बौद्धिक बहिर्गमनका कारण र पुनःस्थापनका उपाय

Read Time = 15 mins

✍️ प्रा. डा. भूपप्रसाद धमला

आज कुनै पनि देशभक्त नागरिकलाई भत्भती मन पोल्ने एउटा कुरा राष्ट्रको निरन्तर बौद्धिक बहिर्गमन हो । प्रत्येक दिन एक हजारभन्दा बढी युवाहरू विदेशतिर उड्नुले जति उनका बाबुआमाको मुटु चुँडिदो हो त्यत्ति नै राज्यको मन पनि उदास हुनुपर्ने हो । राज्यका होनहार प्रतिभाहरूको बौद्धिक बहिर्गमन देखेर चिन्ता जाहेर गर्नुपर्ने हो र त्यस्तो बहिर्गमन रोक्ने काममा योजनाबद्ध रूपमा लाग्नुपर्ने हो । तर, दुर्भाग्यबस राज्य सञ्चालकहरू कि त कुरै नबुझेर अलमलमा छन् कि त शक्ति खोसाखोसको सुरमा कामका प्रति उदासीन छन् । राज्यको इन्जिनको रूपमा काम गर्ने मस्तिष्कको भण्डार यसरी रित्तिँदै जानु राज्यका लागि ठूलो चुनौती भएर पनि राज्य सञ्चालकहरू यो मामलामा गम्भीर नहुनुको परिणाम कति भयावह होला अनुमानमात्र गर्न सकिन्छ ।

विगतको देशभक्ति :
आधा शताब्दी पहिले नेपालीहरू विदेश जाने भनेको मूलतः भारतीय उपमहाद्वीपभित्र हुन्थ्यो । धनाढ्य वर्गका केही विद्यार्थीहरू उच्च शिक्षाका निम्ति र गरिबीको रेखामुनि रहेका युवाहरू आवधिक रोजगारीका निम्ति विदेश जाने र काम सकिएपछि स्वदेश फर्कने परम्परा थियो । विदेशमा उच्च शिक्षा हासिल गरेको जनशक्ति स्वदेश फर्केर देशका प्रशासनिक एकाइ र शैक्षिक संस्थामा काम गथ्र्यो । कालान्तरमा स्वदेशमै थप शिक्षित जनशक्ति पनि उत्पादन हुँदै गयो । त्यस हिसाबले राज्य सञ्चालन सन्तोषजनक नै थियो । विकास गतिविधि जेनतेन अघि बढेकै थिए ।

प्रजातन्त्र ठीक ढंगले संस्थागत नभएको आक्रोशमा सन् २००६ मा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो तर त्यसले पनि सही अर्थमा लोकतन्त्रको विकास गर्न सकेन । बरु सत्ताको होडबाजी झन् बढी अस्वस्थ बन्दै गयो । यी वर्षहरूमा देशमा कहिल्यै राजनीतिक स्थिरता भएन ।

सत्रौं शताब्दीको पूर्वार्धदेखि बेलायतको उपनिवेशको रूपमा रहेको दक्षिण एशियाली राष्ट्र भारतमा उपनिवेशवाद विरोधी आन्दोलन विकास हुँदै आयो । सो आन्दोलनले सन् १९४७ मा भारतलाई स्वतन्त्र बनाएपछि दक्षिण एशियामा चेतनाको लहर हृवात्तै बढ्यो जसले गर्दा नेपालमा निरंकुश राणा शाहीविरोधी आन्दोलनलाई मलजल पुर्‍यायो । त्यसबेलासम्म पनि नेपालीहरूको आवतजावत लगभग भारतमा मात्र सीमित थियो । त्यसै बेला बीपी कोइराला, मनमोहन अधिकारीलगायत कैयौं देशभक्त नेपालीहरू नेपालमै प्रजातान्त्रको स्थापना गरी राष्ट्र निर्माणको अभियानमा सामेल हुने मनसायले स्वदेश फर्केका थिए ।

त्यसको दुई वर्षपछि नै नेपालमा पनि प्रजातन्त्रको स्थापना भएकाले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्कन प्रेरणा मिलेको थियो । अपेक्षित रूपमा देश विकास हुन नसके पनि देशभक्तिपूर्ण चेतना भने फैलिँदै थियो । सन् १९६० मा राजा महेन्द्रले जननिर्वाचित लोकतान्त्रिक सरकारलाई विघटन गरी निर्दलीय पञ्चायती व्यवस्थाको सूत्रपात गरे । फेरि देशभक्त नेपालीहरूले करिब ३० वर्षसम्म पञ्चायत व्यवस्थाविरोधी आन्दोलनमा सरिक भई सन् १९९०मा संवैधानिक राजतन्त्रसहितको बहुदलीय प्रजातन्त्रको पुनःस्थापना गरे । त्यसबेलासम्म पनि नेपालीहरू विदेशतिर बहिर्गमन हुने प्रवृत्ति कमै थियो । उनीहरू प्रजातन्त्रलाई सुदृढ गर्दै देश विकास गर्न चाहन्थे ।

