शैलुन पेशाबाट मनग्य आम्दानी

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 5 mins

गुल्मी । कुनै बेला शैलुन पेशालाई नेपाली समाजमा फरक दृष्टिकोणले हेर्ने गरिन्थ्यो । तर, अहिले समयको परिवर्तनसँगै नेपाली समाजमा पनि शैलुन पेशाप्रतिको हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छ । गुल्मीको तम्घासमा स्थानीय एक दम्पत्ती शैलुन पेशामा हुनुहुन्छ । रेसुङ्गा नगरपालिका-२, धागीथुमका ईन्द्र कुँवर र उहाँकी श्रीमती मोनिका कुँवर अहिले शैलुन पेशामा व्यस्त हुनुहुन्छ । उहाँहरुले तम्घासको क्याम्परोडमा हेयर कटिङ्ग र ब्युटि पार्लर सञ्चालन गरी राम्रो आम्दानी गर्दै आउनुभएको छ ।

इन्द्र कुँवर उमेरले ४७ वर्षको हुनुभयो । घरकोे न्यून आर्थिक अवस्थाका कारण धेरै अध्ययन गर्न पाउनुभएन् । सोही कारण काम खौज्दै आफु भारतसम्म पुगेको उहाँले बताउनुभयो । “सुरुमा भारतको दिल्लीमा पुगें । तर, तत्कालीन समयदेखि नै भारतको मुम्बई व्यापारिक र आर्थिक हिसाबले कहलिएको शहर थियो ।” उहाँले भन्नुभयो, “दिल्लीबाट मुम्बईमा लागें । मुम्बईमै नोकरी गर्न सुरु गरें । सानै देखि शैलुन पेशामा लाग्ने रुचि थियो । मुम्बईमै मैले हेयर कटिङ्ग सिकें । त्यसपछि १२ वर्षसम्म मुम्बईमै शैलुनको काम गरें ।”

“मुम्बईमा भारतीय कलाकारहरुले चलचित्रको छायांङ्कन गर्ने गर्दथे । त्यहाँ काम गर्दा भारतीय नामी-नामी सेलीब्रेटीहरुसँग भेट हुने अवसर पनि मिल्थ्यो ।” उहाँले भन्नुभयो, “शैलुनमा काम गर्ने भएका कारण भारतीय नामीत कलाकारहरु शरत सक्सेना, सलमान खान, गोविन्दा जस्ता ठुला भारतीय अभिनेताहरुसँग भेट भएको थिएँ ।” भारतमा शैलुन काम गरेर १२ वर्ष बिताउँनुभएका कुँवर अन्ततः आफ्नै गाउँ-ठाउँमा काम गर्ने बेग्र इच्छाले स्वदेश फर्किनुभयो । पटक-पटक विदेश जाने सोंच पनि आयो । तर आफ्नै देशमा केही गर्ने हुटहुटीका कारण आफुले विदेश जाने चाहना त्यागेर २०७१ सालमा तम्घासमै शैलुन खोलेको उहाँले बताउनुभयो ।

आफ्नै गाउँ-ठाउँमा शैलुन सञ्चालनका लागि कुँवरलाई ४० वर्षीय उहाँकी श्रीमती मोनिका कुँवरले साथ दिनुभयो । अहिले कुँवर दम्पत्ती ब्युटि पार्लर र हेयरकटिङ्ग पेशामा छन् । “धेरै खर्च पनि नलाग्ने, आफ्नो सीप र दक्षता अरुलाई देखाउन पनि पाइने, साथीभाई र आफन्तहरुसँग भेटघाट गर्न पनि पाइने भएपछि शैलुन पेशामा लाग्नें निर्णय गरें ।” उहाँले भन्नुभयो,-“घरपरिवारको पनि राम्रो सहयोग मिल्यो । यो पेशामा थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।”

सबै खर्च कटाएर मासिक ६०/७० हजार आम्दानी हुने गरेको उहाँले बताउनुभयो । सोही पेशा सञ्चालन गरी आफ्ना छोराछोरीहरुको अध्ययनसँगै परिवारको खर्च चलाएको कुँवरले बताउनुभयो । कुँवर दम्पत्तीका एक छोरा र एक छोरी हुनुहुन्छ । छोरी कक्षा-१२ मा अध्ययनरत हुनुहुन्छ । उहाँले पनि सोही सीप हाँसिल गर्नुभएको छ । छोराले कक्षा-७ मा अध्ययनरत हुनुहुन्छ ।

कुँवर दम्पत्तीले अन्य तीन जनालाई रोजगार समेत दिनुभएको छ । स्थानीय तहसँगको सम्झौतामा ब्युटि पार्लर र हेयर कटिङ्ग सम्बन्धी सीप सिकाउँदै पनि आउनुभएको छ । उनीहरुलाई करिब ४ देखि ६ महिनाको अवधिमा दक्ष बनाएर पठाउने गरेको उहाँले बताउनुभयो । अहिलेसम्म डेढ सय भन्दा धेरैलाई यो सीप सिकाएको बताउनुभयो । जसमध्ये २० जनाले सोही पेशा गरी राम्रो आम्दानी गर्दै आइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । कुँवर नेपाल नाई संघ गुल्मीका उपाध्यक्ष समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?