ ।

दाङ-१ मा शान्ता चौधरी र मेटमणि चौधरी
दाङ- क्षेत्र नं १ मा नेकपा एमाले नेतृ शान्ता चौधरी र उहाँका पूर्व-सहकर्मी मेटमणि चौधरी प्रतिस्पर्धामा हुनुहुन्छ । एमाले विभाजनअघि दुवैजना केन्द्रीय सदस्य हुनुहुन्थ्यो । अहिले मेटमणि एकीकृत समाजवादीका सचिव हुनुहुन्छ भने शान्ता एमालेको पोलिटब्युरो सदस्य हुनुहुन्छ । २०७४ सालको निर्वाचनमा माओवादीसँगको तालमेलले मेटमणि निर्वाचित हुनुभएको थियो । उहाँले ३७ हजार ९०८ मत पाएका पाउनुभएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेसकी सुशीला चौधरीले २४ हजार ७४ मत पाउनुभएको थियो ।

त्यतिबेला शान्ता पनि मेटमणिलाई जिताउन चुनावी अभियानमा खटिनुभएको थियो । यतिबेला भने उहाँ आफैँ प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँ २०६४ र २०७४ सालमा एमालेबाट समानुपातिक तर्फबाट निर्वाचित हुनुभएको थियो । नेतृ शान्ता भूमिहीन र कम्लरी आन्दोलनबाट राजनीतिमा आउनुभएको थियो ।

पाल्पा-२ मा सोमप्रसाद पाण्डेय र ठाकुर गैरे
पाल्पा- क्षेत्र नं २ मा एकीकृत समाजवादी लुम्बिनी कमिटीका अध्यक्ष सोमप्रसाद पाण्डेय र एमालेका पोलिटब्युरो सदस्य ठाकुर गैरे आमने सामने हुनुभएको छ । गत निर्वाचनमा पाण्डेय यही क्षेत्रबाट निर्वाचित हुनुभएको हो ।

माओवादी सँगको तालमेलमा तत्कालीन एमालेका उम्मेदवार पाण्डेयले ३४ हजार ८९९ मत पाउनुभएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाउनुभएको थियो । त्यतिबेला गैरे चुनावी कमान्डर हुनुहुन्थ्यो । अहिले दुवै पूर्व–सहकर्मी चुनावी मैदानमा हुनुहुन्छ ।

लामो समयपछि टिकट पाउनुभएका गैरे मतदाताका लागि नयाँ अनुहार हो भने पाण्डेय, गठबन्धनका उम्मेदवार भएकाले कडा टक्कर हुने स्थानीयको बुझाइ छ । दुवैजना पहिला एउटै पार्टीमा हुनुहुन्थ्यो ।

रुपन्देही-१ मा घनश्याम भुसाल र छविलाल विश्वकर्मा
लुम्बिनीको रोचक प्रतिस्पर्धा भइरहेको अर्को क्षेत्र हो, रुपन्देही- क्षेत्र नं १ यो क्षेत्रबाट एमालेका पूर्व-स्थायी कमिटीका सदस्य घनश्याम भुसाल र एमालेका सचिव छविलाल विश्वकर्मा प्रतिस्पर्धामा हुनुहुन्छ ।

विश्वकर्मा गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले ३४ हजार ७५२ मत पाउनुभएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेसका अब्दुल रज्जाक गद्दीले २६ हजार ८८५ मत पाउनुभएको थियो । एमालेले यसपटक पनि उहाँलाई यही क्षेत्रबाट उम्मेदवार बनाएको छ । उहाँलाई राप्रपा र जसपाले समर्थन गरेका छन् ।

जबकि, भुसाल गत निर्वाचनमा रुपन्देही-३ बाट निर्वाचित हुनुभएको थियो । उहाँले ३२ हजार ८६६ मत पाउनुभएको थियो । उहाँका प्रतिस्पर्धी राप्रपाका दीपक बोहराले २७ हजार ४२२ मत पाउनुभएको थियो । यसपटक भने एमालेले भुसाललाई टिकट दिएन । एमालेले राप्रपासँग तालमेल गरेर बोहरालाई समर्थन ग¥यो । त्यसपछि भुसाल पार्टी परित्याग गरेर गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । उहाँलार्ई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र लोसपाको समर्थन रहेको छ । कुनै समय एमालेमा सँगसँगै पार्टी निर्माणमा खटिएका दुवै नेताको चुनावी प्रतिस्पर्धालाई उत्सुकताका साथ हेरिएको छ । भुसालले एमाले अध्यक्ष ओलीको तानाशाही प्रविधिको कारण आफूले एमाले छाडेको बताउनुभएको छ ।

गुल्मी-२ मा रामकुमारी झाँक्री र गोकर्ण विष्ट
गुल्मी क्षेत्र नं २ मा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री र एमाले सचिव गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुँदै छ । दुवै जनाले लामो समय एमालेमै रहेर काम गर्नुभएको थियो । एमाले विभाजन हुँदा झाँक्री एकीकृत समाजवादीमा लाग्नुभयो भने विष्ट एमालेमै बस्नुभयो । अहिले प्रतिनिधिसभा सदस्यका लागि दुवै नेता आमनेसामने हुनुभएको छ । विष्ट २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को समर्थनमा यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले ३४ हजार ६१८ मत पाउनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २० हजार १५७ मत पाउनुभएको थियो ।

त्यतिबेला विष्टलाई जिताउन झाँक्री पनि खटिनुभएको थियो । यतिबेला भने झाँक्री आफैँ उम्मेदवार हुनुहुन्छ । गुल्मीमा एकीकृत समाजवादीको संगठन त्यति राम्रो नभएको बताइए पनि उहाँलार्ई गठबन्धनको साथ छ । स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर अहिले झाँक्रीलाई समर्थन गर्नुभएको छ । यद्यपि, यो क्षेत्रमा दुई पूर्व-सहकर्मीबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । स्थानीय मतदाता लोकनाथ आर्चायका अनुसार विष्टभन्दा झाँक्री नयाँ युवा भएकाले पनि गुल्मीमा यसपटक चुनाव एकदमै रोचक हुने आँकलन गरिएको छ । अर्काेतर्फ एमालेका गुल्मी-२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्टलाई निर्वाचनको मुखमा ठूलो झड्का लागेको छ । निर्वाचन नजिकिएको बेला नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गुल्मीका प्रभावशाली नेता शेषकान्त गौतमले गोकर्णको साथ छोड्नुभएको छ ।

गोकर्णको साथ छोड्नुभएका शेषकान्तले सत्तारूढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीलाई समर्थन गर्दै सहयोग गर्ने घोषणा गर्नुभयो । आइतबार विज्ञप्ति जारी गर्दै गौतमले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएकी झाँक्रीलाई मत दिनु उचित ठानेको उल्लेख गर्नुभएको छ । गौतम प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि एमालेको स्थानीय कमिटीबाट सिफारिसमा पर्नुभएको थियो । रामकुमारीलाई सहयोग गरेकै कारण पार्टीले कारबाही गरे भोग्न तयार रहेको उहाँले बताउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?