अछामको पञ्चदेवल नगरपालिका मोरेलीमा बुबा भक्तबहादुर रावल र आमा धनीदेवी रावलको माहिलो सन्तानका रूपमा यस धर्तीमा प्राची उघार्नुभएको जनक रावलले पत्रकारिता तथा आमसञ्चारमा स्नातक र राजनीतिशास्त्र एवं इतिहासमा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । अछाम, बर्दिया हुँदै हाल काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएका रावलको सानैदेखि नाच्ने, गाउने र लेखनमा विशेष रुचि थियो । विसं. २०४६ सालको आन्दोलनताका उहाँले लेखेको गीत ‘देश बनाउँछु भन्नेहरूको कुरा मात्र भयो, जनता हेर्यो भोकभोकै देश नाङ्गै भयो...’ आन्दोलनकारीहरूले गाउँदै हिँडेको गीत बनेको थियो । रेडियो नेपालबाट २०४९ सालमा ‘कोखको पीडा’ नाटक प्रशारण भएपछि घरपरिवारको चाहना विपरीत भए पनि लेख्ने सोच उहाँको बलियो हुँदै गयो । विद्यालयमा हुने गरेका कविता प्रतियोगितामा उहाँका कविताहरूले सधैं पहिलो, दोस्रो स्थान पाउन थाले । वक्तृत्वकलामा पनि उहाँ अब्बल नै हुनुहुन्थ्यो । एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आउनुभएका उहाँभित्र रहेको सिर्जनशील मनले थप झांगिने मौका पायो र जन्मिए थुप्रै सिर्जना । एक सयभन्दा बढी गीत सिर्जना गर्नुभएका उहाँ यतिबेला उपन्यासकृति पाठकमाझ ल्याउने तयारीमा हुनुहुन्छ । सञ्चारकर्मीका रूपमा पनि लामो समय काम गर्नुभएका स्रष्टा जनक रावलसँग हिमालय टाइम्सको हिँड्दा-हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-
अहिले के गर्दैं हुनुहुन्छ ?
अहिले काम खासै केही छैन भन्दा पनि हुन्छ । तर पनि म त्यत्तिकै चुप लागेर बस्ने प्रकृतिको व्यक्ति नभएका कारणले केही न केही त भइरहेकै हुन्छ । पुस महिना छ जाडोले आफ्नो रफ्तार बढाउँदै छ । यो मौसममा पुस्तकहरू बोक्यो, घाममा बस्यो अनि अध्ययन ग¥यो । एउटा उपन्यास पनि लेखिरहेको छु, मध्यान्तरसम्म पुगेको छु ।
यहाँको लेखन यात्रा कहिलेदेखि प्रारम्भ भएको हो ?
लेख्न त सानैदेखि थालेको हो । तर, त्यो उमेर र यो उमेरको लेखाइले फरक पार्दछ । त्यो सानो छँदा लेखेका सिर्जनाहरूलाई पनि केही सुधार गर्दै अहिले पस्किँदै छु । पाठक/श्रोतामाझ औपचारिकरूपमा भने यस्तै २०४९ बाट प्रस्तुत भएको हुँ म ।
जनक रावल को हो ?
पेशागत हिसाबले भन्दा म एउटा निजी क्षेत्रमा कार्यरत जागिरे हुँ । म व्यापारिक घरानाहरूको व्यापार-व्यवसाय विस्तार र प्रवद्र्धन क्षेत्रमा काम गर्दछु । यसअघि नेपाली सञ्चार जगत्को एक अभिन्न अंग भएर पहरेदारका रूपमा पनि कार्य गरेँ । आज पनि म समाज, देशको एक पहरेदार नै हुँ ।
कसका लागि लेख्नुहुन्छ यहाँ ?
सर्वप्रथम त आफ्नै सन्तुष्टिका लागि हो । साथसाथै समाज, राष्ट्रका लागि पनि हो ।
गीतलाई कसरी परिभाषित गर्नुहुन्छ ?
ठ्याक्कै यही हो गीत भनेर परिभाषा गर्न गाह्रो हुन्छ होला । यो कहिले काल्पनिक भाव पनि हुनसक्छ । यो कहिले जीवनको पाटोसँग मेल खाने यथार्थ पनि हुनसक्छ । यो कहिले प्रकृति विशेष हुनसक्छ । यो प्रेम, राग, द्वेष, ईष्र्या, उत्पत्ति, विपत्ति र अन्त्य पनि हुनसक्छ । जुन रूप विशेष भए पनि यो जीवन्त हुन्छ ।
कस्ता गीत लेख्न बढी रुचाउनुहुन्छ ?
