बीपी कोइराला, समन्वयवाद र राष्ट्रिय मेलमिलाप

डा. नारायण चालिसे
Read Time = 22 mins

राजनीतिमा बीपी र साहित्यमा विश्वेश्वरका नामले सुपरिचित कोइरालाका साहित्यिक र राजनीतिक व्यक्तित्व उत्तिकै अग्ला छन् । उनी समाजवादी राजनीतिज्ञ र क्रान्तिकारी (अराजकतावादी) साहित्यकार हुन् । उनको जीवन सङ्घर्षको पर्याय बनेको पाइन्छ । राजनीति र साहित्य बीपीका मुख्य दुई मार्ग हुन् । यी दुवै मार्गमा उनले सधैँ तर्कपूर्ण समाधान र निकासको बाटो रोजेका छन् । यी दुवै मार्गमा उनले समन्वय र मेलमिलापको नीति अवलम्बन गर्न चाहेका छन् । राजनीतिमा राष्ट्रिय मेलमिलापको नीति र साहित्यमा समन्वयको चाहना उनको वास्तविक परिचय हो । उनका राजनीतिक दस्तावेजहरू र साहित्यिक कृतिहरूले यस कुराको पुष्टि गरेका छन् । यही मूलभूत दर्शनको मियोमा अडेको बीपीको जीवनदर्शनलाई पर्गेल्नु आजको आवश्यकता हो भन्ने लाग्छ ।

जीवन र राजनीतिमा केही औपचारिक नियमहरूमा बाँधिनु पर्दा सैद्धान्तिक र व्यावहारिक रूपमा समन्वयभाव सशक्त बन्न नसके पनि साहित्यमा आफ्ना स्वतन्त्र मान्यताहरूका बीचबाट स्पष्ट रूपले मिलनबिन्दुलाई अघि सारेका छन् । बीपीको जीवन, राजनीति र साहित्य आफैमा समन्वयका तीन पक्ष हुन् । जीवनलाई समन्वयको माध्यमले नै सार्थक तुल्याउन सकिन्छ भन्ने मान्यता राख्ने बी.पी.ले साहित्यमा स्पष्टतः समन्वयको सन्देश प्रवाह गरेका छन् । राजनीतिमा पनि सधैँ मिलनबिन्दुको खोजी बीपीको प्रयत्न रहृयो । ज्यादै विरोधाभासयुक्त लाग्ने बीपीको राजनीति साहित्यमा समन्वयवादी विचारको धारलाई समातेर उनको वैचारिकतालाई दिग्दर्शन गराउनु यस आलेखको अभीष्ट रहेको छ ।

कोशीय अर्थहरूले सङ्केत गरे जस्तै दुई भिन्न विचार, दर्शन, मान्यता, मूल्य, आदर्श, स्थापना, क्रिया, कर्म, व्यवहार इत्यादि फरक तत्वहरूको बीचमा मिलनको वा संयोगको क्रमसमेतलाई समन्वय भन्न सकिने आधारहरू शब्दार्थले नै सङ्केत गरेका छन् । समन्वय आवश्यक छ भन्ने मतको पूर्वपक्ष र उत्तर पक्षसमेतको योगबाट समन्वयवादको वैचारिक धरातल निर्माण गर्न सकिन्छ । विरोधी धर्मका बीच र मित्र विचारका बीच पनि समन्वय हुन्छ । समन्वय स्वयंमा सकारात्मक अर्थको सङ्केतक शब्द हो । यसले मिलन, योग, संयोग, सहकार्य, सद्भाव, सहमति, सहयात्रा इत्यादि समन्वयात्मक भाव, चिन्तन, विचार, अभियान र कर्मसमेतलाई सङ्केत गर्ने भएकाले यो अनुकूल अर्थद्योतक मित्रधर्मी शब्द हो भन्न सकिन्छ ।

समन्वयवाद भनेपछि यसभित्र द्वित्वधर्म अनि त्यसमा एकत्वको प्रयास यसको मूल अभीष्ट हो भन्ने पनि बुझ्न सकिन्छ । समन्वय के के कुरामा सम्भव छ ? भन्ने कुरा र के कस्ता कुरामा समन्वय आवश्यक छ ? भन्ने कुरा समन्वयाकाङ्क्षी विचार, दर्शन, मान्यता आदिका चरित्र र गुण धर्ममा भर पर्ने कुरा हुन् । आवश्यकताले नै समन्वयको खोजी गर्ने हुनाले समन्वय खाँचो हो, एक अर्काको परिपूरक पनि हो भन्ने बुझ्न सकिन्छ । त्यसैले यो योग एकताको, सहकार्यको, सहमतिको, सहयात्राको सङ्केतक पनि हो ।

