‘सुदूरका ओलम्पियन जो स्कुलबाटै खेलकुदमा लागे’

हिमालय टाइम्स
Read Time = 5 mins

महेन्द्रनगर । ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी खेलाडी दीपक विष्टले कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध एकेडेमीका विद्यार्थीलाई आफ्नो खेलजीवनको विगत सुनाउनुभयो । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवार बिचुवामा जन्मिएर गाउँकै विद्यालयमा पढ्दा आफूले भलिबल खेल्ने गरेको र पछि अध्ययनसँगै खेलकुदलाई निरन्तरता दिँदै जाँदा ओलम्पिकसम्मको यात्राको अनुभव सुनाउनुभयो । ‘कक्षा ८ मा पढ्दा खेल्ने भलिबल नभएर मोजाको बल बनाएर खेल्थेँ,’ विष्टले विद्यार्थीमाझ भन्नुभयो, ‘सुदूरपश्चिम कीर्तिमानी खेलाडी जन्माएको भूमि हो ।’

ओलम्पिक पुग्ने खेलाडी स्कुलस्तरबाटै आउने गरेको ओलम्पियन विष्टले बताउनुभयो । ‘आइएस्सी पढ्न महेन्द्रनगर आउँदादेखि यहाँको अपार मायाको सम्झना आइरहन्छ,’ उहाँले भन्नुभयो, ‘खेल प्रतिस्पर्धाका लागि मात्रै नभएर स्वास्थ्यका लागि पनि उत्तिकै आवश्यक छ ।’ स्वस्थ व्यक्ति जुनसुकै क्षेत्रमा पनि सफल हुने भएकाले २४ घण्टामा एक घण्टा भए पनि खेलकुदलाई दिनुपर्नेमा ओलम्पियन विष्टले जोड दिनुभयो ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा कीर्तिमानी चार स्वर्ण जित्नुभएका विष्ट सन् २०१० मा बंगलादेशमा भएको ११औँ सागपछि रिङमा उत्रिनुभएको छैन । विद्यार्थीलाई अनुभव सुनाउने क्रममा ओलम्पियन विष्टले आफूले एसियाली खेलकुदमा दुई कास्य जित्दाको अनुभव सुनाउनुभयो ।

त्यसैगरी सन् १९८८ दक्षिण कोरियाको सिउल ओलम्पिकमा बक्सिङ खेलमा सुदूरपश्चिमबाट विष्णुबहादुर सिंह र डम्बरदत्त भट्ट तथा एथ्लेटिक्सतर्फ डम्मर कुँवर र भारोत्तोलनमा भरत सावदले भाग लिनुभएको थियो । तीन दशकअघिको उक्त ओलम्पिकमा मुलुककै प्रतिनिधित्व गर्दै ओलम्पिकको यात्रामा निस्कनु बक्सर सिंह र भट्टलाई निकै चुनौतीपूर्ण थियो । सिउल ओलम्पिकसँगै २१-२१ अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी यी दुई बक्सर आफ्नो समयमा आफ्नो तौल समूहका चर्चित पदकधारी हुनुहुन्छ ।

ओलम्पियन भट्टले २०३९ सालमा कक्षा सात पढ्दा नै बक्सिङ खेल्न थाल्नुभएको थियो । ‘अधिकांश समय खेलकुदमै बित्न थालेपछि कक्षा १० मा मात्र तीनपटक अध्ययन गरेँ,’ ओलम्पियन भट्टले भन्नुभयो, ‘पढाइसँगै खेलकुदलाई अघि बढाउँदा आज यो अवस्थामा आइपुगँे ।’
हाल जिल्ला खेलकुद विकास समिति कञ्चनपुरमा बक्सिङ प्रशिक्षकका रूपमा कार्यरत ओलम्पियन भट्टले स्कुलस्तरमा खेलकुद गतिविधि बढाएमात्रै प्रतिभावान खेलाडी उत्पादन गर्न सहज हुनेमा जोड दिनुभयो । ‘ओलम्पियन नै स्कुलस्तरबाटै आउने खेलाडी हुन्,’ उहाँले भन्नुभयो, ‘यसतर्फ नै पहल हुनुपर्छ ।’ उहाँले ओलम्पिक, १३औँ र १४औँ एसियाली खेलकुददेखि युरोपियन च्याम्पियनसिपसम्म खेलेको अनुभव विद्यार्थीलाई सुनाउनुभयो ।

अर्का बक्सिङ ओलम्पियन सिंहले पनि २०४० सालमा कक्षा आठ पढ्दादेखि बक्सिङ खेलमा लागेको सुनाउनुभयो । ‘पढाइसँगै खेलमा लागेर ओलम्पिकसम्म पुगेँ,’ उहाँले भन्नुभयो, ‘लगनशील भएर खेलसँगै पढाइलाई पनि निरन्तरता दिने माहोल अहिलेको पुस्तालाई आवश्यक छ ।’

सुदूरपश्चिमका तीन ओलम्पियनसँगै मंगलबार यहाँ आयोजित ‘स्कुल टु ओलम्पिक अभियान’का क्रममा ओलम्पियन तथा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलगायत सात ओलम्पियनले आफ्नो खेलजीवनको अनुभव सुनाउनुभयो । उहाँहरूसँगै राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल ओलम्पियन संघको संयोजनमा भएको उक्त कार्यक्रममा महिला ओलम्पियन देवु थापा, प्रमिला रिजाल र दीपक श्रेष्ठले पनि आ-आफ्ना अनुभव सुनाउनुभएको थियो । सुदूरपश्चिमदेखि सुरु भएको स्कुल टु ओलम्पियन कार्यक्रम सातवटै प्रदेशमा सञ्चालन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?