प्रदेश १ को लगातार दोस्रो जित

हिमालय टाइम्स
Read Time = 3 mins

इटहरी । इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ ले लगातार दोस्रो जित निकालेको छ । स्थानीय जनता क्रिकेट पार्क क्रिकेट मैदानमा सोमबार भएको खेलमा लुम्बिनी प्रदेशलाई नौ रनले हराउँदै प्रदेश-१ ले लगातार दोस्रो जित हात पारेको हो ।

मैदान ओसिलो भएका कारण खेल निर्धारित समयमा सुरु हुन नसकेपछि नौ ओभरमा छोट्याइएको थियो । ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले पूरै नौ ओभर खेल्दै सात विकेट गुमाएर ५० रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३१ बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सक्नुभएन ।

प्रदेश-१ का लागि संगीता राईले तीन तथा सबनम राई, ज्योति दनुवार र रुबिना क्षेत्रीले एक-एक विकेट लिनुभयो । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले नौ ओभरमा चार विकेट गुमाएर ५९ रन बनाएको थियो ।

प्रदेश-१ का लागि काजल श्रेष्ठले २१, कप्तान रुबिना क्षेत्रीले १७ र अप्सरी बेगमले १२ रन जोड्नुभयो । लुम्बिनीका कृतिका मरासिनी, सरस्वती पुन र विभष्णा बिसीले एक-एक विकेट लिनुभयो । यस जितसँगै प्रदेश-१ ले दुई खेलमा चार अंक जोडेको छ । प्रदेश-१ समूह ‘बी’को शीर्षस्थानमा छ ।

लुम्बिनीको यो पहिलो हार हो । लुम्बिनीले दुई खेलमा दुई अंक जोडेको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता छ । नेपाल क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेता टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०-२० हजार पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?