धान उत्पादनमा सात प्रतिशतले वृद्धि

Read Time = 6 mins

काठमाडौं । यस वर्ष धान उत्पादन उत्पादन बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष झण्डै सात प्रतिशत अर्थात् ६.९४ प्रतिशतले धान उत्पादन बढेको हो । कृषि मन्त्रालयले सातवटै प्रदेशका कृषि मन्त्रालयबाट प्राप्त जिल्लास्तरीय धानको क्षेत्रफल तथा उत्पादन अनुमानका आधारमा गत आर्थिक वर्षको तुलनामा सात प्रतिशतले धान उत्पादन बढेको जनाएको छ ।

मन्त्रालयको तथ्यांकअनुसार चालु आवको चैते र वर्षे सिजन गरी कुल धान लगाइएको क्षेत्रफल १४ लाख ४७ हजार सात सय ८९ हेक्टर रहेकोमा ५४ लाख ८६ हजार चार सय मेट्रिकटन धान उत्पादन भएको छ भने उत्पादकत्व ३.७९ मेट्रिकटन प्रतिहेक्टर रहेको छ । गत वर्ष देशभर १४ लाख ७९ हजार तीन सय ७८ हेक्टरमा ५१ लाख ३० हजार छ सय २५ मेट्रिकटन धान उत्पादन भएको थियो भने उत्पादकत्व ३.४१ मेट्रिकटन प्रतिहेक्टर रहेको थियो । गत आवको तुलनामा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ३३.३३ प्रतिशतले धान उत्पादन बढेको छ । गत वर्ष बेमौसमी वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा उल्लेख्य क्षति भई उत्पादन घटेको थियो ।

सुदूरपश्चिम प्रदेशबाहेक गत वर्षको तुलनामा लुम्बिनी प्रदेशमा १५.२ प्रतिशत, प्रदेश १ मा ५.७२ प्रतिशत र कर्णालीमा ३.७२ प्रतिशत र मधेश प्रदेशमा ०.१८ प्रतिशत उत्पादन बढेको छ । तर, बागमती र गण्डकी प्रदेशमा गत वर्षको तुलनामा क्रमशः १.४५ र ३.७४ प्रतिशतले उत्पादन घटेको छ ।

यस वर्ष प्रदेश १ बाट १३ लाख ३६ हजार ५७ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष तीन लाख ३२ हजार छ सय १७ हेक्टरमा धान उत्पादन भएको थियो । मधेश प्रदेशमा १३ लाख ८८ हजार आठ सय ४१ मेट्रिकटन, बागमती प्रदेशमा पाँच लाख चार सय ४६ मेट्रिकटन, गण्डकी प्रदेशमा तीन लाख ९१ हजार एक सय २१ मेट्रिकटन, लुम्बिनी प्रदेशमा ११ लाख ५१ हजार तीन सय १३ मेट्रिकटन, कर्णाली प्रदेशमा एक लाख २९ हजार चार सय ७३ मेट्रिकटन र सुदूरपश्चिम प्रदेशमा पाँच लाख ८९ हजार दुई सय २१ मेट्रिकटन धान उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

गत वर्ष असोज र कात्तिकमा बेमौसमी वर्षाका कारण लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक लाखभन्दा बढी हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा करिब ८.७४ प्रतिशत उत्पादनमा कमी आएको थियो । तर, यस वर्ष मौसम औसत रहेको, केही ढिलो गरी भए पनि तराई जिल्लामा रासायनिक मलको उपलब्धता रहेको, उन्नत बीउ प्रयोग एवं हाइब्रिड प्रयोगमा भएको वृद्धि र स्थानीय तहसम्म कृषि प्रविधिको पहुँचलगायतका कारण धान उत्पादन बढेको कृषि मन्त्रालयले जनाएको छ ।

उखु किसानका समस्या समाधानमा सांसदको जोड

उखु किसानका समस्यालाई दीर्घकालीनरूपमा समाधान गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उनीहरूले उखु किसानका समस्या बारम्बार बल्झाउनु नहुने भन्दै दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नगदेबालीका रूपमा रहेका उखुलगायतका बालीलाई व्यक्तिगतरूपमा मात्रै लगाएमा समस्या दोहोरिइरहने भन्दै उखुको सामूहिक उत्पादनमा जोड दिनुभयो । उहाँले चिनी उद्योगलाई पनि व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

सांसद कमला पन्तले उद्योगीले किसानलाई समयमै रकम भुक्तानी नगर्ने गरेको भए पनि सरकार गम्भीर नभएको बताउनुभयो । निजी क्षेत्र, सरकार र सहकारी मिलेर उखु उत्पादन गर्नुपर्ने उहाँको भनाइ छ । सांसदहरूले किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई कानुनी दायरामा ल्याउन र भुक्तानी दिलाउनुपर्ने बताएका छन् ।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले उखु किसानलाई उखु किसान भएरै बाँच्न दिनुपर्ने बताउनुभयो । देशलाई कृषि प्रधान भनिए पनि उद्योग प्रधान बनेको भन्दै उहाँले उखु किसानका धेरै समस्या रहे पनि समाधानमा सरकारले चासो नदिएको गुनासो गर्नुभयो । समयमै मल दिन नसकेको र उद्योगले भुक्तानी नदिने गरेको भन्दै मैनालीले उखु किसानका समस्या समाधान हुन नसक्दा किसान पलायन हुन थालेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?