Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

ध्यान के हो ? किन गर्ने ?

हिमालय टाइम्स
Read Time = 9 mins
A A- A+

काठमाडौं । तपाईको स्वभाव कस्तो छ ? कुनैपनि कुरा एकाग्र भएर गर्न सक्नुहुन्न ? जति पढेपनि तपाईले पढेको कुरा सम्झन गाह्रो हुन्छ ? तपाईलाई आफ्नै जीवन देखेर दिक्क लाग्छ ? सानो कुरामा पनि तनाव धेरै हुन्छ ?

यदी यस्ता समस्याहरूमा पीडित हुनुहुन्छ भने यी समस्याबाट छुट्कारा पाउने सजिलो उपाय हो नियमित रुपमा ध्यान गर्नु ।

तपाई हाम्रो काम, जीवनलाई सफल बनाएर खुसी रहन चाहनुहुन्छ भने दैनिक रुपमा ध्यान गर्ने बानी बसाल्नुस् । दैनिक रुपमा ध्यान गर्दा तपाईको जीवनशैलीमा सकारात्मक परिवर्तनहरु आफै आउने छन् ।

ध्यान बस्नु भनेको कुनै पनि कुरामा एकाग्र हुनु भनेर सोच्छौं हामी । तर, ध्यानको अर्थ त्यस्तो होइन । चलनचल्तीमा मेडिटेशन भनिने ध्यानको अर्थ र महत्त्व निकै गहन छ ।

जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द हो । अंग्रेजीमा ध्यानलाई मेडिटेशन पनि भन्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होस, साक्षी भाव तथा दृष्टा भाव हो । योगमा विभिन्न अंगहरु हुन्छन् । जसमध्ये आठौ अंग हो, ध्यान । ध्यानमात्र यस्तो तत्व हो जसलाई मानिसहरुले स्वतः स्फूर्त रुपमा सध्रने विधिका रुपमा उपयोग गर्छन् । जबकि योगका अन्य अंगहरुमा यो नियम लागू हुँदैन ।

यसकारण ध्यान आवश्यक

ध्यान मनको साधना हो । मन वा चित्त अत्यन्त अस्थिर छ । मनमा चिन्ता, डर, रिस, ईष्र्या, घमन्ड, निराशा, असुरक्षा, दोषीभाव, राग, लोभ, वासना आदि विभिन्न विचार आउँछन् । ध्यानले मनको चञ्चलतालाई स्थिर बनाउँछ । दिनप्रतिदिन मानिसको दैनिकी व्यस्त बन्दै गएको छ । त्यसैले मानसिक तनाव पनि बढ्दो छ । यसलाई नियन्त्रणमा लिन ध्यान गर्नु आवश्यक छ । ध्यानले कर्ममा कुशलता, व्यवहारमा सकारात्मकता, भाव र विचारमा स्थिरता, शुद्धीकरण एवं आनन्द र आत्मामा चेतनाको विकास हुन्छ । यसको अन्तिम लक्ष्य भनेको आनन्द प्राप्ति, चेतनाको जागरण र आत्मालाई परम् चैतन्यसँगको एकता गर्नु हो ।

आजकल ध्यानलाई बहुआयामिक लाभका लागि अपनाउने गरिन्छ । ध्यानले मस्तिष्क तथा स्नायु प्रणालीमा विशेष प्रभाव पार्छ । यसले पारासिम्पेथेटिक प्रभाव पार्छ । यसबाट मुटुको चाल, मस्तिस्कको तरंग, श्वासको गतिलगायत ग्रन्थि आदिलाई शान्त पार्ने भएकाले मुटु, रक्तनली, हार्मोन आदिमा विशेष लाभ दिन्छ ।