यस्तै भन्ने छैन । तर, मेरा गीतहरूमा देशप्रेम, सामाजिक चेतनामूलक, बालबालिका विशेष, माया–पिरतीका भावका...। सबै किसिमकामा मन जान्छ ।
जीवन र गीत के हो ?
जीवन संघर्ष हो, एउटा यात्रा हो । सुख-दुःख, पीडा-रोदन, हाँसो-खुसी, सफलता-असफलता, घाम-छायाँको एउटा चौतारी हो । एउटा समिश्रण हो । त्यही जीवनको भोगाइको एउटा अहं पाटो गीत हो । जसले जीवन प्रस्तुत गर्दछ । जसमा जीवन प्रस्तुत गर्न सकिन्छ ।
गीतको आत्मा केलाई मान्नुहुन्छ ?
गीतको आत्मा भाव हो । प्रस्फुटन...। जब शब्द, शैली, त्यसमा संगीत र गायकीले रस भरेपछि त्यसले गीतको आत्मालाई न्याय दिन्छ ।
तपाईं गीतमा कत्तिको कर्तुत गर्नुहुन्छ ?
कर्तुत भन्ने कुरालाई सकारात्मक किसिमले लिने हो भने गर्नु पनि राम्रो हुन्छ । तर, आजभोलि कर्तुतलाई नकारात्मक तवरले मात्र प्रयोग गरिएको देखिन्छ । यस कर्तुतले गीत दर्शक/श्रोतासमक्ष पुगे पनि आत्मासम्म पुगेको देखिँदैन ।
यहाँका कस्ता र कति गीतहरू श्रोतादर्शकमाझ आएका छन् ?
केही राष्ट्रिय भावका गीतहरू छन्, केही लोकलयका गीतहरू छन्, केही बालापनका यादहरू समेटिएका छन्, केही गाउँबस्ती, मेलापातका गीतहरू छन् । केही चलचित्रमा आवश्यकता र कथाले मागेअनुरूप प्रयोग भएका गीतहरू छन् । केही प्रकाशित र प्रशारित छन् भने पुस्तकका रूपमा प्रकाशन गर्ने तयारीमा करिब सय हाराहारीमा छन् ।
अझै कस्ता गीतहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
अँ, गीतहरू त थुप्रै छन् । जातीयतासम्बन्धी, राष्ट्रियतासम्बन्धी, बालबालिकाबारेमा, युवायुवतीका प्रेमालाप, जनचेतनामूलक धेरै छन् । विस्तारै–विस्तारै एकपछि अर्को गर्दै पस्कने सोचमा छु ।
अध्ययन कत्तिको गर्नुहुन्छ ?
मलाई मनपर्ने भनेकै देश घुमघाम र अध्ययन हो । आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ भनेर मलगायत मेरा साथीहरू पटक-पटक आफ्नै देशभित्रका विभिन्न ठाउँहरू घुम्ने तर उता सरकार भने विदेशी मुद्राको सञ्चिति घट्यो भन्दै व्यापारीहरूका लागि केही वस्तुहरूको आयातमा प्रतिबन्ध लगाउने अनि सरकार मातहतका कार्यालयका अधिकांश कर्मचारीहरू विदेश भ्रमणमा दौडिने, अहिले घुमघाम बन्द गरेर मात्र ज्ञानगुनमा लागेको छु ।
पछिल्लो समय यहाँले अध्ययन गरेको पुस्तक ?
करिब ६/७ महिनादेखि म देशको कुनै पनि ठाउँ घुम्न नगएर पुस्तक अध्ययनमा समय व्यतित गरिरहेको छु । थुप्रै पुस्तकहरू पढेँ मैले यो समय । भर्खरै मात्र हिजो-अस्तिको कुरा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको नयाँ कृति ‘कसुर’ र रिता ताम्राकारको ‘दृश्य-परिदृश्य’ पढेर सकेँ । आइतबार विश्वकप फुटबलको समापनसँगै अर्को नयाँ पुस्तकको अध्ययन सुरु गर्नेछु ।
पछिल्लो समय बजारमा आएका गीत कस्ता छन् ?
समय बदलिएको भन्ने कि गीतसंगीत बदलिएको भन्ने । तर, आज छाडा गीतहरू बढी चर्चित छन् । अनि एकफेर बजारमा आइसकेका गीतका लय, भाका चोरी गरेर वाह-वाह बटुल्ने कामहरू भइरहेका छन् ।
यहाँलाई मनपर्ने गीत ?
