काठमाडौंमा जुत्ता मेला सुरु, स्वदेशी उत्पादन प्रवद्र्धनमा राष्ट्रपतिको जोड

Read Time = 6 mins

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि १६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गरी स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादन वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ ।

उहाँले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्री निर्यात प्रवद्र्धन गर्न सकेमात्रै चुलिँदो व्यापारघाटा सन्तुलनमा ल्याउन सकिने बताउनुभयो । स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन सरकारले ध्यान दिनुपर्ने राष्ट्रपतिको भनाइ छ ।

उहाँले स्वदेशी उत्पादन सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउने, वन पैदावर र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने, तथा पर्यटन प्रवद्र्धन जलविद्युत् खपतमा जोड दिने नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थव्यवस्था बलियो बनाउन सहकार्य गर्नु अति आवश्यक रहेको पनि उहाँले बताउनुभयो । अर्थव्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैं उच्च राख्न अति आवश्यक रहेको र आफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग आवश्यक भएको उहाँको भनाइ छ ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘आजको प्रतिस्पर्धी विश्वमा कतिपय अवसरका ढोका छोटो समयका लागि मात्रै उपलब्ध हुन सक्छन् भने कतिपय अवसरका लागि उत्पादन विविधीकरण एवं उपभोक्ताको रुचिमा निरन्तर ध्यान दिनुपर्छ । नेपाल सरकार र उद्यमीबीचमा पर्याप्त साझेदारी निर्माण भई नेपाली उत्पादनको बजार विस्तार एवं निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्न योे प्रदर्शनी उपयोगी माध्यम हुने मैले विश्वास लिएकी छु । मुलुकभित्र उपलब्ध स्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंकले संशोधन गरेको चालु पुँजी कर्जा मार्गदर्शन स्वागतयोग्य रहेको बताउनुभयो । तथापि उद्योगी व्यवसायीका समस्या चालु पुँजी कर्जा मार्गदर्शनमा केही नीति परिमार्जनले मात्रै अर्थतन्त्रमा देखिएका चुनौती सामान गर्न नसक्ने बताउनुभयो । सरकारले बजारमा देखिएको उच्च बैंकको ब्याजदर कम गर्ने, तरलता सहज बनाउनेलगायतका काम गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष गोल्छाले नयाँ सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न धेरै चुनौती रहेको भन्दै खुला सिमानाबाट अनधिकृतरूपमा भइरहेको आयातका कारण सरकारको राजस्व संकलन लक्ष्यभन्दा तल झरेको र राजस्व संकलन २५ प्रतिशत कमी आउँदा राज्य सञ्चालनमा समेत समस्या भइरहेको बताउनुभयो । नेपालको अर्थतन्त्रमा योगदान गर्ने प्रमुख क्षेत्र जुत्ता चप्पल उद्योग पनि रहेको भन्दै जुत्ता चप्पल क्षेत्रमा आत्मनिर्भर भएकाले आयात गर्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले जुत्ता चप्पल उद्योगका लागि आवश्यक नीति स्पष्ट नभएका कारण समस्यामा परेको बताउनुभयो । भारतीय खुला सिमानाबाट जुत्ता चप्पल नेपाल आउने भएकाले उद्योगी समस्यामा रहेको भन्दै उहाँले सरकारले खुला सिमानाबाट हुने चोरीपैठारी नियन्त्रण गरी राजस्वको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

मेला आयोजक जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता चप्पल उद्योगका लागि नीति तथा कार्यक्रम ल्याए पनि कार्यान्वयन नहुँदा चोरीपैठारी बढेको बताउनुभयो ।

स्वदेशी उत्पादनको बजारीकरण गर्ने र आर्थिक समृद्धिको आधार तयार पार्ने उद्देश्यसहित आयोजित मेलामा कुल एक सय ७० स्टल रहेका छन् भने ४० स्टलमा विदेशी कम्पनीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?