अकुत सम्पत्ति कमाएको अभियोगमा अख्तियारद्वारा पोखरेलविरुद्ध मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धानले गैरकानुनी रूपमा अकुत सम्पत्ति कमाएको अभियोगमा शाखा अधिकृत गणेशप्रसाद पोखरेलविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चाबहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भूमि आयोग, ताहाचलमा कार्यरत छन् ।

पोखरेलले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि आयोगले छानबिन गरेको हो । आयोगका अनुसार पोखरेल २०४६ असार १ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले २०७८ फागुन १५ गतेसम्म सिर्जना गरेको सम्पत्ति, खर्च र लगानीको अध्ययन गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

पोखरेलले कुल तीन करोड ३१ लाख ५५ हजार ६२ बराबरको आयआर्जन गरेको पाइएको छ । घरजग्गा बिक्री, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषबाट लिएको कर्जा आय, घर बहाल आय, बिमा, विदेशबाट पठाएको विप्रेषण, मोटरसाइकल बिक्री, सेयर बिक्री र कृषि आय हिसाब गरिएको छ ।

सोही अवधिमा पोखरेलले चार करोड ३७ लाख ८८ हजार ४०२ बराबरको लगानी गरेको पाइएको छ । आम्दानी र खर्च तथा लगानीमा एक करोड ६ लाख ३३ हजार ३३९ रुपैयाँ बराबरको भागको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ ।

आयोगले गैरकानुनी रूपमा पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेर स्रोत नखुलेको सम्पत्ति विमला न्यौपाने पोखरेलको नाममा समेत लगानी गरेको पाइएको जनाएको छ । न्यौपानेको नाममा जग्गा खरिद, घर निर्माण, सेयर खरिद तथा बैंक खातामा रकम मौज्दात राखेको पाइएकाले स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो जफत गर्न माग गरेको छ ।

आयोगले श्रीमान्, श्रीमती दुवैलाई बिगोअनुसार सम्पत्ति जफत र जरिवानाकोसमेत माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?