बहिर्गमनका कारण :
दुर्भाग्यबस प्रजातन्त्र ठीक ढंगले संस्थागत भएन । त्यसको आक्रोशमा सन् २००६ मा लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो तर त्यसले पनि सही अर्थमा लोकतन्त्रको विकास गर्न सकेन । बरू सत्ताको होडबाजी झन् बढी अस्वस्थ बन्दै गयो । यी वर्षमा देशमा कहिल्यै राजनीतिक स्थिरता भएन । नेताले भने जस्तो आर्थिक क्रान्ति त भएन भएन तर आर्थिक क्षेत्रमा उल्लेख्य सुधारसम्म हुन सकेन । नेताको अधिकांश समय सरकार बनाउने र गिराउने अस्वस्थ खेलमा बित्यो । युवाहरू माझ नेताहरूको साख गि¥यो । नेताका तिलस्मी भाषणबाहेक राष्ट्रको दिगो विकासको ठोस एजेण्डा आएन । फाटफुट कुनै राम्रो योजना आए पनि इमानदारीपूर्वक लागू भएन । सबै पक्षलाई मान्य हुने नियम कानुन र पद्धतिको विकास भएन । भएको पनि लागू भएन । अब त युवाहरूका लागि आशाको कुनै त्यान्द्रो नै बाँकिरहेन । त्यसैले बौद्धिक बहिर्गमन बढ्न थाल्यो ।

नेपाली युवा देशभक्त नभएर बौद्धिक बहिर्गमन भएको होइन । जन्मभूमिप्रति बिरक्त भएर पनि होइन । यहाँको प्रकृति उराठलाग्दो मरुभूमि भएर झन् होइन । आफू जन्मेको, बाबुआमाको काखमा हुर्केको, साथीसँगीसँग खेलेको, आफ्नो किशोरकाल रमाइलोसँग बिताएको ठाउँको कसलाई माया लाग्दैन ? आजको युवा रोएर देश छोडेको छ । जीविकाको कुनै उपाय नै नभएर हिँडेको छ । योग्यता र क्षमताको कदर नहुँदा बिरक्तिएर गएको छ । रोजगारीको अवसर नै नदेखेर पलायन भएको छ । गएपछि स्वदेश नफर्कने गरी उतै बसेको छ । विदेशिएका युवाहरू बाबुआमाको माया नलागेर उतै बसेका होइनन् । घर फर्कन मन नलागेर बरालिएका पनि होइनन् । मुख्यतः राजनीतिक अपसंस्कृतिले युवाहरूमा घोर निराशा पैदा भयो । नेतागणले स्वीकार गरे/नगरे पनि बौद्धिक बहिर्गमनको प्रमुख कारण यही हो ।

तर, राजनीतिक अपसंस्कृति बौद्धिक बहिर्गमनको एकमात्र कारण भने होइन । अधिकांश मानिस स्वभावैले नयाँ ठाउँमा जान र नयाँ कुरा देख्न चाहन्छन् । नयाँ कुराको खोज गर्न चाहन्छन् । नयाँ विचारको प्रादुर्भाव गर्न खोज्छन् । यसरी नै विकासको सम्भावनाको ढोका खुल्ने हो । यसरी विदेशिएका बौद्धिक युवाहरू स्वदेशमा त्यस्तै आकर्षण नभए स्वदेश फर्कन चाहँदैनन् । जता गयो त्यतै अल्मलिन्छन् । घर फर्कन मान्दैनन् । गुणस्तरीय जीवनको सम्भावना जता देख्यो मान्छे त्यति लाग्छन् जसरी प्रकृतिको जलवायु स्वचालित ढंगले सजिलो बाटो हिँड्छ ।

बौद्धिक बहिर्गमनलाई यातायात र सञ्चारको तीव्र गतिको विकासले साथ दियो । पहिले यस्तो सुविधा थिएन । कैयौं दिन लगाएर पैदल यात्रा गर्नु पथ्र्यो । समुद्रपारि टाढाको मुलुक जाँदा कैयौं दिनसम्म पानी जहाजबाट यात्रा गर्नु पथ्र्यो । सोह्रौं शताब्दीमा बेलायतीहरू अमेरिका जाँदा र भारत आउँदा पानी जहाजकै यात्रा पनि त्यत्ति सहज थिएन होला । अठारौँ शताब्दीको पूर्वार्धमा बेलायतीहरू अष्ट्रेलिया जाँदा पानीजहाजमा आठ महिना लागेथ्यो । उन्नाइसौं शताब्दीमा जंगबहादुरको युरोप यात्रामा पानीजहाजमार्फत पेरिसबाट बम्बई आइपुग्न एक महिना लागेथ्यो । अब त हवाई यात्रामार्फत् विश्वको एक कुनाबाट अर्को कुनामा छिटै पुग्न सकिन्छ । रेल, बस, कार इत्यादिको माध्यमबाट स्थलयात्रा पनि सहज भएको छ । यस कुराले बौद्धिक बहिर्गमनलाई सहज तुल्याएको छ ।