थुप्रै छन् । नारायण गोपाल, गोपाल योञ्जन, कुमार बस्नेत दाइका गीतहरू, अरुणा लामा, तारादेवी, लोचन भट्टराई, मिरा-ज्ञानु राणा र कुन्ती मोक्तान दिदीका गीतहरूलगायत अहिलेका पुस्ताका केही गीतहरू पनि छन् । ठ्याक्कै एउटा चुन्न सकिएन ।
यहाँलाई मनपर्ने गीतकार र गायक ?
यहाँनेर पनि अप्ठ्यारो भयो । पुरानो पुस्ताका प्रायः सबै गीतका सर्जकहरू मन पर्दछन् मलाई । नयाँ पुस्ताका केही औंलामा सजिलै गन्न सकिने मात्र प्रिय लाग्छन् ।
लेखेर पाइने र नपाइने के हो ?
लेखेर पाइने सबैभन्दा ठूलो कुरो आत्मसन्तुष्टि हो । गीत लेखेर आज जुन पैसा कमाउन गिरोह लागेर काम गर्दैछ, त्यो गलत बाटो हो । गीत लेखेर पैसा पाउन सकिँदैन ।
हामी विश्व गीतसंगीतको दाँजोमा कहाँनेर छौँ ?
आज आइटी टेक्नोलोजीको माध्यमले गीतसंगीतको पहुँच बढाएको छ तर भाषिक समस्या र प्लेटफर्मको अभावले हाम्रो क्षेत्र अघि बढ्न सकिरहेको छैंन । केही सीमित कलाकारहरूले स्टेज पाइरहेका छन् र पनि यही क्षेत्रमा मात्र लागेर समाजमा जीवन गुजार्न अप्ठेरो छ ।
घरपरिवारबाट तपाईंको लेखनलाई कत्तिको सपोर्ट मिलेको छ ?
पहिले-पहिले अनुमति थिएन । पढाइ पहिलो प्राथमिकतामा पर्दथ्यो, दोस्रो पेशा- त्यसमा पनि डाक्टर नभए सरकारी जागिरे । तर, म घरपरिवारको आँखा छलेर भए पनि लेख्ने गर्दथेँ । अहिले कतैबाट रोकतोक छैन । तर, लगानी लगाएर नामका लागि गीतसंगीतमा समय खेर फालेको उपलब्धि होइन भन्ने चाहिँ छ ।
हिजो र आजमा के फरक देख्नुभयो यो क्षेत्रमा ?
खासै नौलो केही देखिएन । आजभोलि संस्कार हराउँदै गएछ । पहिले यो क्षेत्रमा बाँच्न गाह्रो भए पनि सम्मान र संस्कार थियो । योगदानको कदर हुन्थ्यो, योग्यताको कदर हुन्थ्यो, उमेरको कदर हुन्थ्यो । तर, अहिले छाडापन र संस्कारहीन पुस्ता भित्रिँदै गएको भन्ने भान हुन्छ । यहाँ तपाईं पैसा खर्च गर्न सक्नुहुन्छ, एउटा गीत चलाउनुहोस् तपाईं वरिष्ठ गीतकार भइहाल्नुहुन्छ । राम्रो सिर्जना दिनुपर्दैंन, योगदान पनि चाहिँदैन । आज पैसा अगाडि राखिदिनुहोस् नदीनाला, वनजंगल यहीँ खोला बनाएर, पातपतिंगर, टेम्पो, बसमा टाँसेर बनाइदिन्छन् । हरियो दुबो, वरपिपलका पातलाई पहेँलो बनाउँदा पनि चल्ने भएछन् । शरणार्थी शिविर झापामा हुन्छ, छायांकन मुस्ताङमा हुन्छ । रारा मुगुमा छ, टौदह खिचेर देखाइन्छ । गीतसंगीतले एउटा कुरा माग्छ, देखाइन्छ अरू नै, तैपनि तिनै चलाइन्छ र चले भनिन्छ ।
हिजो पनि सर्जकहरू एउटा गीत लिएर अलिकति खर्च बोकेर ‘मेरो गीत बजाइदिनुहोस् न’ भनेर आउनुहुन्थ्यो । थुप्रै साथीहरू हुनुहुन्थ्यो त्यो पैसा लिएर गीत बजाउनुहुन्थ्यो । आज त झन् विकराल भएको रहेछ यो पैसाको खेल । त्यो हिजो पैसा लिनेहरू मिडियामा लामो समय रहे, म जस्तो व्यक्ति जसले ती सिर्जनाहरूको महत्व बुझ्यो र बिना पैसा रेडियो, एफएममा तिर बजाएर काम गर्यो, म जस्तै गुमनाम भए । आज एउटा समूह दिनभरि स्टुडियो धाउँदै काम खोजेझैं गर्दै अरूका सिर्जना