हाम्रा सिर्जनाले समाजलाई चेतनशील र रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ : बान्तु

Read Time = 16 mins

सर्जक अमर बान्तुका थुप्रै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । कवि एवं गीतकार अमर बान्तुले ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) काव्य कृति पाठकमाझ ल्याउनुभएको छ भने थुप्रै फुटकर गीत र कविता उहाँका सार्वजनिक भएका छन् । यस्तै, उहाँका ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम श्रोता/दर्शकमाझ आएका छन् भने थुप्रै सिर्जनाका पाण्डुलिपि प्रकाशनको पालो कुरेर बसेका छन् । बुबा लक्ष्मीप्रसाद राई र आमा वृन्दालक्ष्मी राईका सात सन्तानमध्येका काइँला छोरा अमर  भोजपुर दिल्पा नागीं जन्म भई हाल ललितपुर मानभवन बस्दै आउनुभएको छ । साहित्य सिर्जनासँगसँगै सामाजिक कार्यहरूमा पनि आफूलाई सक्रिय बनाउँदै आउनुभएका अमरले गीतकार संघको अक्षयकोष स्थापना गर्नका लागि पन्ध्र लाख रुपैयाँ प्रदान गरेर एक उदाहरणीय कार्य गर्नुभएको छ  । अमरका कार्यहरूलाई श्रीमती भावना राई र एक छोरी अनि एक छोराले साथ दिइरहनुभएको छ । हाम्रा सिर्जनाहरूले समाजलाई चेतनशील बनाउन र समाज रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्दछ भन्नुहुने स्रष्टा अमर बान्तुसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको साहित्य संवादको संक्षिप्त अंश :-

यतिबेला के गर्दै हुनुहुन्छ ?
हिउँदको ऋतु भए पनि यसपाली पुस महिनामा पनि पारिलो घाम लागेको छ । परिवारसँग घाम ताप्यो, सुन्तला, बदाम छोडायो खायो कहिले भोगटेसँगै माया साँधेर दिन्छन् रमाइलो मान्यो खायो । जाडो मौसम भए पनि न्यानो अनुभूत गरेको छु । घामपानीको दुई दिनको जिन्दगीमा एक आपसमा न्यानो बन्नु र न्यानो बाँड्नु त रहेछ नि ।

यहाँको हालै नयाँ गीत ‘कस्तो मिलेको’ सार्वजनिक भएको थियो, कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
आमदर्शक–श्रोताहरूले मन पराइदिनुभएको छ । आखिर एउटा लेखकले दर्शक/श्रोता, पाठकवर्गसँग माया र प्रशंसासिबाय के नै अपेक्षा राख्न सक्छ र ? सबैले मायाले यता कार्यक्रममा बोलाउँछन, उता कार्यक्रममा बोलाउँछन्, खादा लगाइदिन्छन्, प्रशंसा गरिदिन्छन्, दंग प¥यो, बेलुका कहिलेकाहीँ घर फर्कने गाडीभाडा हुँदैन, हिँड्दै फर्कियो आनन्दै लाग्छ ।

अक्सर पात्र या परिवेशसँग हृदयको अन्तरघुलन हुँदा सिर्जना हुन्छ । तर, कहिलेकाहीँ एक्कासी कुनै शब्दमा स्रष्टा गएर अल्झिन पुग्दछ अनि त्यही शब्दमा भावना मिसाउँदा पनि सिर्जना हुन्छन् ।

यो गीत कसरी लेख्नुभयो अर्थात् यो गीतको स्रोत के हो ?
अक्सर पात्र या परिवेशसँग हृदयको अन्तरघुलन हुँदा सिर्जना हुन्छ । तर, कहिलेकाहीँ एक्कासी कुनै शब्दमा स्रष्टा गएर अल्झिन पुग्दछ अनि त्यही शब्दमा भावना मिसाउँदा पनि सिर्जना हुन्छन् । तर, यो गीत भने म एकदिन कतै बरालिरहँदा यस्तो सुन्दर जोडी मेरै अगाडिदेखि रमाउँदै हात समातेर गुज्रिएको देख्दा मेरो मनमा उठेका तरंगहरू नै हुन् यो गीत ।

