रैथाने बाली संरक्षण आवश्यक

विनोद दाहाल वत्स
Read Time = 12 mins

हामीले निकै पहिलेदेखि नै नेपाल कृषिप्रधान मुलुक हो भनेर पढ्दै आएका हौँ, हालसम्म पनि नेपालले आफ्नो यो परिचय बदल्न सकेकोे छैन । पाँच-छ दशक पहिलेदेखि अहिलेसम्म पनि विभिन्न तहका पाठ्यपुस्तकमा यस्तै लेखिएको पाइन्छ । औद्योगिक, व्यापारिक तथा अन्य कुनै पहिचान हाम्रो देशले अझै बनाउन सकिरहेको छैन । कृषिप्रधान भनिँदा भनिँदै पनि हाम्रो देशले कृषिमै धेरै उन्नति गर्न सकेको छैन । हामीले दैनिक उपभोग्य खाद्यपदार्थ धेरैजसो बाहिरबाटै ल्याउनुपर्ने बाध्यता छ ।

केही सीमित बालीमाबाहेक हामी आत्मनिर्भर बन्न सकेका छैनौँ । हाम्रोमा बाली विविधीकरण प्रणाली विकसित भएको छैन । तरकारी, आलु, फलफूल, मासु, दलहन, तेलहन, गेडागुडी जस्ता खाद्य पदार्थको त कुरै अलग भयो हाम्रो देशको मेचीदेखि महाकालीसम्मको पहाडी क्षेत्रमा अधिक मात्रामा खेती गरिने कोदामा पनि हामी आत्मनिर्भर बन्न सकिरहेका छनौँ । केही वर्षदेखि नेपालले कोदोसमेत विदेशबाट आयात गर्न थालेको छ । आर्थिक वर्ष २०७५/०७६ मा नेपालले आठ करोडको कोदो आयात गरेको तथ्यबाट यो कुरा पुष्टि हुन्छ ।

हालका दिनहरूमा कोदो यसरी तिरष्कृत हुनुपर्ने बाली होइन भन्ने प्रमाणित हुँदैछ । तेलीय पदार्थरहित अन्न भएको हुँदा यो सबै प्रकारका रोगी बिरामीका लागि लाभदायक हुन्छ । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि पनि यो अझै फाइदाजनक खाद्यान्न हो ।

धानचामल, खसीबोका, तरकारी र फलफूलका तुलनामा त यो कमै मानिएला तर हाम्रो आफ्नै रैथाने खेती भएका कारणले कोदाको आयात स्वाभाविक मान्न सकिँदैन । वास्तवमा कोदो परम्परागत रूपमा धान, मकै र गहुँका तुलनामा तिरष्कारमा परेकै बाली हो । हो देशमा खेती गरिने कतिपय परम्परागत बाली लोप भइसकेका छन् र कतिपय लोपोन्मुख छन् । अब घैया को खेती गर्न छोडिएको छ । हुन त घैया भनेको पनि एक प्रकारको धान नै हो तर यो पानी नलाग्ने पाखो बारीमा फल्थ्यो ।

अब प्रायःजसो जमिनमा सिँचाइको व्यवस्था भइसकेको अवस्थामा घैया खेती गर्न छोडिएको हो । यसैगरी कागुनो, करु जस्ता खेती पनि लोप भइसकेका छन् । जुलेलो कतै-कतै अझै पनि खेती गरिँदै छ तर यो पनि लोपोन्मुख अवस्थामा छ । कोदो र फापरको खेती पनि पहिलेको भन्दा कम हुँदै गएको छ ।