वास्तवमा बीपी कुनै एउटा पक्ष, विचार र वादका पक्षपोषकमात्र नभएर वैचारिक र व्यावहारिक समन्वयका पक्षधर हुन् । त्यो कुरा उनका साहित्यिक कृतिमा स्पष्ट परिलक्षित भएको पाइन्छ । बीपीको समन्वयवाद र भगवद्गीताको समन्वयवादी चिन्तनको सार मिलेको छ ।

श्रीमद्भगवद्गीता समन्वयवादको सबैभन्दा उत्कृष्ट दृष्टान्तग्रन्थ हो । यो ग्रन्थ समाजशास्त्र, धर्मशास्त्र, राजनीतिशास्त्र र दर्शनशास्त्र इत्यादि धेरै शास्त्रहरूको समन्वय ग्रन्थ हो । त्यसमध्ये पनि कर्म, ज्ञान र भक्तियोगको त यो अद्वितीय ग्रन्थ नै हो । सबै दर्शनशास्त्रहरूको सार समेटेर तयार गरिएको यो ग्रन्थमा विभिन्न दर्शनहरूको समन्वय गरिएको छ । वेदान्त, साङ्ख्य र योगदर्शनको योग, कर्म, ज्ञान र भक्तिको योग, यो ग्रन्थका मुख्य प्रतिपाद्य विषय नै हुन् । विदेह रूपमा कर्म सम्भव छैन कर्म जीवनको अनिवार्य एवं अपरिहार्य गति हो । हामीले अवतार जन्ममा विश्वास गरेका छौं । राम, कृष्ण, विष्णु, बुद्ध, महावीर, अल्लाह, ईशु सबैले भौतिक देह धारणा गरेर आफ्नो विचार प्रवाह गरे । अर्थात् सबै धर्मका आदिदेव सशरीर थिए र छन् भनिएको छ । सबैको देही रूपका बिम्ब हामीसँग छन् ।

यिनै भौतिक शरीरबाट आध्यात्मिक विचारको जन्म भएको छ । समन्वयको यसभन्दा आदिम, आधार अरू केही पनि हुन सक्दैन । हामी स्वयं समन्वयका रूपहरू हौँ । त्यसैले समन्वयको आधार खोज्न अन्यत्र कहीँ पनि भौंतारिन आवश्यक छैन । समन्वयवादको यो ज्यादै विराट् परिभाषाका आँखाबाट हेर्दा कुनै पनि तत्व विरोधी लाग्दैनन् बरू सहयोगी लाग्दछन् ।

यहाँ प्रसङ्ग साहित्यकार बीपी कोइरालाको वैचारिक चिन्तन र उनको व्यवहाररूप कृतिहरूमा अभिव्यक्त विचारको सार कतातिर लक्षित छ भन्ने विषयमा केन्द्रित छ । वास्तवमा बीपी कुनै एउटा पक्ष, विचार र वादका पक्षपोषकमात्र नभएर वैचारिक र व्यावहारिक समन्वयका पक्षधर हुन् । त्यो कुरा उनका साहित्यिक कृतिमा स्पष्ट परिलक्षित भएको पाइन्छ । बीपीको समन्वयवाद र भगवद्गीताको समन्वयवादी चिन्तनको सार मिलेको छ । यही समन्वयवादको विराट् आलोकमा बीपीको जीवन र साहित्यको निर्माण भएको छ ।

‘मेरो जीवनको थालनीदेखि नै राजनीति र साहित्य यी दुई तत्वले मेरो मनमा पूरा प्रभावपारेकाले यी दुई तत्व अलग अलग अन्तःप्रेरणाका उपज भए पनि मेरो हृदयमा दौंतरी जस्तै भएर बसेका हुँदा म एक अर्काको प्रभावमा एक अर्कालाई विर्सन सक्ने अवस्थामा थिइन र चाहन्नथें पनि’ भन्ने बीपीको समन्वयवादी विचार, व्यवहार र चिन्तनधाराको अध्ययन प्रारम्भ गर्न सकिन्छ । बीपीकै शब्दमा अलग–अलग धर्म र चरित्रका यी दुई तत्वहरूलाई दौंतरी बनाएरसँगै लिएर हिँड्नु समाज र जीवनमा प्रकट गर्नु र एक अर्कालाई हस्तक्षेप नगरिकन सँगसँगै हिँडाएर दुवैतिर अनालोच्य प्रतिष्ठा प्राप्त गर्नु बीपीको जीवनको सबैभन्दा महत्वपूर्ण उपलव्धि हो ।