आफ्ना सिर्जनामा यहाँ कत्तिको कुतर्क गर्नुहुन्छ ?
कसैको उत्तर दियाइबाट होइन प्रश्न गराइबाट उसको वास्तविकता थाहा हुन्छ भने जस्तै यो प्रश्नमा धेरै गुनासा र आग्रहहरू पाउँदछु । आखिर प्रश्नकर्तालाई यस्तो काँडैकाँडावाल प्रश्न सोध्ने वातावरण सायद नेपाली लेखक साहित्यकारहरूले नै सिर्जना गरे कि क्या हो भन्ने भान हुन्छ । किनकि मैले पनि यदाकदा अनुभूत गरेको छु कि लेखक वा स्रष्टालाई मैले जस्तो कसैले लेख्न सक्दैन । मैले सम्पूर्ण नै लेखिसकेँ भन्ने भ्रमले गाँजेको छ र नै कतिपय लेखक स्रष्टामा धेरै दम्भ देखेको छु । होला उहाँले उत्कृष्ट लेख्नुभयो होला त्यसको मतलब यो होइन कि अरूले लेखेका छैनन् । उहिलेदेखि फूल लेखेका लेखेकै छौँ तर न फूलको कोमलता पूर्ण लेख्न सक्यौँ न काँडाको कठोरता मात्र । आफ्नो हैसियत लेख्ने हो । मलाई म सिकारु लेखक हुँ भन्ने राम्ररी थाहा छ । त्यसैले म तर्कवितर्क गर्छु तर कुतर्क गर्दिनँ ।

सामाजिक यथार्थलाई आफ्नो रचनामा कत्तिको ठाउँ दिनुहुन्छ ?
यो प्रश्न फितलो त नभनौँ अलिक कलिलो लाग्यो किनकि सवाल सामाजिक यथार्थलाई सिर्जनामा ठाउँ दिनु नदिनुको होइन । सामाजिक यथार्थ नै रचनाको गर्भ हो । हुन त बीचबीचमा कल्पनामा पनि उड्न सकिन्छ तर कुनै न कुनै परिवेश नदेखी कल्पनाको पनि जन्म हुँदैन ।

साहित्य सिर्जनामा वैचारिक महत्व कत्तिको देख्नुहुन्छ ?
साहित्य सिर्जनामा वैचारिक महत्व सर्पको फँणामा मणि हुनु जस्तै हो । तर, सर्जकले भावनाबिनाको आफ्नो विद्वता र विचार मात्र लेख्यो भने त्यो सिर्जना हुँदैन सामान्य ज्ञानमात्र हुन पुग्दछ ।

यहाँका हालसम्म कति सिर्जना पाठक, श्रोता/दर्शकमाझ आएका छन् ?
जिन्दगी यात्रा रहेछ निरन्तर अगाडि हिँडिरहेको भइन्छ । घरबाट निस्केर हिँड्न थालेपछि बाटामा धेरै खालका सहयात्रीहरू भेटिन्छन् । कोही निरन्तर फटाफट अगाडि बढिरहन्छन् अनि आफ्नो गन्तव्यमा पुगिसकेपछि मात्र आफू छिटो हिँडेछु भनेर थाहा पाउँछन् भने कोही अलिक परसम्म के पुगेका हुन्छन् अल्छीले यति हिँडेछु यति हिँडेनछु यति हिँड्न बाँकी रहेछ भन्दै हिसाब गरेर समय बिताउँछन् अनि क्षितिजको गन्तव्य त होइन पारि गाउँ नपुग्दै बास बस्दछन् । यस्तै म पनि अहिले फटाफट आफ्ना सिर्जनाहरू गर्दैछु । हेरौँ कहिलेसम्म सकिने हो जुन दिन सकिँदैन आनन्दसँग बसेर गन्दै मेरो सिर्जना यति वटा यस्तो यस्तो सिर्जना भएछ भनेर भन्नेछु ।

