नेपालमा विमान दुर्घटनाको दुर्दान्त इतिहास, हालसम्म नौ सय बढीको मृत्यु

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरूमा नेपाल पनि पर्छ । डाँडाकाँडाले घेरेको भूबनोट, मौसम खराबी, विमानको समस्या लगायतका कारण विमान दुर्घटना हुने गरेको छ । नेपालको हवाईक्षेत्र असुरक्षित भएको विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था तथा निकायहरूले बेला-बेलामा प्रतिवेदनहरू सार्वजनिक गरिरहेका छन् । यस्तैमा आइतबार पनि अर्को अकल्पनीय दुर्घटना हुन पुगेको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयराइन्सको विमान आइतबार पोखरा विमानस्थलनजिक सेती खोँचमा दुर्घटनाग्रस्त भएको हो ।

बिहान करिब ११ बजे भएको दुर्घटनामा परी मृत्यु भएका ६८ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । यो समाचार तयार पार्दासम्म बाँकी चार जनाको खोजी भइरहेको छ । नेपालमा हवाई सेवा सुरु भएको ७४ वर्ष पूरा भइसकेको छ । अहिलेसम्म नेपाली आकाशमा १०८ वटा हवाई दुर्घटना भइसकेका छन् जसमध्ये ६५ वटा दुर्घटनामा मानवीय क्षति भएको छ । अहिलेसम्मको तथ्यांकअनुसार नेपालमा नौ सयभन्दा बढीले हवाई दुर्घटनामा ज्यान गुमाएका छन् ।

नेपालमा पहिलो विमान दुर्घटना विसं २०१२ मा भएको थियो । कालिंगा एयरको यो दुर्घटनामा दुई जनाको निधन भएको थियो । त्यस्तै, विसं २०१३ साल जेठ १३ मा अर्को दुर्घटना भयो । इण्डियन एयरलाइन्सको यस विमान दुर्घटनामा १४ जना यात्रीको निधन भएको थियो । त्यसपछि साना-ठूला दुर्घटना थपिँदै गए । यस्तै, विसं २०४८ मा रसुवा जिल्लाको घ्याङफेदीमा थाई एयरवेजको विमान दुर्घटना हुँदा ११३ जनाको मृत्यु भएको थियो । यो पनि हवाई दुर्घटनाको इतिहासमा धेरै मानवीय क्षति हुन पुगेको दुर्घटनाका रूपमा रहेको छ । नेपालको विमान दुर्घटनाको इतिहास केलाउँदा सबैभन्दा ठूलो र बढी मानवीय क्षति भएको दुर्घटना आजभन्दा २९ वर्षअगाडि विसं २०४९ साल असोज महिनाको १२ गते ललितपुरको भट्टेडाँडामा भएको दुर्घटनालाई लिन सकिन्छ । पाकिस्तानबाट नेपाल आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको उक्त विमान दुर्घटनामा ३६ जना नेपाली नागरिकसहित विमानमा सवार सबै १६७ जना यात्रीको दुःखद निधन भएको थियो ।

२०६५ साल असोज २२ गते सोलुखुम्बु जिल्लाको लुक्लामा यती एयरलाइन्सको विमान दुर्घटना भयो । यसमा १८ जना यात्रीको मृत्यु भएको थियो । २०६७ सालको भदौ ८ गते मकवानपुर जिल्लाको शिखरपुरस्थित तोरीबारीमा अग्नि एयरको विमान दुर्घटना हुँदा १४ जना यात्रीको निधन भयो । ०६७ कै मंसिर २९ गते ओखलढुंगामा तारा एयरको विमान दुर्घटना भयो । यसमा २२ जना यात्रीले ज्यान गुमाउनुप¥यो । यस्तै, विमान दुर्घटनाको शृंखला ०६८ असोज ८ गते पनि दोहोरियो । ललितपुरको कोटडाँडामा भएको यस दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, ०६८ सालकै कात्तिक १ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको नेपाली सेनाको विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भयो । २०६९ जेठ १ गते अग्नि एयरको विमान जोमसोममा दुर्घटना भयो । १५ जनाले यसमा ज्यान गुमाए । ०६९ असोज १२ गते सीता एयरको विमान दुर्घटना भक्तपुरको मनोहरा खोला किनारमा भएको र यसमा १९ जनाको निधन भएको थियो । यस अर्थमा त्यो दिनलाई विमान दुर्घटनाको इतिहासमै कालो दिनका रूपमा लिन सकिन्छ । यस्तै, ०७० फागुन ४ मा भएको नेपाल वायु सेवा निगमको विमान दुर्घटनाले नेपालको हवाई यातायातमा अर्को ठूलै चुनौती थपिदियो । अर्घाखाँची जिल्लामा भएको यस दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । ०७२ फागुन १२ गते पनि विमान दुर्घटना भयो । तारा एयरको यो विमान पोखराबाट जोमसोमका लागि उडेको थियो । म्याग्दीमा दुर्घटना भएको यस विमानमा २३ जना यात्रीहरूको निधन भएको थियो । ०७४ फागुन २८ गते नेपाली विमान इतिहासमा सबैभन्दा दुःखद दिनका रूपमा लेखिएको छ ।

बंगलादेशको ढाकाबाट नेपालका लागि आएको युएस बंगला ७३८ एयर क्राफ्ट विमान अवतरणको क्रममा रनवेमा नै दुर्घटनाग्रस्त भयो । विमानमा चालक दलका चार सदस्यसहित ७१ जना यात्री सवार रहेका थिए । जसमध्ये केहीलाई घटनास्थलबाट जीवित नै उद्धार गरिए पनि ५१ जना यात्रीको दुःखद निधन भएको थियो । २०७५ फागुन १५ गते डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङको फुङलिङ नगरपालिका १० को तारेढुंगा भीरमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको थियो ।

२०७९ जेठ १५ गते मुस्ताङको थासाङ गाउँपालिका-२ मा तारा एयरको जहाज दुर्घटना भएको थियो । उक्त दुर्घटनामा तीन सदस्यीय चालक दलसहित २२ जनाको मृत्यु भएको थियो । खराब मौसमका कारण उक्त विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको थियो । पछि उक्त दुर्घटनाको छानबिन गर्नका लागि समिति नै गठन गरिए पनि समितिले घटनाको सात महिना बितिसक्दा पनि छानबिन प्रतिवेदन सरकारलाई बुझाउन सकेको छैन । हालसम्म पनि उक्त दुर्घटनाको वास्तविक कारण पत्ता लाग्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?