सुनेर ठ्याक्कै चोरी गरिहाल्ने, एउटा समूह ती चोरीका सिर्जनामा लगानी लगाउने, एउटा समूह देशबाहिर बसेर ती सिर्जनालाई हुर्काउने अनि सही र राम्रा सिर्जना दर्शक-श्रोतासमक्ष पुग्नै नदिने, उच्छृंखल छाडा सिर्जनालाई महत्व दिने र मात्र किनबेचमा यो क्षेत्र निर्भर छ । अहिले बलिउडमा जुन स्क्यान्डल चलिरहेको छ, त्योभन्दा खतरा नेपाली गीत, संगीत, चलचित्र क्षेत्रमा सूक्ष्म तवरले चलिरहेको छ । राम्रो हुनुको सट्टा झन् बिग्रिँदै गएको छ, यसले गर्दा भविष्य झन् खराब देख्छु म त ।
गीत सार्वजनिक भइसकेपछि यसको प्रमोशनका लागि पछिल्लो समय जुन ‘बुष्ट’ गर्ने प्रचलन बढेको छ, यसमा यहाँको धारणा के छ ?
आजभोलि नेपालमा, नेपाली गीतसंगीतको क्षेत्रमा एउटा नराम्रो र गलत अझ भन्ने नै हो भने पूरै गैरकानुनी काम भइरहेको छ, त्यो हो बुस्ट । आफू चर्चामा आउनका लागि जस्तासुकै गीतसंगीत पनि चल्छन् र चलाइन्छन् यो बुस्टको माध्यमले । पैसाको चलखेलले दर्शक किन्ने अर्थात् भ्युज किन्ने काम बुस्टको माध्यमले गरिन्छ । यसो हुँदा सही सिर्जनाहरू दर्शक-श्रोतामाझ पुग्न सकिरहेका छैनन् ।
सही माध्यमले दर्शक-श्रोतासमक्ष पुर्याए पो राम्रो कुराको सही मूल्यांकन हुन्छ । यो बुस्ट सरासर विदेशी मुद्राको अपचलन हो । नेपालबाट पैसा भुक्तानी गर्ने कुनै माध्यम छैन हेर्नुहोस् । यो यहाँको डेबिट, क्रेडिट, भिजा कार्डबाट सम्भव हुँदैन । विदेशका पे पल, मास्टर कार्ड र विदेशी मूलका डेबिट, क्रेडिट कार्डको प्रयोग हुन्छ । अब त्यसको प्रयोगका लागि नेपालबाहिर बसेका व्यक्ति वा नेपालबाहिरको कार्ड प्रयोग गर्ने व्यक्तिको एकाउन्ट प्रयोग गरेर पैसा विदेश पुर्याइन्छ । किनकि गुगल, युट्युब भनेको विदेशबाट सञ्चालित हुन् ।
यहाँ बस्ने एजेन्टले विदेशी एजेन्टको कार्ड र एकाउन्ट प्रयोग गरी नेपाली पैसा डलरको हिसाबमा विदेश पुग्छ, राज्यले के पायो ? केही न केही । त्यसकारण यो सरासर गैंरकानुनी कार्य हो र सरकार, प्रशासनबाट यसमाथि अध्ययन गरेर यसमा सहभागीलाई कारबाही हुन जरुरी छ । एक हिसाबले राज्यद्रोह नै हो यो । यहाँ बुस्टको नाममा ८० प्रतिशत जुन गलत तवरले कमाएका छन्, गैरकानुनी तरिकाबाट जुन रकम बाहिर गइरहेको छ, त्यो त सरासर गलत हो नि ।
हामीकहाँ भइरहेका गीतसंगीतसम्बन्धी अवार्ड र अवार्ड प्राप्त गरिरहेका गीतसंगीतका बारेमा तपार्इंको धारणा के छ ?
राम्रो कार्य हो । यस्ता कार्यले एउटा ऊर्जा प्रदान गर्दछ । सही मूल्यांकन हुनुपर्दछ । गुटउपगुटले प्रभाव पार्नुभएन । निष्पक्ष तवरले आयोजकहरूको आफ्नो कोष छ भने त्यसबाट रकम खर्च गरेर र विभिन्न व्यावसायिक उत्पादनहरूको विज्ञापन प्रायोजनबापतको रकम संकलन गरेर यस्ता कार्यक्रमहरू गरिँदा राम्रो । हैन भने कतिपयले अवार्डको किनबेच गरिरहेका हुन्छन्, जुन विकृतिले राम्रो सिर्जना र राम्रो स्रष्टाको हत्या हुनसक्छ ।
एउटा स्रष्टाका रूपमा वर्तमान देशको अवस्थालाई कसरी हेर्नुहुन्छ ?
