कविता : नारीको प्रश्न

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ स्वामी ध्यानराज


नाम मेरो
थर तिम्रो नामको
परिवार मेरो
घर तिम्रो नामको ।
शिर मेरो
सिन्दुर तिम्रो नामको
हत्केला मेरो
मेहन्दी तिम्रो नामको ।
हात मेरो
चुरा तिम्रो नामको
पाउ मेरो
पाउजु तिम्रो नामको ।
घाँटी मेरो
मंगलसूत्र तिम्रो नामको
औँला मेरो
औँठी तिम्रो नामको ।
हुँदा हुँदा
दश महिना पेटमा राखेँ
जन्म दिएँ
दूध पिलायँ, ठूलो बनाएँ
छोराछोरी तिम्रो नामको ।
हे पुरुष अब भन त
तिम्रो के छ ?
जुन मेरो नाममा छ ।


नारीको बिलौना
के लगाऊँ म
तिम्रो आँखामै नग्नता छ ।
सारी लगाऊँ
कम्मर कस्सिएको देख्छौ ।
पाइन्ट लगाऊँ
नितम्ब भरिएको देख्छौ ।
चोली लगाऊँ
स्तनमा घोरिन्छौ
कुन पहिरन लगाऊँ म
जसबाट तिम्रो नजर
मेरो शरीरमा होइन आत्मामा होस् ।
हिँडौं,
मेरो चालमै औँला उठाउँछौ
नाचौँ,
मेरो पाउजुमै कामुक संगीत पाउँछौ
बसौँ,
मेरो मौनतामा स्वीकारोक्ति देख्छौ ।
के गरुँ म !
जसले गर्दा तिमी मेरो हृदयको संगीत सुन्न सक्छौ ।
मेरो शरीरभन्दा आत्मा
शुद्ध छ
सुन्दर छ
एकचोटि
कामरूपी आँखालाई बन्द गरेर
आत्माले मेरो आत्मालाई हेर त !

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?