उम्मेदवारहरू निर्वाचन क्षेत्र केन्द्रित, पार्टी जिताउन दौडाहमा शीर्ष नेता

डिबी शर्मा
Read Time = 8 mins

काठमाडौं । यतिबेला गाउँदेखि सहरसम्म निर्वाचनमय बनेको छ । उम्मेदवारहरू भोट माग्दै मतदाताका घरघर पुग्न थालेसँगै देश निर्वाचनमय बनेको हो । मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवारहरू जनताको घरघर पुगिरहेका छन् । आफूलाई मत दिन उम्मेदवारहरू प्रतिबद्धता पत्र बोकेर जनताको घरदैलोमा पुगिरहेका छन् । विगतका निर्वाचनभन्दा यसपालि स्वतन्त्र उम्मेदवारहरूले चुनौती दिएपछि शीर्ष नेताहरू समेत मतदाताका घरघर पुगिरहेका छन् ।

प्रत्यक्ष तर्फका उम्मेदवारले आफ्ना लागि निर्वाचन क्षेत्रमा केन्द्रित भएर भोट मागिरहँदा शीर्ष नेताहरू भने उम्मेदवारसँगै दललाई पनि भोट मागिरहेका छन् । समानुपातिक तर्फको भोट तान्न दलका शीर्ष नेताहरू देश दौडाहमा निस्किएका छन् । उनीहरूले आफ्नो पार्टीका उम्मेदवारसँगै समानुपातिकमा समेत भोट दिन मतदातालाई आह्वान गरिरहेका छन् । प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीलगायत दलका शीर्ष नेता पछिल्ला केही दिनयता उपत्यकाबाहिर छन् । उनीहरू आफ्नो निर्वाचन क्षेत्रभन्दा धेरै दौडाहमा छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरामा केही दिन मात्रै बसेर दौडाहमा निस्किनुभएको छ । उहाँले विभिन्न क्षेत्रमा आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन मत मागिरहनु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आफ्नो निर्वाचन क्षेत्रभन्दा देश दौडाहमै व्यस्त हुनुहुन्छ । सुदूरपश्चिमबाट चुनावी अभियान सुरु गर्नुभएका ओली हालसम्म पनि सुदूरपश्चिममै केन्द्रित हुनुहुन्छ । उहाँले शनिबार कैलालीको लम्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुभयो । उहाँले शनिबार नै डोटी र कैलालीको अत्तरियामा आयोजित चुनावी सभालाई समेत सम्बोधन गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि गोरखाबाट चितवन झर्नुभएको छ । उहाँले यसअघि काठमाडौंसँगै कर्णाली र सुदूरपश्चिमका चुनावी सभालाई समेत सम्बोधन गरिसक्नु भएको छ । प्रमुख दल बाहेकका अन्य दलहरू समेत आफ्नो पार्टीको पक्षमा चुनावी माहोल बनाउन दौडाहमै छन् ।

देश बनाउने भिजन एमालेसँग मात्रै छ : ओली
नेकपा एमालेका अध्यक्ष ओली केपी ओलीले देशको विकास र समृद्धिका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ । शनिबार डोटीको दिपायलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले फुटेका हाँडीका टुक्रा जोडेर मुलुक बन्न नसक्ने भन्दै देशको विकासका र समृद्धिका लागि एमाले जस्तो सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको हो । उहाँले गठबन्धन दलहरूले जनताको आँखामा छारो हाल्न रंगीबिरंगी घोषणापत्र छापेको बताउनुभयो । ओलीले समृद्ध नेपाल र सुखी नेपाली गठबन्धनको उद्देश्य नै नभएको र देश बनाउने भिजन एमालेसँग मात्रै रहेको दाबी गर्नुभयो । देशभर नेकपा एमालेको बहुमतको सरकार गठन गर्नेगरी जनता तयार रहेको भन्दै एमालेको विरोधमा जनतालाई भ्रम छर्न खोज्ने प्रयत्नलाई असफल बनाउने उहाँको भनाइ छ । ओलीले पश्चिम सेती निर्माण गर्ने आश्वासनसमेत दिनुभयो । विगतमा विविध कारणले सम्भव नभएको तर अब एमालेको सरकार निर्वाचनपछि बन्ने र उक्त सरकारले आयोजना बनाएरै छाड्ने बनाउने बताउनुभयो ।

गठबन्धन दुई/तीनवटा चुनावसम्म कायम रहन्छ : देउवा
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जित भए राष्ट्रिय एकता स्थापित हुने दाबी गर्नुभएको छ । लोकतान्त्रिक-वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गरेको कार्यक्रममा उहाँले गठबन्धनको एकता अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने दाबी गर्नुभयो । आउँदा तीन निर्वाचनसम्म गठबन्धन अघि बढाउनुपर्ने भन्दै सबैलाई इमानदारीसाथ गठबन्धनको पक्षमा मतदान गर्न उहाँको आग्रह छ । अहिलेको गठबन्धन दुई/तीनवटा चुनावसम्म कायम रहने उहाँको भनाइ छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई खेलौना ठानेको पनि देउवाले आरोप अगाउनुभयो ।

फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी र अवसरवादी तत्वलाई फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन सत्तारूढ गठबन्धनका उम्मेदवालाई विजयी गराउनुपर्ने बताउनुभएको छ । शनिबार चितवनमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमत संग्रहको रूपमा उहाँले अथ्र्याउनुभयो । गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने उहाँको भनाइ छ । प्रचण्डले नेपाली कांग्रेसभित्र जटिलता आए आफूलाई चिन्ता लाग्ने गरेको बताउनुभयो । गठबन्धनप्रति असन्तुष्ट कांग्रेस नेता कार्यकर्ताहरूलाई लक्षित गर्दै उहाँले राष्ट्र र लोकतन्त्रको बृहत्तर हितका लागि सानातिना समस्या समाधान गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?