सर्लाहीमा सर्वाधिक ४४.८३ प्रतिशत विद्युत् चुहावट

Read Time = 8 mins

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर ७.४९ प्रतिशतमा झारेको छ । नियमितरूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रण अभियानका कारण गत वर्षको मंसिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत् चुहावट ९.२३ प्रतिशत थियो । गत आव २०७८/०७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत थियो ।

चालु आवको मंसिरसम्ममा वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकोमा तीन अर्ब ८३ करोड ६७ लाख युनिट बिक्री भएको छ भने ३१ करोड सात लाख ७९ हजार युनिट चुहावट भएको छ ।

मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र चुहावट १२.०५ प्रतिशत छ । गत असारसम्ममा समग्र चुहावट १५.३८ प्रतिशत थियो ।

प्राधिकरणले चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावट १४ प्रतिशत र वितरणतर्फको चुहावट ८.५ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको रहेको छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वितरण केन्द्रको मंसिरसम्ममा समग्र चुहावट १२.८० प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा १२.९७ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४४.८३ प्रतिशत विद्युत् चुहावट छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४३.८२ प्रतिशत थियो भने रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत् चुहावट ४०.५५ प्रतिशत रहेको थियो । गत वर्ष सो केन्द्रको चुहावट ७.२२ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३७.८२ प्रतिशत छ । गत वर्ष ३९.८० प्रतिशत थियो भने महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ३७.६१ प्रतिशत रहेकोमा यस वर्ष ३४.५१ प्रतिशत रहेको छ ।

प्रदेश १ प्रादेशिक कार्यालय विराटनगरमा २४ वितरण केन्द्रको मंसिरसम्मको समग्र विद्युत् चुहावट ७.४२ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा चुहावट ९.९४ प्रतिशत थियो । सबैभन्दा बढी विद्युत् चुहावट मोरङको रंगेली वितरण केन्द्रको छ । सो केन्द्रको विद्युत् चुहावट २०.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १५.६० प्रतिशत थियो । बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौंडा मातहतका छ वितरण केन्द्रको अघिल्लो वर्षको मंसिरसम्ममा चार प्रतिशत रहेको चुहावट यस वर्ष सोही अवधिमा ४.५३ प्रतिशत रहेको छ । डिभिजन कार्यालयअन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४.६४ प्रतिशत विद्युत् चुहावट रहेको छ । गत वर्ष त्यस केन्द्रको ३०.१४ प्रतिशत चुहावट थियो ।

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वितरण केन्द्रहरूको चुहावट ५.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७.४७ प्रतिशत थियो । प्रादेशिक कार्यालय काठमाडौं मातहत सिन्धुपाल्चोक केन्द्रको सबैभन्दा बढी २१.३७ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष सो केन्द्रको ३१.९३ प्रतिशत चुहावट थियो ।

गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वितरण केन्द्रको गत वर्षको मंसिरसम्मको समग्र विद्युत् चुहावट ७.९१ प्रतिशत रहेकोमा यस वर्ष ६.४३ प्रतिशत छ । सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको अघिल्लो वर्ष ५.७१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४१.७८ प्रतिशत पुगेको छ ।

लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वितरण केन्द्रको समग्र चुहावट ६.०२ प्रतिशत रहेको छ । गत वर्ष ९.४८ प्रतिशत थियो । सबैभन्दा बढी चुहावट गुल्मी वितरण केन्द्रको १९.७९ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १९.९९ प्रतिशत थियो ।
लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका नौ वितरण केन्द्रको गत वर्षको मंसिरसम्ममा ७.८० प्रतिशत रहेकोमा यस वर्ष ३.९७ प्रतिशत रहेको छ भने सबैभन्दा बढी चुहावट रोल्पा वितरण केन्द्रको १४.९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष सो केन्द्रको चुहावट १९.२९ प्रतिशत थियो ।

कर्णाली प्रादेशिक कार्यालय सुर्खेत मातहतका सात वितरण केन्द्रको समग्र चुहावट १०.५८ प्रतिशत रहेको छ । गत वर्ष १३.३२ प्रतिशत थियो । सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको छ । केन्द्रको चुहावट गत वर्ष २७.१३ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३६.६५ प्रतिशत पुगेको छ ।

सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वितरण केन्द्रको मंसिरसम्मको समग्र चुहावट ५.९८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा चुहावट ५.७६ प्रतिशत थियो । सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको छ । गत वर्ष १९.७७ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २१.९१ प्रतिशत पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?