बीपीले धर्म, दर्शन, जीवन र व्यवहारमा धेरै ठाउँ समन्वयको सङ्केत गरेका छन् । त्यहाँ उनको विचार, सिद्धान्त, दृष्टिकोण कमजोर भएर केवल सम्झौताको निम्तिमात्र समन्वय भनेका छैनन् बरू आवश्यकताले, औचित्यले समन्वयको खोजी गरेका छन् । तार्किक, व्यावहारिक र जीवनजगत् सापेक्ष समन्वयको खोजी गर्नु बीपीको समन्वयवादी विशेषता हो जुन हाम्रो हकमा ज्यादै मौलिक प्रयत्न पनि हो । साहित्य र राजनीतिमा समन्वय आवश्यक छ कि छैन ? भनी सोधिएको प्रश्नमा बीपीले ‘यी दुई विरोधी तत्व हुन् ।

राजनीतिले नियम कानुन बनाउँछ र आफू पनि कानुनको दायराभित्र अडिएको हुन्छ तर साहित्यका पनि नियम त हुन्छन् नै तर साहित्यकार उन्मुक्त हुन्छ’ भन्दै आफू पनि राजनीतिमा नियम आबद्ध अनुशासित नागरिक र साहित्यमा स्वतन्त्र अनि नियम बाहिर बस्ने भएकाले एक अर्थमा अराजक हुन चाहेको कुरा गरेका छन् ।

भौतिकवादलाई अँगाल्दा अध्यात्मवादको अभाव खट्किएको अनि कोरा अध्यात्मवादले मात्र पनि जीवनबोध गर्न नसकेको अवस्थामा बीपीले दुवैको विचार र व्यवहारलाई समन्वय गर्न चाहेका छन् । कोइरालाले आपूmमा सँगसँगै अध्यात्मवादी र अनध्यात्मवादी विचारलाई समन्वय गरेर राखेका छन् । त्यस्तै एउटै व्यक्ति माक्र्सवादी र प्रजातन्त्रवादी कसरी हुन सक्छ ? भनी सोधिएको प्रश्नमा बीपीले ‘माक्र्सवादको पनि अन्तिम लक्ष्य प्रजातन्त्र नै हो । अझ सारमा भन्दा अन्ततोगत्वा सबै विचारहरूको लक्ष्यनै एउटै भएको देखिन्छ’ भनेर विचारको सार समन्वय नै सबैको लक्ष्य हुनुपर्ने कुरालाई स्वीकारेका छन् । मानिसले तर्क, बुद्धि, विचार र कर्मका अतिरिक्त यी सबैले भ्याउन नसकिने नियतिसँग पनि आफूलाई समन्वय गरेर जानुपर्ने अनौठो यथार्थलाई पनि त्यत्तिकै इमानदारीपूर्वक स्वीकार गर्न पुगेका छन् ।
साहित्यको आदर्शलाई राजनीतिले अनुसरण गर्न सम्भव छ भनी सोधिएको प्रश्नमा बीपीले ‘साहित्यकारको दक्षता (हरेक पक्षमा) सामान्य मानव समाजको भन्दा धेरै बढी हुन्छ । राजनीति मानव समाजसापेक्ष हुन्छ । कतिपय साहित्यिक आदर्शको पूर्ण परिपालन राजनीतिमा कठिन हुन्छ तैपनि आदर्शको अनुसरण गर्ने यथाशक्य प्रयास भने भइरहनु पर्छ’ भनेर बीपीले साहित्यिक आदर्श र राजनीतिक यथार्थलाई पनि समन्वय गरेरै हिँड्नुपर्ने सन्देश दिएका छन् । साथै आफ्नो जीवन यिनै मूल्य र आदर्शको सारांश हो भनेर त्यसको व्यावहारिक प्रयोग आफू नै भएको स्वीकारोक्ति पनि दिएका छन् ।