यहाँले थुप्रै श्रोता/दर्शकमाझ ल्याउनुभएको छ, केही करोड क्लबमा पनि छन्, ‘गर्मी भयो धरान’, ‘सिल्की कपाल उड्यो’, ‘तिम्रो शहर’, ‘हृदयको आवाज’, मार्‍यो सुड्डोले’, ‘काठे भाकैले’, ‘चकमक झुलो दल्छिन ढुंगा...’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् । आफ्ना सिर्जनाले सफलताको उचाइ चुमिरहँदा कस्तो अनुभूति हुने रहेछ ?
समयको डुंगामा चढेर यात्रा गरियो भने धेरै सहयात्रीहरू भेटिँदा रहेछन् भन्ने कुराको बोध भयो ।

यहाँ कसका लागि लेख्नुहुन्छ ?
कुनै पनि घटना परिघटनाप्रति मेरो सहमति विमतिका लागि लेख्छु ।

लेखनका लागि केले प्रेरित गर्दछ ?
समाजका राम्रा, अति राम्रा अनि नराम्रा कुराहरू साथै जीवनमा चुलिएका र खाली भएकाहरूले लेख्न प्रेरित हुन्छु ।

गीत, गजल, कविता लेख्दा कस्ता विषयवस्तु यहाँको छनोटमा पर्ने गर्छन् ?
मेरो लेखनको मुख्य विषयवस्तु जीवनको भोगाइ हो । तर, यो व्यक्तिगत कुरा भएको हुनाले सबैलाई छुन सक्दैन । त्यसैले समसामयिक विषयवस्तुमा लेख्न मन पराउँछु । तर, दरबारमा बस्नेले झुपडीको कथा लेखेको मन पर्दैन ।

गीत, गजल, कवितामा यहाँको कलम सशक्तरूपमा आएको छ । यसबाहेक अन्य क्षेत्रमा लेख्ने विचार गर्नुभएको छ कि लेखिरहनुभएको छ ?
सबैले केही केही कुराको अनुभूत गरिरहेकै हुन्छन् अनि त्यसलाई अभिव्यक्त पनि गर्न चाहन्छन् । अभिव्यक्त गर्ने सबैका आ-आफ्नै शैली हुन्छन् । त्यसैले गीत, गजल, कविता, कथाको जन्म भएको हो । यी सबै अभिव्यक्तिका छोटा विधा हुन् । यदि मनका कुरा धित मर्ने गरी भन्न सकिएन भने लामो विधा आख्यानमा पनि जान सकिन्छ ।

एकल कविता वाचनमा यहाँले जुन रूपमा सशक्तरूपमा आफूलाई प्रस्तुत गर्नुहुन्छ, श्रोता/दर्शकको वाही-वाही बटुल्न सफल हुनुहुन्छ, यसको मुख्य राज केही छ कि ?
लेखक बन्न या छापेर किताब निकाल्न मात्र लेख्ने होइन । हाम्रा सिर्जनाहरूले समाजलाई चेतनशील बनाउन, समाज रूपान्तरण गर्न महŒवपूर्ण भूमिका खेल्न सक्नुपर्दछ । तसर्थ हामी सर्जकहरूले जे जति सिर्जनाहरू गर्छौँ त्यसलाई दर्शक÷श्रोतामाझ पु¥याउन पनि त्यत्तिकै आवश्यक छ भन्ने अभिप्रायले मेरा प्रस्तुतिहरू सशक्त हुन्छन्, जुन दर्शक/ श्रोताहरूले मन पराइदिनुहुन्छ ।

