नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय र वागमती सफाइका लागि दुवै महानगरको सहकार्य अनिवार्य छ : बालेन्द्र साह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय स्थापना र वागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रश्ताव गर्नुभएको छ ।

ललितपुर महानगरपालिकाको १०४औं स्थापना दिवसको अवसर पारेर शनिवार आयोजित एक कार्यक्रममा बोल्दै मेयर साहले सो प्रश्ताव गर्नुभएको हो । यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उहाँको तर्क थियो । मेयर साहले नेवाः सभ्यतासम्बन्धि विश्वविद्यालय र वागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पार्नुभयो ।

उहाँले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धि विश्वविद्यालयले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणासमेत राख्नुभयो ।

मेयर साहले भन्नुभयो, ‘काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका आफैंमा एउटा एकदमै नजिकको भित्र, छिमेकी दाजुभाई जसरी बस्दै आएको भएकाले हामीले सहकार्य गर्नुपर्ने धेरै कुराहरु छन् । देशकै पहिलो नगरपालिका भएको हुनाले हाम्रो संस्कृति, सभ्यता, सम्पदा जोगाउनका लागि ललितपुर महानगरपालिकाले एकदमै अग्रसर भएर आफ्नो भुमिकाहरु देखाएको छ । त्यो एकदमै सराहनीय छ । र, आगामी दिनहरुमा हामीले पनि सिक्नुपर्ने धेरै कुराहरु छन ललितपुर महानगरपालिकाबाट । सम्पदाको क्षेत्रमा जसरी अहिले ललितपुर महानगरपालिकाले ढुंगेधारा, पुरानो हिटीहरुको संरक्षणमा अग्रसर भएको छ । त्यो कुराहरुलाई हामीले पनि अब पुल्चोक इन्जिनियरिङ कलेजसँग समझदारी गरेर हाम्रो हिटीहरुको पुनःस्थापनाको काम गर्दैछौं । अर्को कुरा ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धि युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु । त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्नसक्छ । त्यसका लागि स्थान काठमाडौंमा पनि सक्छ अथवा ललितपुरमा नै हुन पनि सक्छ । ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसका लागि पहल गरिदिनु भयो भने हाम्रो सभ्यताको अभिलेखीकरण पनि हुन्छ । यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्नसक्छौं । हाम्रा कलाकौशलहरु त्यसमा अन्तर्राष्ट्रियकरण गर्नसक्छौं । हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्नसक्छौं । नेवाः सभ्यता भित्र धेरै पक्षहरु छन । सम्पूर्णलाई मान्छेले पढुन् । हाम्रा पुस्तान्तरण गर्न पाउ । अब आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउन पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ । अर्को कुरा, दुवै महानगरपालिकाले गर्नुपर्ने चिज भनेको वागमतीको स्थायी सरसफाई नै हो । अस्थायी सफाई अभियान त धेरै हुन्छन् । स्थायी रुपमा यसको सरसफाई गर्नलाई काठमाडौं र ललितपुर महानगर दुवैले सहकार्य गर्नुपर्छ । यो काम काठमाडौं एक्लैले पनि सक्दैन । ललितपुर एक्लैले पनि सक्दैन । हामी दुईटा महानगरपालिका, वागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर वागमतीको स्थायी सफाई अभियान । वागमतीको पानीलाई निलो सफा पानी बनाउन हामीले त्यसमा सहकार्य गर्नै पर्दछ । यी दुई वटा कार्यमा मात्रै हामीले हाम्रो कार्यकालमा सहकार्य गरेर अघि बढ्नसक्यौं भने निकै राम्रो सन्देश जान्छ । काठमाडौं उपत्यकाको तर्फबाट नै एउटा राम्रो सन्देश जान्छ । र, हाम्रो जुन मित्रवत भावना छ । त्यसलाई अझै मधुरता दिन सकिन्छ ।’

मेयर साहले सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरु सिक्नुपर्ने बताउनु भयो । उहाँले प्राचिन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारी समेत दिनुभयो ।

उहाँले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि पटकपटक दोहो¥याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?