‘मेरो राजनीतिक जीवन त्यही साहित्य र राजनीतिका बीचमा रहने द्वन्द्व र त्यो द्वन्द्वबाट उत्पन्न सामाजिक प्रगतिको आदर्शको अनुसरण गर्ने प्रयास हुन सक्छ’ भन्ने बीपीको धारणा रहेको छ । बीपीले एकातिर कर्मवादमा विश्वास गरेका छन् भने अर्कोतिर उनको कर्मवाद नियतिवादसँग समन्वय गरेर अघि बढेको छ । कर्मवाद र नियतिवाद पनि विरोधी धर्म हुन्- कर्ममा विश्वास गरिन्छ भने नियति स्वतः निस्क्रिय हुनुपर्ने हो । नियतिको सम्बन्ध प्रकारान्तरले प्रारब्ध वा भाग्यसँग जोडिन आउँछ । भाग्यको भरोसामा पर्नेहरूले कर्ममा विश्वास नगर्न सक्छन् तर बीपीको नियति र कर्मका बीचको सम्बन्ध भगवद्गीताको प्रारब्ध कर्मवादी मान्यता जस्तै छ ।

जसरी गीतामा एकातिर सबै कुरा प्रारब्धले भइरहेको छ भनिएको छ अनि अर्कोतिर लोकोद्रयंकर्मबन्धन भनिएको छ । त्यस्तै बीपीले मानिस आपूmले कर्म गर्न स्वतन्त्र छ तर उसको त्यो स्वतन्त्रता नियतिको कठोर बन्धनमा बाँधिएको छ । त्यसैले नियति निर्दिष्ट यथार्थलाई उछिनेर अघि बढ्न सक्ने कर्मस्वतन्त्रता मानिसमा छैन भनेर नियतिवाद र कर्म स्वतन्त्रतालाई पनि समन्वय गरेर हेर्न चाहेका छन् । जसलाई एकातिर गीताको प्रारब्ध कर्मवादी मान्यताका आधारमा हेर्न सकिन्छ भने अर्कोतिर यो मान्यता बीपीको समन्वयवादी चिन्तनको मौलिक अवधारणा हो ।

बीपी कोइराला स्वतन्त्रता र नैतिकताका पक्षपाती व्यक्ति हुन् । स्वतन्त्रतालाई अँगाल्दा सामाजिक सम्बन्ध र नैतिकता नखल्बलियोस् भन्नेमा उनी सचेत छन् । उनले आपूm फ्रायडवादी हुँदाहुँदै पनि नैतिकताको पक्षधर रहेको कुरा स्वीकार्दै म फ्रायडवादलाई मान्छु, म अझ त्यसमाथि नैतिकतामा पुगेको छु’ भनेर कोइरालाले यौनस्वतन्त्रतामा नैतिकता समन्वय भएको फ्रायडवाद आफ्नो मान्यता भएको तर्क गरेका छन् । यो कुरा उनका यौनिक रूपले आलोच्य ठानिएका कथा, उपन्यासका पात्र र घटनाहरूमा पनि राम्ररी पालन भएको छ ।यो कुराले बीपीले पाश्चात्य चिन्तन, व्यवहारमा पूर्वीय चिन्तन र व्यवहारको समन्वय गर्न चाहेको बुझिन्छ ।

बीपीले विरोधी धर्मका तत्वहरूलाई आफूभित्र राख्नुलाई हामीले झट्ट सुन्दा कतै समन्वय र सम्झौताको बाटो लिएर कुनै क्रान्तिकारी परिवर्तनलाई अँगाल्न नसक्नुको परिणाम त होइन भन्ने तार्किक प्रश्न पनि उठ्ने सम्भावना देखिन्छ । त्यसभन्दा पर गएर गरिने सम्झौता पनि घातक हो साथै समन्वयको भित्री धर्म चलायमान तत्वहरूको पनि वस्तुधर्म सापेक्ष समन्वयमात्र हितकर हुन्छ अन्यथा सर्वत्र समन्वयको अर्थ रहँदैन । यस अर्थमा ‘साहित्य र राजनीतिजस्ता पारस्परिक विरोधी तत्वहरूबाट प्रेरित विरोधी प्रेरणा–तत्वहरू मानिसमा विद्यमान रहन्छन् सहज वृत्तिका रूपमा’ भन्ने बीपीको चिन्तनमा दुवै तत्व सहज अटाउने थिएनन् ।

समयले, परिस्थितिले, आवश्यकताले माग गरेको अनि क्रान्तिको बीज धर्मलाई बचाएर अस्तित्ववान् बन्न सक्ने समन्वय नै वास्तवमा बी.पी.को समन्वयवादी चिन्तन हो । बीपीको राजनीतिक जीवनमा पनि समन्वयवादले महत्वपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ । उनी सम्झौतावादी भएर होइन सधैँ जिम्मेवारीपूर्वक देश, जनता र प्रजातन्त्रका पक्षमा बोल्दा के कसरी हुन्छ यिनै पक्षको हित र संरक्षणको मुद्दालाई केन्द्रमा राखेरै राणा र राजासँग अधिकारको खोजी गरिरहे । उनको उद्देश्य थियो प्रजातन्त्र, मानवअधिकार र नागरिक स्वतन्त्रतामा कहीँ पनि सम्झौता हुँदैन त्यसबाहेक राजा वा अन्य शक्तिसँग सहकार्यको सम्भावना रहन्छ भन्ने बीपीको धारणा रहृयो ।