यहाँले गीत, गजल, कविता वाचनमा जुन शिव ताण्डव प्रस्तुत गर्नुहुन्छ, यसको ऊर्जा कहाँबाट प्राप्त गर्नुहुन्छ र कसरी यो सम्भव हुन्छ ?
हामी शिव मार्गी हौँ । कसैले सुम्निमा पारुहाङ पनि भन्छौँ । म नित्य शिव आराधना गर्छु अनि शिव ताण्डव स्तोत्र वाचन पनि गर्छु । यो पूर्र्वीय मन्त्रहरूमा सबैभन्दा लामो र कठिन मन्त्र हो जुन मन्त्र विद्वान् रावणले भगवान् शिवलाई खुशी पार्न रचना गर्नुभएको थियो जुन मन्त्र भगवान् शिवजीले सुन्नुभएपछि प्रसन्न भएर रावणलाई शक्तिशाली बन्ने वरदान दिनुभएको थियो भन्ने भनाइ छ ।

वर्तमानमा नेपाली गीत–संगीतको फाँटमा आइरहेका गीतलाई यहाँ कसरी हेर्नुहुन्छ ?
दर्शक–श्रोताहरूले विभिन्न किसिमका गीत-संगीत र गजलहरूको रसास्वादन गर्न पाएका छन् । जसलाई जस्तो किसिमको स्वादका गीत सुन्न मनपर्छ त्यही स्वादका अंग्र्रेजी गीत नभएर नेपाली गीत नै सुन्न पाएका छन् । त्यसैले नेपाली गीत-संगीतको क्षेत्र व्यापक बन्दै गइरहेको छ । जहाँसम्म स्तरको कुरा छ होलसेल र खुद्रामा त अवश्य केही फरक परिहाल्छ । तर, अधोगतिमा छैन अग्रगतिमा नै अग्रसर छ जस्तो मलाई लाग्दछ ।

नेपाली साहित्यको वर्तमान अवस्थालाई कसरी लिनुहुन्छ ?
काल्पनिकतामा भन्दा वस्तुपरक बन्दै गएको हो कि जस्तो लाग्दछ जुन समाजोपयोगी छन् ।

यस क्षेत्रको अझ समृद्धिका लागि के-कस्ता पहल हुन आवश्यक देख्नुहुन्छ ?
लेखकहरूको बजार लागेको छ अनि बजारमा खुद्रा होइन होलसेलमा पुस्तक पाइन्छ । तर, युरिया मल र विभिन्न किसिमका विषादीयुक्त तरकारीले बजार कब्जा गरे जस्तै पुस्तकले घर कब्जा गरेको छ, पढ्न खोज्दा भेटिँदैन । यो एकैछिनमा हुने कुरा होइन समयले बुझ्दै बुझाउँदै लानेछ ।

कस्ता खालका किताब बढी पढ्नुहुन्छ ?
मैले एउटा अभियान सुरु गरेको छु जति पनि नेपाली लेखकहरू हुनुहुन्छ उहाँहरूको सम्मानस्वरूप एउटा किताब किनिदिने अनि मेरो लाइब्रेरीमा ल्याएर राख्ने समय मिल्दा खुसुक्क झिकेर पढ्ने ।

परिवारबाट तपाईंको लेखनलाई कत्तिको सपोर्ट मिलेको छ ?
पाइरहेको छैन भनौँ भने भरे बेलुकाको हालत के होला पाइ नै रहेको छु ।

लेखनमा आउन लागेका नयाँ लेखकहरूलाई कस्तो सल्लाह दिनुहुन्छ ?
तपाईंको लेखमा संसार अटाउनुहोस् । यदि अटेन भने अवश्य तपाईं आफू तपाईंको परिवार, समाज र राष्ट्र अटाउनुहोस् अनि देशमा आफू होइन आफूमा देश खोज्नुहोस् । कैंची जस्तो टुक्रा-टुक्रा पार्ने होइन फाटेको, काटेको जोड्ने सियो जस्तो बन्नुहोस् ।

अन्त्यमा, सिर्जना या कृति के हो  ?
सिर्जना या कृति आफ्नो प्रतिबिम्ब हो । त्यसैले जहाँ आफू भइँदैन त्यहाँ आफ्नो कृति छ भने आफू विराजमान भइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?