समाज परिवर्तनको बलियो हतियार पनि हो साहित्य लेखन : कैनी

Read Time = 8 mins

साहित्यमा गीत, गजल, मुक्तक, लघुकथा, हाइकु जस्ता विधामा कलम चलाउनुहुने स्रष्टा हुनुहुन्छ ज्ञानदरी कैनी । सानैदेखि साहित्य लेखनमा सक्रिय रहे पनि बीचमा केही समय यो क्षेत्रबाट ओझेल पर्नु भएकी उहाँ फेरि लेखनलाई निरन्तरता दिइरहनु भएको हो । उहाँले केही समयअघि सांगीतिक गजल एल्बम ‘मञ्जरी’ श्रोता/दर्शकमाझ ल्याउनुभएको थियो । जसले यतिबेला श्रोता/दर्शकमाझ चर्चा पाइरहेको छ । यसबाट उत्साहित हुनुभएकी उहाँ अर्को सिर्जना चाँडै सार्वजनिक गर्ने तयारीमा रहेको बताउनुहुन्छ । साहित्यका विविध विधामध्ये गीत, गजल, मुक्तक, लघुकथा, हाइकु लेख्न अलिक बढी मनपराउने बताउनु हुने उहाँ समाजमा भएका विकृति विसंगतिका बारेमा र अन्यायको विरोधमा लेख्ने कोसिस गर्ने बताउनुहुन्छ । समाज परिवर्तनको बलियो हतियार पनि हो साहित्य लेखन भन्नुहुनुे स्रष्टा ज्ञानदरी कैनीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको साहित्य वार्ताको संक्षिप्त अशं :-

कहिलेदेखि हुनुहुन्छ लेखनमा ?
२०४६ सालमा मधुपर्कमा गजल छापिएपछि लेखनमा औपचारिक रूपमा आएकी हुँ म ।

कसरी आउनुभयो यो क्षेत्रमा ?
तनहुँ मेरो जन्म घर । स्थानको प्रभाव पनि पर्‍यो होला ममा । स्कुलमा छँदै कविता लेख्ने म क्याम्पस पढ्न थालेपछि झन् धेरै लेख्न थाले । केही वर्ष साझा प्रकाशनमा जागीर खाए । साझा प्रकाशनमा जागीर खाने क्रममा मेरो थुप्रै लेखकसँग भेट भयो । लेखनका कुरा भए । माहोलले पनि मलाई लेखनमा झन् धेरै जिज्ञासु बनायो । अनि मैले निरन्तरता दिए ।

अहिले के गरिरहनुभएको छ ?
अध्ययन र लेखनमै लागिरहेकी छु ।

लेखनका लागि कुनै त्यस्तो समय र परिस्थिति सिर्जना हुन्छ कि ?
त्यस्तो छैन, मनमा कुनै भाव आयो कि लेख्छु । कुनै कुराले मन छोयो कि बोल्नभन्दा लेख्न रुचाउछु ।

कस्ता विषय वस्तुमा कलम चलाउनुहुन्छ ?
मेरो स्वभाव अली भिन्न छ । समाजमा भएका विकृति विसंगतिका बारेमा र अन्यायको विरोधमा लेख्ने कोसिस गर्दछु ।

कस्तो विषयमा लेखनमा रुचि छ ?
काव्यात्मक लेखनमा रुचि छ । लेख्दै छु हेरौ कत्तिको सफल हुन्छु ।

विवाहपछि औपचारिक लेखनलाई निरन्तरता दिनुभएन नि !
हो, मैले विवाहपछि औपचारिक लेखनलाई निरन्तरता दिन सकिन । विवाहपछि मेरो प्राथमिकतामा परिवार प¥यो । छोराछोरी जन्मिए । परिवार बच्चालाई मैले समयदिए । मेरो श्रीमान्मा साहित्य चेत प्रखर छ । उहाँले मलाई समय समयमा भनिरहनुहुन्थ्यो ‘आफ्नो लेखनलाई निरन्तरता देउ, कार्यक्रममा सरिक होउ ।’ छोराछोरी हुर्कँदै गर्दा, मलाई आफ्नै लेखनको माया लाग्न थाल्यो । र, फेरि सक्रिय रूपमा यो क्षेत्रमा छु ।