बौद्धिक पुनःस्थापनका उपाय :
माथि भनिएका कारणमध्ये पहिलो कारण सोचनीय छ । राजनीतिका कारणले ल्याएको समस्या राजनीतिक ढंगले नै समाधान गर्न सकिन्छ । यसका निम्ति राजनीतिक इच्छा शक्ति चाहिन्छ । राज्य संयन्त्रमा रहेका सबै मानिसहरू राजनीतिक रूपले देशभक्त हुनुपर्छ । साधारण पार्टी सदस्यदेखि कार्यकारी सभापति/अध्यक्षसम्मका राजनीतिककर्मीमात्र देशभक्त भएर पुग्दैन । कार्यालय सहायकदेखि प्रधानमन्त्रीसम्म, सिपाहीदेखि प्रधानसेनापतिसम्म, कन्स्टेबलदेखि महानिरीक्षकसम्मका सबै राज्ययन्त्रमा रहेका व्यक्तिहरू देशभक्त, सक्षम, र इमानदार हुनुपर्छ ।

त्यतिमात्र होइन उद्योग व्यवसाय क्षेत्रमा काम गर्ने मजदुरदेखि पुँजीपतिसम्म, सेल्सपर्सनदेखि महाप्रबन्धकसम्म र किसानदेखि जमिनदारसम्मका सबै मानिसहरू देशभक्त, कर्मठ र लगनशील हुनुपर्छ । त्यत्तिमात्र पनि होइन परिवारका प्रत्येक सदस्यसमेत जिम्मेवार देशभक्त नागरिक हुनुपर्छ । तर, यी सबै तप्काका मानिसको प्रवृत्तिमा सकारामक विकास गर्न राजनीतिक नेतृत्व नै अगुवा हुनुपर्छ । यसो हुन सके तुरुन्तै देशमा सकारात्मक वातावरण बन्छ ।

राजनीतिका कारणले ल्याएको समस्या राजनीतिक ढंगले नै समाधान गर्न सकिन्छ । यसका निम्ति राजनीतिक इच्छा शक्ति चाहिन्छ । राज्य संयन्त्रमा रहेका सबै मानिसहरू राजनीतिक रूपले देशभक्त हुनुपर्छ । साधारण पार्टी सदस्यदेखि कार्यकारी सभापति/अध्यक्षसम्मका राजनीतिककर्मीमात्र देशभक्त भएर पुग्दैन ।

तर, यत्तिले मात्र पुग्दैन । बालबालिका र युवायुवतीलाई युग सुहाउँदो गुणस्तरीय शिक्षा दिनु आवश्यक छ । दुर्भाग्यबस अहिले नेपालको शिक्षा वर्गीय चरित्रको भएको छ । धनीमानी सहरीयाका लागि गुणस्तरीय प्राइभेट स्कुल खुलेका छन् । दूरदराजका गरिब विद्यार्थीका लागि सरकारी स्कुल चलाइएका छन् तर ती स्कुलमा योग्य शिक्षक भएर पनि राम्रो पठनपाठन हुँदैन । विश्वविद्यालय शिक्षा पनि दलगत राजनीतिको सिकार भएको छ जसले गर्दा साधारण शिक्षाको गुणस्तर झन् बढी झन् खस्किँदो छ । यस्ता विकृतिलाई तुरुन्त सुधार गर्नुपर्छ र प्राकृतिक सौन्दर्य र अनुकूल हावापानीले युक्त नेपाललाई एक आकर्षक शैक्षिक केन्द्र बनाउनुपर्छ । राजनीतिक नेतृत्व जिम्मेवार भएमा यसो गर्न सजिलै सकिन्छ । सबैलाई गुणस्तरीय शिक्षा नेपालमै भएमा युवा बहिर्गमन यसै रोकिन्छ ।

तर, गुणस्तरीय शिक्षालेमात्र पनि बौद्धिक बहिर्गमन रोकिँदैन । शिक्षित जनशक्तिलाई स्वदेशमै उपयुक्त रोजगारी उपलब्ध गराउन सक्नुपर्छ । सबैलाई सरकारी सेवामा रोजगारी हुनुपर्छ भन्ने होइन । गैरसरकारी क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । अझै देशमा प्रचुरमात्रामा प्राकृतिक स्रोतहरू विद्यमान छन् तर तिनलाई सदुपयोग गरी विकास कार्यमा लगाउन अझै उपयुक्त जनशक्ति छैन । त्यसैले अब ढिलो नगरिकन विदेशिएका बौद्धिक युवालाई देश विकासको महाभियानमा फर्काउन उपयुक्त नीति निर्माण गरी तिनको कार्यान्वयनमा लागिहाल्नुपर्छ । यसका निम्ति हामी सबैले आफ्नो ठाउँबाट सक्दो योगदान गर्नुपर्छ । नेपालको भविष्य सुन्दर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?