बसाइँसराइले रित्तिदै गाउँ

Read Time = 9 mins

बागलुङ । पहिले गाउँमा मान्छे थिए, विकास थिएन । अहिले गाउँमा मान्छे छैनन्, केही न केही विकास छ । जिल्लाको बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा ट्रायाक खोलेको १५ वर्षपछि सडक कालोपत्रे हुँदैछ । अहिले टोल–टोलमै यातयतका साधनहरु पुग्छन् भने एक घण्टामै जिल्ला सदरमुकाम बागलुङ बजार पुग्न सकिन्छ । स्वास्थ्य चौकीको पहुँच नपुगेको सिगानाकै माथिल्लो क्षेत्र बौडैचौरमा शहरी स्वास्थ्य केन्द्र समेत स्थापना भएको छ भने एक घर एक घारा निर्माणलेसमेत तीव्रता पाएको छ ।

सिगानाको उपल्लोभाग बौडैचौरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नेगरी बजेट व्यवस्थापन भइरहेको छ भने अबको दुई वर्षमा उक्त स्थानमै सडक कालोपत्रे पुग्नेछ तर सिगानामा विकास निर्माणले तिब्रता पाएपनि बसाई सराईका कारण बस्तीहरुभने क्रमश खाली हुँदै गइरहेका छन् । बागलुङ नगरपालिका–८ सिगानाको उपल्लोलामाचौरमा ३० घर मध्ये १२ घर रित्तै छन् ।

लामिचौरको कार्की थर, बाहुन थर र थापाथरका ३० घर मध्ये अधिकांशको शहर बजारमा घर समेत छ । अधिकांश घरहरु चाडपर्वमा मात्रै खुल्ला हुने गरेका छन् । सिगानामा सबैभन्दा कम बसाई सराई लामिचौरको दलित बस्तीमा र बढी बसाई सराई उपल्लो लामिचौरमा रहेको स्थानीय शिक्षक कर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

“उपल्लो लामिचौरको कार्कीथर, बाहुनथर र थापाथरमा ३०÷३५ घर छन्, जसमध्ये १०÷१२ घर त पूर्णरुपमानै रित्ता छन्, केही घरहरु चाड पर्वमा मात्रै खुल्छन् भने केही घरमा मात्रै मानिसहरुको बसोबास छ” कार्कीले भन्नुभयो “सडक र माध्यामिक विद्यालय दैलोमै छ, खानेपनीका लागि एक घर एक धाराका लागि काम थालिएको छ, वडा कार्यालय सम्म कालोपत्रे सडक आउने भएको छ तर यहाँको बस्तीभने क्रमश रित्तिदै छ ।”

सिगानाको दुर्गम क्षेत्र मानिएको बौडेचौरले बिकासमा मुहार फेरेको छ तर बसाई सराई भने नरोकिएको सिगानाका निर्वतमान वडा अध्यक्ष जित बहादुर जिसीले बताउनुभयो । पाँच वर्षको अबधीमा बौडैचोरमा रहका जम्मा ११ घर मध्ये तीन घर बन्द अवस्थामा रहेका छन् । तर पछिल्लो समय बौडैचौरमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ, सडक कालोपत्रेका लागि धमाधम काम भइरहेको छ । खानेपानीको व्यवस्थापन भएको छ भने दलौमै नर्सीङ सेवा सहितको विद्यालय समेत रहेको छ । विकास थपिदै जादा बस्ती बिस्तार हुनुपर्नेमा बिस्तारै बस्ती खाली हुने अवस्थामा पुगेको उहाँको भनाई छ ।

“हामीले विकास त भित्राएका छौं तर विकासले बसाईसराई नरोकिएको देखियो, यो समग्र बागलुङको चिनारी हो” जिसीले भन्नुभयो “हुनेखानेहरु बसाई सराई गर्नेनै भए हुँदा खानेहरु अवसर र रोजीरोटिका लागि घर छोड्न बाध्य छन्, अब बिकाससंगै गाउँमा उद्यमी बनाउन र गाउँ फर्काउन सकिने योजना ल्याउन आवश्यक देखिन्छ ।”

