बेनीका घरघरमा कौशीखेती : छतमै करेसाबारी, छतमै फूलवारी (तस्वीरसहित)

हिमालय टाइम्स
Read Time = 6 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा पछिल्लो समय कौशी खेतीको लहर चलेपछि यहाँका घरका छतहरु हरिया देखिन थालेका छन् ।

बेनी बजारका प्रायः सबै घरका छतमा लटरम्मै तरकारी झुलिरहेका छन् भने विभिन्न प्रजातीका फूलहरु फुलेर घरको छत नै फूलवारी बनेका छन् । हुलाकचोक म्याग्दीको सदरमुकाम बेनीको अति व्यस्त चोक हो । यही चोकको दायाँतर्फ शान्ति टोल नपुग्दै बेनी नगरपालिका ७ का पूर्व वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको तीन तले घरको छत सिमी,गाजर,मुला,साग,खुर्सानी,बन्दा, काउली लगाएतका तरकारी र विभिन्न प्रजातीका एक दर्जन बढी फूलले भरिभराउ भएको छ ।

श्रेष्ठको घरको छत,व्यवसायिक कृषकको करेसाबारीभन्दा कम छैन । छतमा नै तरकारी र फलफूल फल्न र फूल्न थालेपछि श्रेष्ठ दम्पत्तिलाई बाहिरगएर तरकारी किन्ने झण्झट नै छैन । जिल्ला हुलाक कार्यालय म्याग्दीकी प्रमुख समेत रहनुभएकी श्रेष्ठकी श्रीमती साधनाकुमारी श्रेष्ठले घरको छतलाई नै करेसावारी र फूलबारी दुबै बनाउनु भएको छ ।

त्यसैगरी बिरेन्द्रचोककी सिर्जना भट्टचनको घरको छतमा पनि मौसमी तथा बेमौसमी जातका तरकारीहरु फलिरहेका छन् । सिर्जनालाई पनि बाहिरको तरकारी किन्न पैसा खर्च गर्नुपर्दैन ।

बेनी नगरपालिका वडा नं ७ र ८ मा पर्ने बेनीबजारमा १ हजार २ सय भन्दा बढी घरहरु रहेका छन् । ती घरहरुमध्ये अधिकांश घरमा कौसीखेती गरिएको छ ।
अर्गानिक र विषादीरहित तरकारी खान पाइने, पैसाको वचत हुने र घरमा नै बसेर तरकारीको स्याहार गर्दा आनन्दा पनि आउने भएकोले कौसीखेती उपयोगी भएको बेनी नगरपालिका ७ हुलाकचोककी साधनाकुमारी श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठजस्तै बजारका ५० जना महिला र पुरुषले कौसीखेती सम्वन्धि तालिम नै लिएर यो खेती शुरु गरेका हुन् । आफ्नो वडामा कौसी खेतीतर्फ गृहिणीहरुको आकर्षण देखेर बेनी नगरपालिका ७ ले अघिल्लो वर्ष कौसीखेती सम्वन्धि तालिम नै संचालन गरेको थियो ।

समय कटाउन पनि सजिलो, आफैले घरकै छतमा फलाएका ताजा तरकारी पनि खान पाइने , पैसाको पनि वचत हुने,घरको सुन्दरता पनि थपिने र बाहिर निस्कन नपर्दा संक्रमणबाट पनि जोगिने भएकाले यहाँका गृहिणीहरु कौसी खेतीतर्फ आकर्षित भएका हुन् ।

भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई ब्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तसँग साझेदारीमा तालिम तथा आवश्यक साम्रागी खरिद गरी कौसीखेतीलाई ब्यवस्थित गरेको बेनी नगरपालिका ७ का पूर्व वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनु भयो । ‘बेनी बजारमा कौसी खेती निकै प्रभावकारी देखिएको छ,यसलाई चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षहरुमा पनि निरन्तरता दिइने छ’ बेनी नगरपालिका ७ का वर्तमान वडाअध्यक्ष रमेशकुकमर श्रेष्ठले भन्नुभयो ।
वडाअध्यक्ष श्रेष्ठले गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्रमा पनि घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने बताउनु भयो ।

भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरि मल बनाउन विधि समेत तालिम समेत प्राप्त गरेपछि सहज भएको बेनी बजारकी अर्की गृहिणी सोभिता श्रेष्ठले बताउनु भयो । कौसीमा रोपेको तरकारीले बाह्रैमास पर्याप्त नभएपनि घरभित्रको फोहोर ब्यवस्थापन र समयको सदुपयोग हुने बजारका गृहिणीहरुको भनाइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?