बीपी एकैपटक भौतिकवादी, अध्यात्मवादी र अज्ञेयवादी भएर तिनै तहको अनुभूतिको समन्वयमा बाँचेका व्यक्ति हुन् । एउटैमात्र विचारको पछि नदौडिएर धेरै विचारहरूबाट एउटा विचार निर्माण गर्ने सामथ्र्य बीपीको मौलिक जीवन दर्शन हो ।

यहाँसम्मकि राष्ट्रियताको सवालमा राजा र मेरो घाँटी एकै ठाउँ जोडिएको छ भन्दा भएका आलोचनाहरूले बीपीलाई विचलित तुल्याएन । राष्ट्र नरहे बरू मेरो त नागरिकको हैसियतले विराटनगरमा जग्गा जमीन छ तर राजाको त त्यो पनि ठाउँ छभनेर ज्यादै गम्भीर अनि जिम्मेवार अभिव्यक्ति दिने सामथ्र्य बीपीमा रहेको थियो । उनी यो देशका जिम्मेवार राजनेता थिए जसले सम्पूर्ण रूपले देश र जनताकै पक्षमा सधैँ सङ्घर्ष गरिरहे । आफूमाथि जीवनभर दरबारबाट विभिन्न प्रकारका षड्यन्त्रहरू भइरहँदा पनि बीपीले दरबारलाई निमिट्यान्न पार्नुपर्ने शत्रुजस्तो देखेनन् ।

बीपीले समन्वय र सहकार्यको आफ्नो राजनीतिक अभियानको परिचय दिएको पाइन्छ । यतिसम्म कि बीपीले राष्ट्रको उत्थानको आधार राजनीतिक, आर्थिक विकास मात्र होइन कला, साहित्य र संस्कृतिको पनि समान किसिमको उत्थान हुन र कला र सांस्कृतिक पक्षको मजबुती आवश्यक छ भनेरसमेत समन्वयवादी चिन्तनलाई बल प्रदान गर्न चाहेको बुझिन्छ । ती विविध आयामको संयोग जीवन भएकाले जीवन समन्वयात्मक छ भन्ने आशय नै बीपीको जीवन दर्शनको निष्कर्ष हो । बीपी एकैपटक भौतिकवादी, अध्यात्मवादी र अज्ञेयवादी भएर तिनै तहको अनुभूतिको समन्वयमा बाँचेका व्यक्ति हुन् । जुन कुरालाई उनले धेरै ठाउँमा पटक-पटक भनेका पनि छन् । एउटैमात्र विचारको पछि नदौडिएर धेरै विचारहरूबाट एउटा विचार निर्माण गर्ने सामथ्र्य बीपीको मौलिक जीवन दर्शन हो ।

बीपीको वैचारिकता समन्वयवादमा परिलक्षित हुन्छ भन्ने कुरा यी समीक्षा धारणाहरूबाट पनि स्पष्ट हुन्छ ।यी धेरै कुराहरूले बीपीको वैचारिक दर्शन समन्वयवादी चिन्तनमा केन्द्रित थियो भन्ने सङ्केत गर्दछन् । अनेक सम्भावनाहरूबाट मिलनबिन्दुको खोजीतर्पm बीपी.को विचारको सार केन्द्रित भएको कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । बीपीले आफ्ना अन्तर्वार्ताहरूमा व्यक्त गरेका, विश्लेषकहरूले ठम्याएका र उनका साहित्यिक कृतिहरूमा व्यक्त भएका केही दृष्टान्तहरूलाई मात्र आधारबनाएर यो लेख तयार गरिएको छ । क्रान्ति र शान्ति दुवैका अगुवा बीपीको मौलिक चिन्तन नेपाली माटो सुहाउँदो हुनु नै उनको विशिष्ट योगदानको परिचायक हो । समन्वयवादी चिन्तन पनि यस अर्थमा नेपालको सन्दर्भमा बीपीको मौलिक चिन्तनको प्रारम्भ हो र समन्वयवादको चेतना बीपीको मेलमिलाप नीतिको साहित्यिक संस्करण हो भन्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?