नेपाल टेलिकमको नाफा घट्यो

Read Time = 3 mins

काठमाडौं । नेपाल टेलिकमको गत आवको प्रथम त्रैमासिक असोजसम्मको खुद मुनाफा दुई अर्ब २५ करोड ९९ लाख चार हजार रहेकोमा चालु आवको सोही अवधिसम्ममा तीन करोड ४३ लाख ८० हजार (१.५२ प्रतिशत) ले घटेर दुई अर्ब २२ करोड ५५ लाख सात हजारमा झरेको छ ।
गत आवको प्रथम त्रैमासिक अवधि अर्थात् २०७८ असोजसम्म कुल आय १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेकोमा चालु आवको सोही अवधि अर्थात् २०७९ असोजसम्ममा कुल आय आठ करोड ७७ लाख ४३ हजार (अर्थात् ०.८० प्रतिशत) ले वृद्धि भई ११ अर्ब चार करोड ९० हजार पुगेको छ ।

गत आवको प्रथम त्रैमासिक अवधि असोजसम्ममा कम्पनीको कुल सञ्चालन आय नौ अर्ब ७७ करोड ५२ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधिसम्ममा ६९ करोड ७७ लाख ९ हजार (७.१४ प्रतिशत) ले घटेर नौ अर्ब सात करोड ७५ लाख ८५ हजारमा झरेको नेपाल टेलिकमले जनाएको छ । गत आवको प्रथम त्रैमासिकसम्मको तुलनामा चालु आवको सोही अवधिसम्मको खुद मुनाफामा परिवर्तन हुनुको प्रमुख कारण जिएसएम डाटातर्फ करिब ११ करोड ४० लाख वृद्धि रहेको कम्पनीको भनाइ छ ।

त्यस्तै, अन्तरआबद्धतासम्बन्धी निर्देशिकाअनुसार डोमेस्टिक अन्तरआबद्धता शुल्कमा कमी आएको र ओटिटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा करिब १० करोडले कमी भएको छ ।

ओटिटीको बढ्दो प्रयोगका कारण भ्वाइस सेवाको समग्र आयमा कमी भएको, मौसमको प्रतिकूल असरले विद्युत् आपूर्ति तथा मर्मतसम्भार कार्य समयमा हुन नसकेकाले साइट समयमा सञ्चालन हुन नसकेको कम्पनीले जनाएको छ । त्यस्तै, आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनका कारण राजस्वमा प्रभाव पर्न गएको, कोरोनालगायत विश्वव्यापी आर्थिक मन्दीका कारण देशको आर्थिक अवस्थामा परेको असरले क्रयशक्तिमा आएको परिवर्तनले प्रभाव पारेको, बैंक ब्याजदर परिवर्तनका कारण ब्याज आम्दानीमा करिब ७९ करोडले वृद्धि भएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?