प्रधानमन्त्री प्रचण्डले २६ गते संसद्‌मा विश्वासको मत लिने

प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दै

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने हुनुभएको छ । प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बस्दै छ । प्रधानमन्त्री दाहालले सोमबार संसद्का महासचिवलाई सम्बोधन गर्दै २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन र विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री दाहालले पुस ११ गते शपथ लिनुभएको थियो । संसद्बाट विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रधानमन्त्री प्रचण्ड स्वयंले हस्ताक्षर गरेको पत्र सोमबार संसद् सचिवालयमा पुगेको छ । संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले विश्वासको मत लिने सम्बन्धमा पत्र आएको जनाउँदै भन्नुभयो, ‘अधिवेशन सुरु भएको दिन २५ गतेको बैठकमा विश्वासको मत लिनेबारे जानकारी गराउने र २६ गतेको कार्यसूचीमा विश्वासको मत लिने गरी तयारी गरेका छौँ ।’ विश्वासको मत लिनुअघि प्रतिनिधिसभाको नियमावली पारित हुनुपर्ने प्रवक्ता पाण्डेले बताउनुभयो ।

संविधानको धारा ७६ को २ बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, रास्वपा, जनमत लगायतका १६९ सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री बन्नुभएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ । सरकारलाई सात दलका १६६ र तीनजना स्वतन्त्र गरी १६९ जनाको समर्थन छ । जसमा नेकपा एमालेको ७८, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टीका चार र तीन स्वतन्त्र सांसद छन् ।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त राष्ट्रियसभा सदस्य पदको चुनावका लागि आवश्यक प्रक्रिया सुरु गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग परामर्श गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिँदै भन्नुभयो, ‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस्, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरूबीच छलफल गर्छौं र हामी एउटा निष्कर्षमा पुगौँला ।’ परामर्श बैठकमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको निर्वाचन, प्रदेशसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोगका पदाधिकारीहरूलाई धन्यवादसमेत दिनुभएको थियो ।

राष्ट्रियसभा सदस्यको उपचुनाव माघ २५ भित्र गर्न सिफारिस
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको उपनिर्वाचन माघ २५ गतेभित्र तोक्न सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर निर्वाचन आयोगका पदाधिकारीहरूले पद रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै मिति सिफारिस गरेका हुन् । निर्वाचनको मिति तोक्न आयोगले सरकारलाई लिखित परामर्श दिने व्यवस्थाअनुसार २५ माघभित्र उपनिर्वाचन गर्ने गरी मिति तोक्न परामर्श दिइएको आयोगले जनाएको छ । नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रियसभामा एक सदस्य पद रिक्त छ । राष्ट्रियसभा सदस्य राष्ट्रपति/उपराष्ट्रपतिको मतदातासमेत हुन् ।

मन्त्रालयका कामबारे सचिवहरूसँग जानकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयको काम कारबाहीबारे मन्त्रालयका सचिवहरूसँग जानकारी लिनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले त्यसका काम कारबाहीको विवरण लिनुभएको हो । सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायहरूको काम कारबाही जानकारी लिने काम सुरु गर्नुभएको जानकारी दिँदै सरकारका मुख्यसचिव शंकरदास वैरागी भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन पछि आउँछ । हामी छलफलकै क्रममा छौँ । विभिन्न मन्त्रालयबाट संक्षेपमा प्रस्तुति भएको छ । केही निकायहरू बाँकी छन् । मंगलबार सबैको विवरण लिइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूको निर्देशन आउँछ । सरकार प्रमुखका रूपमा विभिन मन्त्रालय, निकायहरूले कसरी काम गरिरहेका छन् ? के भइराखेको छ । हाम्रो विकासको गति कस्तो छ ? त्यो सरकार प्रमुखले जान्ने स्वाभाविक प्रक्रिया नै हो । त्यही सन्दर्भमा छलफल भएको हो । सचिवज्यूहरूले आ-आफ्नो मन्त्रालयका इस्युहरू र आफूले भोग्नु परेका समस्याबारे कुरा राख्नुभएको छ । त्यसको सम्माननीय प्रधानमन्त्रीज्यूबाट सम्बोधन भोलि हुन्छ ।’ प्रधानमन्त्रीमा नियुक्त भएपछि दाहालले पहिलोपटक विभिन्न मन्त्रालयका काम कारबाहीबारे चासो लिनुभएको हो । उहाँले आफू प्रधानमन्त्री नियुक्त भएलगत्तै आर्थिक विकास र सुशासन आफ्नो मुख्य काम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सत्तारूढ गठबन्धनमा सहभागी हुन सकिँदैन : अध्यक्ष नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विगतमा पार्टीले चालेका कदम सही भएकाले अहिलेको अवस्थामा कसैसँग लत्रिनु आवश्यक नरहेको जिकिर गर्नुभएको छ । सोमबारदेखि सुरु पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी यथास्थितिमा सत्तारूढ गठबन्धनमा सामेल हुन नसक्ने बताउनुभएको हो । राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर पार्टी अघि बढ्ने बताउँदै अध्यक्ष नेपालले भन्नुभयो, ‘देशका राजनीतिक आफ्नै जटिलताहरू छन् । हाम्रो पार्टी सत्तारूढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौँ । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौँ । त्यसो हुनाले यिनै सोच र मान्यताको आधारमा हामी अगाडि बढ्नेछौँ ।’

२०७७ साल पुस ५ मा प्रतिनिधिसभा विघटन हुनअघि एमालेभित्रको अन्तरसंघर्षमा त्यहीँ बसेर हल गर्ने चाहना भए पनि पूरा हुन नसकेको अध्यक्ष नेपालको जिकिर छ । आफूहरूबाट केही गल्ती भए सच्चिन तयार रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले कसैलाई पनि पानी माथिको ओभानो बन्ने प्रयास नगर्न चेतावनीसमेत दिनुभयो । अध्यक्ष नेपालले नयाँ सरकारसँग पार्टीले कस्तो सम्बन्ध राख्ने भन्ने विषयमा पोलिटब्युरो सदस्यहरूसँग धारणा पनि माग गर्नुभएको छ । बैठकमा पूर्वप्रधानमन्त्री समेत रहनुभएका पार्टीका सम्मानित नेता झलनाथ खनालले लिखित प्रस्ताव राख्दै वामपन्थी दलहरूको कार्यगत एकता भए मात्रै सरकारमा जान सकिने उल्लेख गर्नुभएको छ । उहाँले पुष्पकमल दाहालको नेतृत्वमा बनेको नयाँ सरकारलाई खिचडी सरकारको संज्ञासमेत दिनुभएको छ । बैठकमा निर्वाचनको समीक्षा, पार्टीको भावी नीति र कार्यक्रमबारे छलफल भइरहेको नेकपा एसले जनाएको छ ।

ओली र भट्टराईबीच भेटवार्ता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच समसामयिक राजनीति, नयाँ सत्तारूढ गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ । ४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको नेपाल समाजवादी हाल सत्तारूढ गठबन्धनतिरै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?