सातै प्रदेशसभाले पाए नयाँ सभामुख

६ प्रदेशमा पुरुष, कर्णाली प्रदेशसभामा महिलाको नेतृत्व

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभासहित सातै प्रदेशसभाले नयाँ सभामुख पाएका छन् । संघीय निर्वाचन सम्पन्न भएको दुई महिनाभित्र संघदेखि सातै प्रदेशले सभामुख पाएका हुन् । सबैभन्दा ढिलो बिहीबार प्रतिनिधिसभाले सभामुख पाएको छ । प्रतिनिधिसभा सभामुखका सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुहुन्छ । सातै प्रदेशमा यसअघि नै सभामुख निर्वाचित भइसकेका छन् । सबैभन्दा ढिलो गरी सुदूरपश्चिम प्रदेशसभाले गत मंगलबार सभामुख पाएको थियो । संघीय संसद् जस्तै सातै प्रदेशमा सत्ता गठबन्धन दलबाटै सभामुख निर्वाचित भएका छन् । गठबन्धनको भागबण्डाअनुसार सातमध्ये सबैभन्दा धेरै नेकपा (माओवादी केन्द्र)बाट चार, नेकपा (एमाले)बाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एकजना सभामुख निर्वाचित भएका छन् । सातमध्ये ६ प्रदेशमा पुरुष सभामुख छन् भने कर्णाली प्रदेशमा महिला सभामुख हुुनुहुन्छ । यसअघि गत कार्यकालमा सातै प्रदेशमा पुरुष सभामुख थिए । सातै प्रदेशका मुख्यमन्त्रीसमेत पुरुष मात्रै छन् । पुरुषलाई मात्रै मुख्यमन्त्री बनाइएको भन्दै आलोचनासमेत भइरहेको छ ।

माओवादीबाट निर्वाचित चार सभामुख
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा माओवादीबाट निर्वाचित सभामुख छन् । प्रदेश १ मा माओवादीका बाबुराम गौतम, गण्डकीमा कृष्ण धिताल, लुम्बिनीमा तुलाराम घर्ती र सुदूरपश्चिममा भीमबहादुर भण्डारी सभामुख हुनुहुन्छ ।

प्रदेश १ का सभामुख गौतम माओवादी केन्द्रीय सदस्यसमेत हुनुहुन्थ्यो । ओखलढुंगाको लिखु गाउँपालिका-८ घर भइ ओखलढुंगा १(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित गौतम निर्विरोध निर्वाचित हुनुभएको हो । ४९ वर्षीय गौतम प्रदेश सभामुखमा निर्विरोध निर्वाचत हुनुभएको थियो । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको उहाँ पहिलोपटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । गोरखाका कृष्ण धिताल गण्डकी प्रदेशसभाका सभामुख हुनुहुन्छ । उहाँ गोरखा-१ (१)बाट निर्वाचित हुनुभएको थियो । विसं २०५२ सालबाटै पूर्णकालीन भएर नेकपा माओवादीमा लाग्नुभएका धितालको परिवार नै युद्धमा होमिएको थियो । पार्टीको केन्द्रीय सदस्यसमेत रहनुभएका उहाँ दोस्रो संविधानसभा सदस्य पनि हुनुहुन्थ्यो । रोल्पामा जन्मिनुभएका तुलाराम घर्ती लुम्बिनी प्रदेशसभाका सभामुख हुनुहुन्छ । पाल्पा-२ (२)बाट निर्वाचित मगर माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत हुनुहुन्छ । २०५३ सालदेखि माओवादी युद्धमा लाग्नुभएका मगर राजनीति गर्नुअघि कपिलवस्तुको एक विद्यालयमा प्रधानाध्यापक हुुनुहुन्थ्यो । सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा भीमबहादुर भण्डारी हुनुहुन्छ । २०३८ साल जेठ ८ गते बझाङको केदारस्यु गाउँपालिका-१ मा जन्मिनुभएका भण्डारी २०५८ सालतिर तत्कालीन माओवादी युद्धमा आबद्ध हुनुभएको थियो । भण्डारीले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँले एमालेबाट राजनीति सुरु गर्नुभएको थियो । उहाँ बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

एमालेका दुई सभामुख
दुई प्रदेशमा एमालेबाट निर्वाचित सभामुख छन् । मधेश प्रदेशमा रामचन्द्र मण्डल र कर्णाली प्रदेशमा नन्दा गुरुङ सभामुख हुनुहुन्छ । मण्डल पहिलो कार्यकालमा माओवादीबाट निर्वाचित हुनुभएको थियो । मण्डल नेकपा विभाजन हुँदा एमालेतिर लाग्नुभएको थियो । धनुषा–१ (२)बाट निर्वाचित मण्डल माओवादीको जनयुद्धकालमा भूमिगतसमेत हुनुभएको थियो । कर्णालीमा पहिलो महिला सभामुख बन्नुभएकी गुरुङ एमाले प्रदेश कमिटीकी सदस्य हुनुहुन्छ । दैलेखमा जन्मिनुभएकी गुरुङ हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी बासिन्दा हुनुहुन्छ । गुरुङले २०४६ अघि अनेरास्ववियु छैटौँमा आबद्ध भएर राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । उहाँले स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ ।

राप्रपाका एक मात्रै सभामुख
सातमध्ये बागमती प्रदेशमा राप्रपा सांसद भुवन पाठक सभामुख हुनुहुन्छ । सत्ता गठबन्धनको सहयोगमा सभामुख बन्नुभएका पाठक नुवाकोटबाट समानुपातिकमा निर्वाचित हुुनुभएको थियो । लामो समयदेखि राजनीतिमा सक्रिय पाठकले बहुदल स्थापनापछि राप्रपाबाट पार्टी राजनीति सुरु गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?