चन्द्रागिरिमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Read Time = 1 min

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डामा ना६ख ६६१५ नंको ट्रकले प्रदेश३–०२–०१प ८२५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ धुनिबेँसी नगरपालिका–९ घर भई हाल चन्द्रागिरि –१ दहचोक बस्ने ४५ वर्षीय राजकुमार सुनारको आज दिउँसो मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते सुनारको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो।

ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार एक र पैदलयात्री एक जना गरी दुई जनाको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

सवारी दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिए पनि ट्रक चालक भने फरार रहेकाले खोजी भइरहेको प्रवक्ता भट्टले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?