कोदो फापरलाई गरिबको खानेकुराका रूपमा लिने गरिएको छ र यिनलाई कुअन्न मानिन्छ । कतिपय सम्पन्नले त कोदो फापरलाई उच्च र कुलीन वर्गले खान नहुने अन्न पनि मानेका छन् । तर, गरिबीले गर्दा पहाडका आममानिसले कोदामै निर्भर रहनुपरेको यथार्थ छ । यति भएर पनि द्वन्द्व, वैदेशिक रोजगारी, कोदाप्रतिको विकर्षण, मानिसहरूको सुध्रिँदै गएको जीवनस्तर जस्ता कारणले मानिसको कोदाप्रतिको निर्भरता र आकर्षष घट्दै गएको छ । नेपालको समग्र अन्न उत्पादनलाई हेर्दा कोदाको चौथो स्थान छ । धान, मकै र गहुँपछि कोदाको स्थान आउँछ ।

आमकिसानको सोचजस्तै राष्ट्रले उत्पादन गरेका कृषिवैज्ञानिकले पनि अनुसन्धानका लागि कोदाप्रति त्यति रूचि राखेको पाइँदैन । धान, गहुँ र मकैको जसरी यसको बाली विकासको प्रयास गरिएको छैन । यसका विभिन्न हाइब्रिड जातिहरू उन्मोचन गरिएको छैन । यसका केही च्याल्थे, दाँदे, ठूलोकोदो पाङ्दुरजस्ता प्रजातिमात्र छन् । यी विकासे प्रजाति होइनन्, परम्परागत प्रजाति नै हुन् । कतै कतै राम्रो जातको थोरै फल्ने सेतो कोदाको खेती गरिन्छ ।

स्थानीयहरू यसलाई बोलिचालीमा ‘ज्वाइँ कोदो’ भन्ने गर्छन् । यो हेर्दा राम्रो देखिने, चामलकै जस्तो सेतो पीठो हुने र खाँदा पनि मीठो हुने भएकाले ज्वाइँलाई समेत दिन सकिने भएका कारण यसको नाम ज्वाइँ कोदा रहेको हुनसक्छ तर यो अति कम मात्र खेती गरिन्छ । थोरै उत्पादन हुने भएकाले यसको खेती कम गरिएको हुन सक्छ । यीबाहेक कोदाका वैज्ञानिक जातिहरू विकास गरिएको छैन ।

कोदो हेर्दामा पनि कालो र नराम्रो देखिँने हुँदा यसबाट बनेका परिकारहरू पनि कालो र नराम्रो देखिने कारणले यो धेरैको रूचिमा पर्दैन । तर बाध्यताले गर्दा धान मकै र गहुँको खेती नहुने पहाडी भिराला जग्गामा फल्ने कोदो निम्न वर्गीयका लागि प्रमुख खाद्यान्न बन्दै आएको थियो । हालका दिनमा त कोदो खेती हुने ठाउँ कि बाँझै रहेका छन् कि त्यसलाई विस्थापित गरेर ती ठाउँहरूमा तरकारी वा जडिबुटी खेती गर्ने गरिएको छ । कतै पानी पटाउने व्यवस्था मिलाएर कोदो बारीहरूमा समेत धान खेती गर्न थालिएको छ ।

जसले गर्दा कोदाको खेती पहिलेको भन्दा घटेर गएको पाइन्छ । त्यसैले पनि नेपालको प्रमुख बाली भएर पनि विदेशबाट कोदाको आयात गर्नुपेको हुनसक्छ । यो नेपालका लागि विडम्बनाको कुरो हो । गतवर्ष आठ करोडकोमात्र कोदो ल्याइयो, यो सीमित परिमाण हो र साधारण विषय हो भनेर मान्न सकिएला तर यसको परिमाण वर्षेनी बढ्दै जाने हो भने कोदामा मात्र नेपालको ठूलो धनराशि विदेशिनेछ ।

हालका दिनमा कोदो यसरी तिरष्कृत हुनुपर्ने बाली होइन भन्ने प्रमाणित हुँदैछ । तेलीय पदार्थरहित अन्न भएको हुँदा यो सबै प्रकारका रोगी बिरामीका लागि लाभदायक हुन्छ । उच्च रक्तचाप र मधुमेहका बिरामीका लागि यो अझै फाइदाजनक खाद्यान्न हो । तितेफापरको तितोपना, कोदाको फाइबर, सिस्नुको धुलो आदि मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक खाद्य पदार्थ भएको कुरा हाल प्रमाणित भइसकेको छ । व्यायाम कम गर्ने सहरी बासिन्दाले यो कुरा बुझेर हाल गाउँघरबाट झिकाएर कोदो, फापर तथा सिस्नाको उपयोग गर्न थालेका छन् ।

