बागलुङमा धान उत्पादन घट्यो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 6 mins

बागलुङ । समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिना मै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात हुँदा खेतमा लगाएको धान सप्रियो, किसानहरु खुशी भए । जब धान पाक्यो र भित्र्याउने बेला भयो तब बेमौसमी वर्षा भयो । लगातारको वर्षाले भित्र्याउनै आँटेको धानमा क्षति पुगेका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको हो ।

मध्य पहाडी जिल्ला भए पनि यहाँ विगतमा राम्रो धान उत्पादन हुन्थ्यो । तर यस वर्ष उत्पादनमा कमी आउँदा किसान मर्कामा परेका छन् । जिल्लामा यस वर्ष ५ प्रतिशतले धान उत्पादनमा कमी आएको हो । बागलुङ नगरपालिका-४ की स्थानीय तेजकुमारी केसी अघिल्ला वर्षहरुमा १२ मुरी धान उत्पादन भएकोमा यस वर्ष भित्राउने बेला परेको पानी क्षति पुर्‍याउँदा सात मुरी मात्रै स्यारेको बताउनुहुन्छ ।

केसी भन्नुहुन्छ-“यसपाली धान निकै राम्रो भएको थियो, पोहोर परार सालको भन्दा धेरै नै उत्पादन हुने आश थियो तर पाकेको धान स्यार्ने बेला एक्कासी एक साता पानी पर्दा धेरै नोक्सान भयो, धान सबै खेतभरी भएको थियो, न उठाउन मिल्ने न टिप्न, हामी किसानहरुलाई वर्षाले रुवाउनु रुवायो ।”

अहिलेको भन्दा अघिल्ला सालहरुमा झण्डै दोब्बरले धान उत्पादन हुँदासमेत आयातित खाद्यान्न किनेर उपभोग गरेको सुनाउनुभयो । “पहिला-पहिला अहिलेको भन्दा धेरै धान फल्थ्यो र त दोकाने चामल किनेर खानु पथ्र्यो, अहिले त झन्, निकै कम उत्पादन भएको छ, बाहिरबाट आएकै चामलले वर्ष गुजार्नु पर्ने भयो” केसीले भन्नुभयो ।

स्थानीय हरिप्रसाद सापकोटाले धानबालीमा ठूलो क्षति पुगेको भन्दै अहिलेसम्म राहत पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले बेमौसमी वर्षाका कारण यस वर्ष दोब्बरले धान उत्पादनमा कमी आएको बताउनुभयो । असोज अन्तिम साताको वर्षाले आफ्नो ५० प्रतिशत धान नोक्सान भएको गुनासो गर्नु भयो ।

ADVERTISEMENT

सापकोटले भन्नुभयो-“यो वर्ष बेमौसमको वर्षाले किसानहरुलाई धेरै दुःखी बनायो, बर्खा भरी दुःख गरेर धान लगाइयो, भित्राउने बेला पानीले खेतबरी बनाइयो दियो, यसपाली धान धेरै फलेको थियो, पानी बेलामाथि पर्दा सिंचाइ पनि राम्रो भएको थियो, तर काट्ने बेला हप्ता दिन झरी पर्दा नोक्सान बेहोर्नु पर्‍यो ।

कृषिज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बेमौसमी वर्षाका कारण बागलुङका किसानले समस्या भोग्नु परेको बताउनुभयो । उहाँले यस वर्ष ५ प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएको बताउनुभयो । अहिले पनि बागलुङ धानमा आत्मनिर्भर नरहेको भन्दै त्यसमाथि वर्षाले नोक्सानी गरेको उहाँको भनाई छ ।

“यस वर्ष धान राम्रो हुन्छ भन्ने आँकल हामीहरुले गरेका थियौँ, किनकी समय मै वर्षा भएको थियो, त्यसले गर्दा सिंचाइ पर्याप्त भएको थियो, अलिकति धाउन रोपाइँको क्षेत्र पनि बढेको थियो” प्रमुख भट्टराईले भन्नुभयो- “जिल्लाको सबै ठाउँमा होइन केही ठाउँमा धेरै नै क्षेति पुगेको थियो ।”

गत वर्ष जिल्लाभर पाँच हजार आठ सय हेक्टर क्षेत्रफलमा धान लगाइएकोमा यस वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । सिंचाई राम्रो भएपछि जिल्लामा धान उत्पादन बढ्ने आँकलन गरिएको उहाँको भनाई छ । अघिल्लो वर्ष १८ हजार तीन सय ५४ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १८ हजार छ सय ९० मेट्रिकटन धान उत्पादन भएको भट्टराईको भनाई छ । तुलनात्मक रुपमा केही बढेको देखिए पनि खेतीयोग्य जमिन बढ्दा उत्पादन पनि बढ्नु पर्ने हो । तर त्यसो हुन सकेन ।

बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार ५२३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ । ६ हजार १४८ हेक्टर क्षेत्रफलमा मात्रै सिंचाइको सहज पहुँच पुगेको छ । त्यस मध्ये बाह्रै महिना सिंचित क्षेत्र दुई हजार ७७५ हेक्टर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?