तपाईं आफूलाई कस्तो लेखक भन्न रुचाउनुहुन्छ ?
म नारीवादी लेख लेख्न मन पराउँछु ।

लेखेर के पाइन्छ ?
आत्म सन्तुष्टि मिल्छ ।

साहित्य लेखन के हो ?
समाज परिवर्तनको बलियो हतियार पनि हो साहित्य लेखन ।

साहित्यमा यहाँको रुचिको विषय कुन हो ?
म गीत, गजल, मुक्तक, लघुकथा, हाइकु लेख्न अलिक बढी मनपराउँछु ।

ज्ञानदरी कैनी को हो ?
सामान्य नारी हुँ । आफू शान्त रहेर अशान्तिको विरुद्धमा आवाज उठाउनका लागि कलमलाई हतियार बनाउँदै छु ।

जीवन के हो ?
सुख दुःख, लड्दै उठ्दै, रुदै हाँस्दै यस्तै अनेक उतार चढाव नै जीवन हो ।

साहित्य क्षेत्रमा के कस्ता पहल हुन आवश्यक देख्नुहुन्छ ?
साहित्य र साहित्यकारको संरक्षण र सम्मान हुनुपर्छ । साहित्य लेखेर नै हात मुख जोर्न सक्ने अवस्था भएको खण्डमा अझै साहित्य लेखन थप उर्बर बन्न सक्छ ।

राजनीतिमा युवा पुस्ताको आगमनलाई कसरी लिनुहुन्छ ?
आशा लाग्दो छ । विस्तारै युवा पुस्तामा चाख बढेको देखिन्छ । यो देशको लागि राम्रो कुरा हो ।

देशको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
स्वदेशभित्र रोजगारीको व्यवस्था, शिक्षा र स्वास्थको सुनिश्चितता हुनु जरुरी छ । जनतालाई सामान्य जीवन जिउने वातावरण हुनु प¥यो । जनता तथा नेतामा इमानदारीताको खाँचो देखिएको छ ।

यहाँले केही समय पहिला सांगीतिक गजल एल्बम ‘मञ्जरी’ श्रोता/दर्शकमाझ ल्याउनुभएको थियो, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
हो, मेरो केही समय पहिला गजल एल्बम ‘मञ्जरी’ श्रोता/दर्शकमाझ आएको छ । यसको प्रतिक्रियाले म निक्कै उत्साहित भएकी छु । अब मेरो सपना भन्नु नै लेखनमा निरन्तरता हो । गजल सुनेर श्रोताले दिएका प्रतिक्रियाबाट उत्साहित भएकी म चाँडै अर्को कृति लिएर आउने तयारीमा छु । अब त छोराछोरी आफ्नै हिसाबले सेटल भइसके । आमा, श्रीमती, बुहारीको भूमिकामा जसरी सफल भएँ लेखनमा पनि सफल हुन मन छ । मञ्जरीमा ‘मदिराले आज’, ‘सागरको छाल जस्तै’, ‘मनमोहनी’ र ‘सिंगो रात’ जस्ता गजल समेटिएको छ । यसका भिडियो पनि निर्माण भएको छ । भिडियोको पनि राम्रै प्रतिक्रिया पाइरहेकी छु । यसले झनै उत्साहित बनाएको छ । एल्बममा रहेका गीतमा सत्यराज आचार्य, मिलन नेवार, सागर अधिकारी ‘शरद’ र निशा देसारको स्वर रहेको छ भने सागर अधिकारीको एकल संगीत र शाहस शाक्य तथा सञ्जय श्रीपालकोे संगीत संयोजन छ ।

अन्त्यमा ?
अग्रज साहित्यकारको सम्मान र नयाँलाई प्रोत्साहन गरिनुपर्छ । राजनीति जस्तै साहित्य पनि समाज परिवर्तनको बलियो अस्त्र हो । त्यसैले आफ्नो क्षमता लुकाएर नबसौ । साहित्यको जुनसुकै विधाबाट देश विकासका लागि टेवा दिन सकिन्छ भन्न चाहन्छु ।

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Shreedhar
Shreedhar
2022-11-10 12:26 pm

राम्रो प्रस्तुति

रिलेटेड न्युज

छुटाउनुभयो कि ?