रूखासुखा भिराला जमिनमा सजिलै खेती गर्न सकिने कोदालाई धानलाई जस्तो पानी लगाउनु पर्दैन । कम पानी पर्ने ठाउँमा सजिलो तरिकाले यसको खेती गर्न सकिन्छ । यसमा चामलको जस्तो चिनीजन्य पदार्थ नहुने हुँदा चिनी रोगीहरूका लागि पनि कोदो लाभदायी मानिएको छ । यतिमात्र होइन यसबाट बनेको ढिँडो, रोटी, पुवा जस्ता खानाले लामो समयसम्म तागत दिइरहने भएकाले कामकाजी मानिसहरूलाई यो धेरै उपयोगी अन्न सावित भएको छ । कोदाको नल गाईवस्तुका लागि पोषिलो र दुग्धबद्र्धक हुन्छ । यसलाई लामो समयसम्म भण्डारण गरेर राख्न र वर्षभरि खुवाउन सकिन्छ । त्यसैले सजिलोसँग सञ्चय गरी राख्न सकिने परालजस्तै सुख्खा घाँस मानिन्छ नल ।

कोदो खेतीको विकासका लागि राष्ट्रले नै नेपालको प्रमुखमध्ये एक कोदा बालीको विकास र संरक्षका लागि नीति बनाउनुपर्ने हुन्छ र राष्ट्रले लगानी गरेर उत्पादन गरेका कृषि वैज्ञानिकहरूलाई यसको विकासका लागि निर्देशन गर्नु पनि पर्छ ।

यी विभिन्न कारणले पनि नेपाली कृषिविज्ञको यसतर्फ दृष्टि पुग्नु आवश्यक छ । धान, गहुँ र मकैका विभिन्न वैज्ञानिक जात प्रवद्र्धन गरिएको र धानलाई प्राथमिकतामा राखी वर्षमा एक दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यसैगरी कृषि क्षेत्रका सरोकारवालाहरूले माग गरेबमोजिम असार १५ लाई राष्ट्रिय कोदो दिवस घोषणा गरी कोदाको प्रवद्र्धनमा जोड दिएर यसको संरक्षण गर्नु समय सान्दर्भिक हुनजान्छ । यसका लागि कोदाका विभिन्न वैज्ञानिक जातको विकास गरी उन्मोचन गर्नु आवश्यक छ र कृषकहरूलाई धान, गहुँ र मकै जसरी नै कोदाको कुन जात कुन ठाउँका लागि उपयुक्त हुन्छ त्यसको सिफारिश गर्नुपर्ने हुन्छ ।

यसका लागि राष्ट्रले नै नेपालको प्रमुखमध्ये एक कोदा बालीको विकास र संरक्षका लागि नीति बनाउनुपर्ने हुन्छ र राष्ट्रले लगानी गरेर उत्पादन गरेका कृषि वैज्ञानिकहरूलाई यसको विकासका लागि निर्देशन गर्नुपर्छ । यसैगरी कृषकहरूले सरकारको मात्र भर नपरी आफ्नै किसिमले कोदाको उत्पादन जोड दिनु आवश्यक छ । विकासे बिउमा मात्र भर नपरी आफ्नै स्थानीय बिउ जोगाउने, कोदो खेती हुने जग्गा पहिचान गर्ने लगायत कार्यका लागि किसान पनि सचेत हुनु आवश्यक छ । यी सबैका लागि सबैभन्दा महत्वपूर्ण कुरा कोदो तिरष्कृत अन्न होइन यो बहुउपयोगी र हितकारी छ भन्ने चेतनाको विकास सबैमा हुनु नितान्त आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?