ध्यानले रोग प्रतिरोधक क्षमता बढाउने र दुखाइका समस्या घटाउने गर्छ । ध्यानको अभ्यासले मानसिक कारणले उत्पन्न हुने शारीरिक समस्या वा शारीरिक कारणले जन्मिने मनोसमस्यामा निकै लाभ प्राप्त हुन्छ । ध्यानले मनमा उठ्ने भय, निराशा, दोषबोध, हीनताबोध, रिस, ईष्र्या, लोभ, घमन्ड, असन्तुष्टि आदि नराम्रा भावहरू हटाउँछ र अनिद्रा, तनाव, चिन्ता, डिप्रेसन आदि समस्याहरू कम गर्छ । साथै, तनाव चिन्ता आदि मानसिक समस्याहरूको व्यवस्थापन गर्छ, व्यक्तिमा भएको नकारात्मक सोच कम गरी सकारात्मक बनाउँछ । व्यक्तिको सोच र निर्णय क्षमतामा राम्रो प्रभाव पार्दछ । ध्यानको अभ्यासबाट स्मरणशक्ति, अध्ययनशीलता विकास हुन्छ । ध्यान गर्ने व्यक्तिमा करुणा, प्रेम, आत्मीयता, सद्भाव र सद्गुणको विकास हुन्छ । त्यसैले ध्यानी व्यक्ति शान्त, मिलनसार, मृदुभाषी, सहयोगी र समायोजित व्यवहार गर्न सक्ने हुन्छ । सामाजिक रोग, कुसंस्कार र समस्याहरूबाट ऊ मुक्त रहन्छ ।

यसरी ध्यान गर्दा राम्रो

ढाडलाई सीधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औंला र चोर औंलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौंं । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकि नरहेपछि विस्तारै श्वास छोडौं । यो दुई मिनेटसम्म लगातार गरौँ ।

त्यसपछि सेकेन्डको गन्तीमा १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । ५ सम्मको गन्तीमा आइपुगेपछि श्वासलाई भित्रै राखौं अनि मनमनै १, २, ३, ४, ५ गन्दै भित्रै श्वास रोकौं । फेरि १, २, ३, ४, ५ गन्दै श्वासलाई बाहिर फालौँ । फेरि मनमनै १, २, ३, ४, ५ गन्दै श्वास बाहिर फालेकै स्थितिमा रहौँ । फेरि १, २, ३, ४, ५ सम्म गन्दै श्वास तान्दै फोक्सोलाई वायुले भरौँ । फेरि माथि उल्लिखित रुपले यही तरिकाले करिब १५ चोटी यसको अभ्यास गरौं ।

त्यो अभ्यासपछि आइरहेको गइरहेको श्वासलाई महसुस गरी शान्त बसौँ । विचारको आउनेजाने क्रमलाई हस्तक्षेप नगरी निरपेक्ष स्थितिमा ध्यानमा बसौं । यस्तो तीन मिनेटसम्म गर्न सकिन्छ ।

(गुञ्जन ध्यान-ढाडलाई सिधा राखी सजिलो स्थितिमा बसौं । काँधलाई तनावरहित छाडौं । बूढी औँला र चोर औँलालाई एक अर्काले छोएर बनेको ध्यान मुद्रामा हातलाई तिघ्रामाथि राखौँ । लामो श्वास विस्तारै लिऔं, सहज रुपले श्वासले फोक्सो भरिँदै जाओस्, श्वास तान्न बाँकी नरहेपछि विस्तारै श्वास छाडौं । यो दुई मिनेटसम्म गर्न सकिन्छ ।

जिब्रोको पूरै माथिको सतहलाई तालुमा हल्का रुपले जोडौँ । विस्तारै ओठहरु बन्द गरी ह‘ म‘को आवाजलाई ४-५ मिटरको दूरीसम्म सुनिने गरी भित्रभित्रै गुञ्जन गरौंं । यस्तो पाँच मिनेट गर्न सकिन्छ ।

यसबाट उठ्ने कम्पनहरू दुई दिशामा प्रवाहित हुन थाल्छन् । ह‘म‘को तरंग जिब्रोद्वारा मस्तिष्कतिरको दिशामा बहन थाल्छ भने कण्ठबाट तल हृदयतिर पनि बहन थाल्छ । यो अभ्यासको दौरान माथि मस्तिष्कतिर प्रवाहित गुञ्जनका कम्पनहरुले मनलाई शान्त बनाउँछन् भने तल हृदयतिर फैलिने कम्पनले भावनाहरुलाई सन्तुलित बनाउन मद्दत गर्छन् । यो ध्यानको विधि जहाँसुकै जुनसुकै बेला पनि आफ्नो सुविधा अनुसार प्रयोग गर्न सकिन्छ । सुत्नुअघि यो अभ्यास गर्नाले अनिद्राको समस्याबाट छुट्कारा पाउन सकिन्छ । (ध्यान बिधि ओशो तपोवनका आवसीय ध्यान प्रशिक्षकबाट लिइएको)

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?