जीवन बीमक संघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

Read Time = 3 mins

काठमाडौं । जीवन बीमक संघले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी बीमा कम्पनीलाई संस्थागत निक्षेपकर्ता समूहबाट हटाउन माग गरेको छ । संघका अध्यक्ष पोषकराज पौडेल नेतृत्वको टोलीले बीमा कम्पनीलाई संस्थागत निक्षेपकर्ताको समूहबाट हटाउन माग गरेको हो । हाल नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्तालाई साधारण निक्षेपकर्ताभन्दा दुई प्रतिशत कम ब्याज दिनुपर्ने व्यवस्था छ । राष्ट्र बैंकको सोही नीतिका कारण जीवन बीमा कम्पनीको आम्दानीमा नकारात्मक प्रभाव पर्दै आएको बीमक संघले जनाएको छ ।

कुल निक्षेपमा जीवन बीमा कम्पनीको हिस्सा करिब चार खर्ब हाराहारी रहेको छ । जीवन बीमा कम्पनीले गाउँ-गाउँमा पुगेर बीमामार्फत् अनौपचारिकरूपमा रहेको अर्थतन्त्रलाई औपचारिक बनाउने भूमिका निर्वाह गरिरहेको भन्दै संघले बीमा गराउँदा प्राप्त हुने कर छुट दायरा पनि बढाउनुपर्ने माग गरेको छ । संघले बीमा गराउँदा दुई लाखसम्म कर छुट सुविधा प्राप्त भएमा बीमाको दायरा पनि बढ्ने र औपचारिक अर्थतन्त्र निर्माणमा पनि सहयोग पुग्ने संघको दाबी छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा बीमा क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै अनौपचारिक अर्थतन्त्र औपचारिक बनाउन र गरिबी न्यूनीकरणमा बीमा कम्पनीहरूले योगदान दिइरहेकोमा धन्यवादसमेत दिनुभयो । बीमा गराउँदा नागरिकको वित्तीय जोखिम हस्तान्तरण हुने र कुनै आपतविपद् पर्दा पैसाको अभावमा थप गरिबीको चक्रमा फस्न नदिने काम बीमा कम्पनीले गरिरहेको उहाँको भनाइ थियो । साथै उहाँले संस्थागत निक्षेपको ब्याजदरमा दुई प्रतिशत कम गरिएको विषयमा आफ्नो टिमसँग छलफल गर्ने आश्वासनसमेत दिएको संघले जनाएको छ । सो अवसरमा संघका निवर्तमान अध्यक्ष निर्मलकाजी श्रेष्ठ, महासचिव प्रकाशबिक्रम खत्री र कोषाध्यक्ष दिनेशलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?