विशेष अदालतका सातवटा फैसलाविरुद्ध अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

यज्ञराज पाण्डे
Read Time = 4 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सातवटा मुद्दामा भएका फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । आयोगबाट विशेष अदालतमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको आयोगले जनाएको छ ।

आयोगका अनुसार विशेष अदालतमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानि-नोक्सानी र घुस/रिसवत गरी जम्मा सातवटा मुद्दाहरूमा आयोगको निर्णयअनुसार मंगलबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।

विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियार धमाधम पुनरावेदनमा जान थालेको छ । विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये थप दुई मुद्दामा सोमबारसमेत सर्वोच्च अदालतमा पुनरावेदन गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार प्रतिवादी भगवान् भट्टराईसमेत (वि.अ. को मु.नं. ०७४ सिआर ००५०, वि.अ.को फैसला मिति २०७९/४/९) को राजस्व रकम बैंक दाखिला नगरी भ्रष्टाचार गरेको मुद्दा र लालु गिरीसमेत (वि.अ. को मु.नं. ०७५ सिआर ०२३१, वि.अ.को फैसला २०७९/२/२७) को नक्कली बैंक ग्यारेण्टी पेस गरी भ्रष्टाचार गरेको मुद्दाको फैसलाविरुद्ध अख्तियार सर्वोच्च गएको हो । भट्टराईलाई मागदाबीभन्दा कम बिगो कायम जरिवाना हुने र ६ वर्ष कैद तथा गणेशकुमार पोखरेललाई सफाइ पाउने गरी फैसला भएकोप्रति आयोगको असन्तुष्टि छ ।

यस्तै, अर्को मुद्दामा प्रतिवादीहरू देवजङ शाही र रणधीर तुम्बालाई ठहर तथा छविलाल ढकाललाई भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम ठहर गरी दफा १९ बमोजिमको कसुरमा सफाइ दिइएकोमा अख्तियारको असन्तुष्टि छ । अन्य प्रतिवादीहरूलाई सफाइ पाउने ठहर भई फैसला भएको भन्दै आयोगले मागदाबी अनुसारकै सजायको माग पुनरावेदनमार्फत गरेको छ ।

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार पुनरावेदनमा गएको यो पहिलोपटक भने होइन । यसअघि पनि अख्तियारले बेलाबेलामा विशेषको फैसलामा चित्त नबुझाउँदै पुनरावेदनमा जाने गरेको थियो । यस वर्ष विशेष अदालतले सफाइ दिएका १२४ मुद्दामा चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा पुनरावलोकनको निवेदन दिएको थियो । विभिन्न समयमा आयोगले नै दायर गरेका भ्रष्टाचारका मुद्दालाई सबै प्रमाण जाँच नगरी विशेष अदालतले सफाइ दिने गरेको आयोगको ठहर छ ।

अघिल्लो वर्ष पनि १ सय ३१ मुद्दाको फैसला चित्त नबुझेको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन दिएको थियो । गत वर्ष अख्तियारको इतिहासमै सबैभन्दा बढी मुद्दा उल्टिएका थिए । गत आर्थिक वर्षमा विशेषबाट फैसला भएका ६० प्रतिशत मुद्दा अख्तियारले हारेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?