बागलुङ नगरपालिका मात्रै हैन जिल्लाको गलकोट नगरपालिका–७ टोकरीगाउँ बसाई सराईको नमूना नै बनेको छ । पाँच वर्ष अगाडिसम्म गाउँमा झण्डै ४० घर परिवार बस्ने टोकरीगाउँमा बसाई सराईका कारण अहिले १५ परिवार मात्रै बस्ने गरेका छन् । बसाईसराईका कारण तित्तिएको बस्तीबाट अहिले सडक कालोपत्रे पुग्नेगरी धमाधम निर्माणको काम भइरहेको भएपनि विकासले बसाई सराई रोक्न नसक्नु विषय दुखद् रखेको गलकोट नगरपालिका–७ मल्मका वडा अध्यक्ष राज बहादुर थापाले बताउनुभयो ।

यहाँका अधिकांश युवाहरु जापान पुगेपछि बसाई सराईले तिब्रता पाएको छ । यहाँका अधिकांश परिवार गलकोट नगरपालिकाको केन्द्र हटिया, बागलुङ बजार, पोखरा लगायतको क्षेत्रमा बसाई सराई गर्ने चलन रहेको थापाले बताउनुभयो ।

गलकोट नगरपालिकाले बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा सहज रूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरि काम गर्न थालेको भएपनि सडकको बिकासले मात्रै बसाई सराई रोक्न समस्या देखिएको छ । सडकको पहुँच पुगेपनि उच्च शिक्षा, रोजगारी र स्वास्थ्य सेवाका लागि पछिल्लो समय बसाई गर्ने कार्यले तिब्रता पाएको छ ।

बसाईसराईका कारण गाउँहरु उराठिदा बाँदरको बिगबिगीले समेत सताउने गरेको छ । पछिल्लो समय बसाईसराईका कारण गाउँका घर खाली हुदै र जमिन बाँझो हुँदै गएपछि अन्य खेति भइरोको जग्गामा समेत बाँदरको प्रकोपका कारण गाउँ छोड्नुपर्ने अवस्था रहेको छ । निर्वाचनको समयमा बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिका लगायतका क्षेत्रका जनताले बाँदर नियन्त्रणको योजना ल्याउन आग्रह गरेको बताउदै नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदीले बाँदरको समस्यासंग बसाई सराई जोडिएको बताउनुभयो ।

“बसाई सराईका कारण केही घर खाली छन्, त्यहाँ बाँदरको बास हुन्छ, अन्य किसानको खेत बारीमा लगाएको खेतिपाती बाँदरले सत्यानास पार्दा उनिहरुसमेत बाध्यताले बसाई सराई गर्नुपर्ने अवस्था छ” सुवेदीले भन्नुभयो “सडकहरु चिल्लो बन्दै जाने नागरिकहरु बसाई सराईले घट्ने, विद्यालय भवन ठडिने विद्यार्थी घट्दै जाने अवस्थाको अन्त्यका लागि हामीले सोच्ने समय आएको छ, अब बसाईसराई रोक्नका लागि पूर्वाधार संगै रोजगारी, शिक्षाको गुणस्तरमा सुधार, गाउँमै स्वास्थ्य उपचार र घरेलु उद्यमलाई अधुनिकरण गराउदै लैजानु पर्दछ ।”

बागलुङमा दुई राष्ट्रिय गौरवको आयोजनाको कारण यहाँको विकासमा मुहारै फेरेपनि बसाई सराई रोकिन नसक्नु दुखद् विषय बनेको स्थानीय जनप्रतिनिधिहरुको भनाई छ । बागलुङमा मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरका कारण बिकासले मुहारै फेरेको भएपनि बसाइँसराई भने रोकिएको छैन ।

पछिल्लो समय विद्यालय भवनहरु सुविधा सम्पन्न निर्माण हुने तर विद्यार्थीको संख्या घट्दै जाने, सडक, विद्युत, सञ्चार लगायतको सुविधा बढ्दै गएपनि बसाइँसराई रोकिन नसक्नु चिन्ताको विषय बनेको उनिहरुको गुनासो छ । स्थानीय तहले बसाई सराई रोक्नका लागि भौतिक बिकासलाई तिब्रता दिएपनि औधोगिकरण र स्वास्थ्यमा सुधार गर्न आवश्यक रहेको तमानखोला गाउँपाकिलाका स्थानीय चुडामणी छन्त्यालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?