जुम्ला प्रदेशसभा (ख) मा त्रिपक्षीय प्रतिस्पर्धा, स्वतन्त्रको चुनौति

विजय रावत जुम्ला, संवाददाता
Read Time = 6 mins

जुम्ला । निर्वाचनको मौन अवधि सुरु हुन केही दिन मात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचारप्रसार गर्न नपाइने भएकाले अहिले जुम्लाका उम्मेदवारहरु मतदाता भेटघाटको चटारोमा छन् । आमनिर्वाचन आउन अब ५ दिन मात्र बाकीहुदाँ यहाँको निर्वाचन माहोल चिया पसलदेखी गाउँसम्म चहलपहल निकै बढेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जुम्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र २ (ख) मा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट एकिकृत समाजवादी पार्टीका कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री पदम रोकाया, नेकपा एमालेबाट टेकराज पछाई र स्वतन्त्रबाट धनबहादुर बस्नेतबीच कडा प्रतिस्पर्धा हुने भएको छ । राप्रपाबाट देवप्रसाद न्यौपाने र नेमकिपाका विर्षबहादुर रावतको पनि उम्मेदवारी रहेको छ ।

बस्नेतले नेपाली काँग्रेसले आफुलाई अन्याय गरेको भन्दै पार्टीमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे । तीन दलीय सत्ता गठबन्धनको ठुलो साथ भएकोले रोकाया गठबन्धनको बहुमत पाएर जित्नेमा ढुक्क हुनुहुन्छ । नेकपा एमालेका टेकराज पछाई युवामाझ र समुदायमा राम्रो व्यक्तित्व भएका उम्मेदवार हुनुहुन्छ । गठबन्धनको कच्ची धाँगो चुडाएर विजयी हुने पछाईको दाबी रहेको छ । बलियो जनमतका साथ चुनावी मैदानमा उत्रिएका उम्मेदवार चुनाव जित्ने आ-आफ्नै दाबी गरिरहेका छन् । मन्त्री रोकायाले तीन दलीय गठबन्धन भएको कारणले आफू सजहै जितको नजिक रहेको बताउनुभयो । वि.स २०७४ सालको निर्वाचनमा कांग्रेसका भीमनिधि हमाललाई पराजित गरेर प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका रोकाया त्यतिबेला एमालेको साथ थियो । पछि उहाँ नेकपा एसमा प्रबेश गरी मन्त्री हुनुभएकाे थियाे । आफु मन्त्री हुँदा समग्र जुम्लासहित आफ्नो निर्वाचन क्षेत्रको उल्लेखीय विकास गरेको र सत्ता गठबन्धनका कांग्रेस र माओवादीको मतबाट आफू विजयी हुनेमा कुनै शंका नरहेको रोकायाले बताउनुभयो ।

युवा रोजगारी,उद्यमशीलता र उत्पादन बृद्धि आफ्नाे पहिलो एजेन्डा रहेको एमालेका उम्मेदवार पछाईले जानकारी दिनुभयो । गठबन्धनका साँझा उम्मेदवार पदम रोकाया तथा एमालेका प्रभावकारी नेता टेकराज पछाई दुईवटा हेवीवेट उम्मेदवारलाई चुनौती दिन स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेत चुनावी मैदानमा उत्रिनु भएकाे छ  । ४८ वर्षदेखि कांग्रेसको राजनीतिमा होमिएर हालसम्म पार्टीले कुनै उपयुक्त अबसर नदिएपछि कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकाे उहाँकाे भनाई छ । गठबन्धनको उम्मेदवार मन्त्री रोकाया भएपनि कांग्रेस र माओबादीको उम्मेदवार नहुँदा ती पार्टीका समर्थकको मत आफूलाई आउने स्वतन्त्र उम्मेदवार बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचनका लागि जुम्लामा ८३ वटा मतदानस्थल र एक सय ६ वटा मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र कायम गरिएकोे जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । जिल्लामा कुल ६८ हजार छ सय ३८ मतदाता छन् । प्रदेशसभा निर्वाचन (क) मा ३६ हजार ७८३ र प्रदेशसभा (ख) मा ३१ हजार ८५५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा तिला, सिंजा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । हिमा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेसले पालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो । एमाले पालिका नेतृत्वविहीन भएको छ । तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका गरि चारवटा स्थानीय तह प्रदेश (ख) मा पर्छन । यस्तै प्रदेशसभातर्फ क्षेत्र १ (क) मा सत्ता गठबन्धबाट नेपाली कांग्रेसका ललितजंग शाही,एमालेका धिरेन्द्रराज गिरी, नेमकिपाबाट राजेश्वर देवकोटा र स्वतन्त्रबाट देवेन्द्र बहादुर शाही चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?