अहिले स्रष्टाहरूको आफ्नै गुटउपगुटमात्र नभई राजनीतिक दलहरू पनि छन् । राज्यले अझ भन्नुपर्दा सरकारमा रहेका राजनीतिक दलहरूले आफू निकट स्रष्टा, कलाकारलाई पदवी, तक्मा लाइदिएर अल्झाइएको देखिन्छ र स्रष्टाहरू तिनै पदवी र तक्माको प्रलोभनमा परेका देखिन्छन् । आफू आश्रित क्षेत्रका लागि डटेर लाग्नुपर्ने स्रष्टा, कलाकारहरू रुमल्लिरहेका देखिन्छन् । तपाईं हेर्नुहोस् न, कलाकार संघ, निर्माता संघ, निर्देशक समाज, गीतकार संघ, प्राविधिक संघ, चलचित्र विकास बोर्डलगायत थुप्रै संघ-संगठनहरू छन् तर आफू आबद्ध क्षेत्रको उत्थानका लागि एकजुट भएर अघि बढ्न सकेका छैनन् । यो मेरो आरोप हैन, फेरि मेरो अध्ययनले मलाई बोल्न बाध्य बनाएको हो ।
राज्यले लेखन, गायन, संगीत, वाद्यवादन, कलाकारिता क्षेत्रका व्यक्तित्वहरूलाई नीति निर्माणमा खै सामेल गराएको ? त्यही एउटा चलचित्र विकास बोर्ड र राष्ट्रिय सांस्कृतिक संस्थान छ, त्यसमा पनि नेताहरूको नजिक भएर जसले रिझाउन सक्छ, ऊ नै पदमा आसीन हुन्छ । आफू कार्यरत क्षेत्रको विकासका लागि आफू मातहतको निकायको प्रमुख हुन्छु र केही गर्छु भन्दा पनि दल र नेताको चाकडी गर्नुपर्ने अवस्था रहिरहनु भनेको दुखद कुरा हो । राज्यले एउटा स्रष्टा मरेपछि मात्र देशका लागि क्षति भयो भनेर फोटोमा अबिर र फूल फ्यालेर सम्मान गर्ने कि जिउँदै रहँदा यो क्षेत्रको उत्थानमा सक्रिय रहन सहयोग गर्ने र प्रोत्साहन दिने ? च्याउ उम्रे जस्ता छापाखाना र रेकर्डिङ स्टुडियोहरू गल्ली–गल्लीमा छन्, सरकारी स्तरका रेडियो नेपालको रेकर्डिङ स्टुडियो, जनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशन कमिशनको खेलमा चुर्लुम्म डुबेका छन् । बाँकी निजी क्षेत्रका स्टुडियो र छापाखानाहरू उडुस र उपियाँ जस्तो स्रस्टाहरूको रगत चुस्न लागिपरेका छन् । स्रष्टाले छाक काटेर रकम जम्मा गरी देशको कला, संस्कृति जोगाइदिनुपर्ने ? योभन्दा निर्लज्ज अवस्था अरू कहीँ होला र ?
अन्त्यमा ?
धेरै कुरा भनिसकेँ । यी कुरालाई मनन गर्नु, नगर्नु उहाँहरूको कुरा हो । गैरकानुनी तवरले बुस्टको नाममा भइरहेको विदेशी मुद्राको अपचलन र अवैधानिक कमाइबारे बुझ्ने, अनुसन्धान गर्ने, कारबाही गर्ने, नगर्ने राज्य प्रशासनको कुरा हो । दर्शक-श्रोतालाई मेरो अनुरोध छ, हेर्दा र सुन्दा राम्रा, मिठा, अजम्बरी, कालजयी सिर्जनालाई प्राथमिकता दिनुहोस् । अहिले एकछिन सुनेर भोलि डिलिट हुने र क्षणिक तामझाम र मनोरञ्जनलाई बेवास्ता गर्नुहोस् । राम्रा सिर्जनालाई माया गर्नुहोस्, यो क्षेत्रलाई माया गर्नुहोस्, राम्रा स्रस्टाका सिर्जनालाई सम्मान गर्नुहोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच