सुन्तलाका लागि प्रख्यात ‘भाडगाउँ’

गुल्मी भाडगाउँमा फलेका सुन्तला । तस्बिर: रमेश विश्वकर्मा

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 7 mins

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-३ भाडगाउँ सुन्तला, तरकारी र माहुरीका लागि प्रख्यात छ । अहिले सुन्तलाको सिजन हो । बोट नै नुग्ने गरी गाउँभरी नै लटरम्म सुन्तला फलेका छन् । अहिले गाउँ नै सुन्तलामय बनेको छ ।

सुरुमा घरमा खानका लागि उत्पादन हुँदै आएको सुन्तलाले व्यवसायिक रुप लिदैं जान थालेपछि सुन्तला कृषक पनि बढेका छन् । थोरै मेहनत र एक पटक लगाएको बोटले बर्षौंसम्म उत्पादन दिने भएपछि दिनप्रतिदिन कृषकहरु यसप्रति आकर्षित हुँदै गएका हुन् ।

स्थानीय पदमलाल पाण्डे उमेरले ६८ वर्ष पुग्नुभयो । उहाँले सुन्तला उत्पादन गर्न थालेको २० वर्ष भयो । उहाँसँग सुन्तला उत्पादन गर्नुको गजबको अनुभव छ । भाडगाउँको शिरमा रेसुङ्गा पर्छ । रेसुङ्गालाई सिद्धस्थानका रुपमा लिने गरिन्छ । “भाडगाउँको शिरमा बालासिद्ध भगवानको मन्दिर छ । यो सिद्धस्थान क्षेत्र हो ।” पाण्डेले भन्नुभयो,-“सिद्धस्थान क्षेत्रमा फलफुलको कमी हुनु हुँदैन् भन्ने मान्यताले सुन्तला खेती गर्न सुरु गरेको हुँ ।”

उहाँले एकै सिजनमा साढे दुई लाख भन्दा बढीको सुन्तला बिक्री गर्नुहुन्छ । भाडगाउँका सुन्तला स्वादिला र रसिला हुने भएकाले यहाँको सुन्तलाको माग अत्याधिक हुने गरेको पाण्डेले बताउनुभयो । यहाँ उत्पादन भएका सुन्तला ढोरपाटन, बुटवल, नारायणगढसम्म पुग्ने गरेको सुनाउँनुभयो ।

अर्का कृषक इन्द्रजङ्ग बस्नेतले १७ रोपनी जग्गामा सुन्तला खेती गर्दै आउनुभएको छ । उमेर ४५ वर्ष पुग्नुभएका बस्नेतले वार्षिक कुल ७ लाख भन्दा बढीको सुन्तला मात्र बिक्री गर्नुहुन्छ । बस्नेतको सुन्तला बगैंचामा ४ सय भन्दा धेरै सुन्तलाका बोटले उत्पादन दिन्छन् । मंसिर महिनादेखि सुरु गरि माघ महिनासम्म सुन्तलाको बिक्रीवितरण गरिसक्ने बताउनुभयो ।

स्थानीय थम्मनबहादुर खत्रीले सुन्तलाको उत्पादन लिन थालेको तीन वर्ष भयो । ४४ वर्षिय खत्रीले विगतको तुलनामा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको बताउनुभयो । अहिले १३५ सुन्तलाका बोटले उत्पादन दिंदै आएका छन् । एक सिजनमा एक लाख रुपियाँसम्म आम्दानी गर्नुभएका खत्रीले यस वर्ष सुन्तलाको उत्पादन राम्रो भएकाले आम्दानी पनि बढ्ने बताउनुभयो ।

खेत बहादुर खत्रीको बगैंचामा ११७ वटा सुन्तला बोटले उत्पादन दिइरहेका छन् । गत वर्ष त्यति राम्रो सुन्तलाको उत्पादन नभएपनि यस वर्ष भने राम्रो उत्पादन भएको बताउनुभयो । सुरुमा ७० हजार सम्म सुन्तला बिक्रीबाट आम्दानी गर्नुभएका खत्री अहिले भने उत्पादन वृद्धि भएसँगै उत्साहित हुनुहुन्छ । आफ्नो बगैंचामा थुप्रै व्यापारी खरिदका लागि आएपनि राम्रो मुल्य दिने व्यापारीलाई सुन्तला बेच्ने दाउमा हुनुहुन्छ ।

सोही स्थानकी राधिका खत्रीले गत वर्ष भन्दा यस वर्ष सुन्तलाको राम्रो उत्पादन भएको बताउनुभयो । उहाँले गत वर्ष सुन्तला बिक्रीबाट दुई लाख रुपियाँको आम्दानी गर्नुभएकी खत्री अहिले तीन लाख रुपियाँको सुन्तला बिक्री भएको बताउनुभयो । सुन्तलाको उत्पादन वृद्धि भएसँगै खत्री सुन्तलाको खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ ।

त्यहाँका तीन सय भन्दा धेरै घरमा सुन्तलाको उत्पादन हुने गरेको वडाअध्यक्ष बाबुराम खत्रीले जानकारी दिनुभयो । स्वादिलो र गुणस्तरमा चर्चा कमाएका त्यहाँका सुन्तला खरिद गर्न व्यवसायी बगैंचामै आउने गरेका खत्रीले बताउनुभयो । उहाँका अनुसार वार्षिक झण्डै डेढ करोडको सुन्तला त्यहाँबाट निकासी हुन्छ ।

कृषकहरुलाई सिंचाईको पूर्ण व्यवस्थापनका लागि आफुहरुले पहल गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो,-“सुन्तला खेतीका लागि पर्याप्त मात्रामा सिंचाईको व्यवस्था गर्नुपर्छ । सिंचाईको व्यवस्थापनका लागि पहल गरिरहेको छु ।” वडाअध्यक्ष खत्रीले सुन्तला बोटमा कुनै समस्या आए तत्काल परीक्षण गर्न प्राविधिकको समस्या रहेको उल्लेख गर्नुभयो । पूर्ण प्राविधिक ज्ञानको अभावमा पनि त्यहाँका कृषकहरुले सुन्तलाको राम्रो उत्पादन गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?