सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व : गृहमन्त्री खाँण

हिमालय टाइम्स
Read Time = 4 mins

भैरहवा । गृहमन्त्री एवम् नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताउनु भएको छ ।
सत्तारुढ गठबन्धनले जनताको जीवनलाई बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उहाँको भनाई थियो ।

शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रुपन्देही भेलामा बोल्दै उहाँले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने आश्वासन समेत दिनु भयो ।

गृहमन्त्री खाँणले मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन अहिले सत्तामा रहेका दलहरुको नेतृत्वमा सम्भव भएकाले मुलुकको आर्थिक क्रान्ति पनि सोही दलहरुको नेतृत्व सम्भव हुने तर्क समेत गर्नु भयो ।

उहाँले भन्नु भयो, नेपालमा पाँच दलीय गठबन्धनले आर्थिक क्रान्तिको सुुरुवात गर्नेछ । नेपाली नागरिकको जीवनमा देखिने परिवर्तन ल्याउन सक्नेछ भन्ने विश्वास गर्नुहोस र मतदातालाई पनि विश्वास दिलाउनुहोस् भन्ने म आग्रह गर्न चाहन्छु । हिजो हाम्रो संयुक्त आन्दोलनले पञ्चायती व्यवस्था समाप्त गर्छौं भन्दा पञ्चहरुले पत्याउनु भएन । निरंकुश राजतन्त्रको अन्त्य गर्छौं संविधानसभाको चुनाव गरेर भन्दा उहाँहरुले विश्वास गर्नु भएको थिएन । तर, आज दलहरुबीच भएको सहमतीले निर्दलीय पञ्चायती व्यवस्था हिजो फालिएको थियो । दलहरुबीचको सहमतिको आधारशीलामा संविधानसभाको चुनाव सम्पन्न भयो । दलहरु बीचमा भएको सहमतीको आधारमा संविधान बनेको छ । दलहरुबीच भएको सहमतीको आधारशीलामा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । दलहरुबीचमा भएको सहमतीले नेपालमा गुरुत्व आकार लिएको छ । ठूल्ठूुला राजनीतिक परिवर्तनहरु भएका छन । त्यसकारण अहिले पाँच दलीय गठबन्धनको बीचमा भएको सहमतीले जनताको जीवनलाई बदल्न सकिनेछ भन्ने अठोट हामीले लिनु परेको छ । संकल्प गर्नु परेको छ । म विश्वास दिलाउन चाहन्छु–महिला दिदीबहिनीहरुको यो सम्मेलनमा हामीले हाम्रो पाँच दलीय गठबन्धनले नेपालको प्रगति गर्न सकिनेछ, नेपालको गरिवी घटाउन सकिनेछ । नेपालमा रोजगारी उपलब्ध गराउन सकिनेछ । सत्तारुढ गठबन्धनलाई साथ दिनु हामी सबैको दायित्व हो ।’

गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धनकै नेतृत्वमा मुलुकमा गरिवी हट्ने र रोजगारीको अवसर उपलब्ध गराउन सकिने जिकीर पनि गर्नु भयो । त्यस अवसरमा उहाँले रुपन्देहीलाई देशकै आर्थिक विकासको केन्द्र बनाउन आफूले चाहेको दोहो¥याउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?