एकसाता नपुग्दै फेरियो श्रममन्त्री अर्यालको बोली

बेरोजगारी अन्त्यको आश्वासन दिए पनि आफैँ वैदेशिक रोजगारीको ठगीमा संलग्न

यज्ञराज पाण्डे
Read Time = 11 mins

काठमाडौं । ‘बाध्यताले नभई चाहेर मात्र विदेश जाने अवस्था सिर्जना गर्ने मेरो लक्ष्य हो,’ पदभार ग्रहण गरेपछि दिएको अभिव्यक्ति थियो यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालको । उहाँले गत मंगलबार पदभार ग्रहण गर्दै नेपालमै रोजगारी सिर्जना गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीको बाध्यताले विवश नेपाली जनतामा उहाँको प्रतिबद्धताबाट अलिकति भए पनि आशा पलाएको थियो ।

त्यति मात्रै होइन नेपालीहरूको विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने लक्ष्य उहाँले पदभार ग्रहणमा सुनाउनुभएको थियो । त्यसका लागि नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । स्वदेशमा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्ने उहाँको भनाइ थियो ।

तर, उक्त प्रतिबद्धता जनाउनुभएका मन्त्री अर्यालको बोली एकसाता नपुग्दै फेरिएको छ । अहिले उहाँ आफ्नो भनाइलाई नै पूरै परिवर्तन गरेर वैदेशिक रोजगारीलाई रोक्न असम्भव भएको निष्कर्षमा पुग्नुभएको छ । अहिले उहाँको भनाइ छ, ‘विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव छ ।’ शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९औँ वार्षिक साधारणसभामा बोल्दै श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीलाई रोक्न असम्भव रहेको भन्दै यसलाई सुरक्षित, मर्यादित, व्यवस्थित तथा पारस्परिक बनाउनुपर्ने बताउनुभएको हो । त्यति मात्र होइन सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने मन्त्री अर्यालको भनाइ थियो ।

त्यसो त सीपबिना वैदेशिक रोजगारीमा जाने अवस्थालाई परिवर्तन गर्दै प्राप्त ज्ञान सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने मन्त्री अर्यालको भनाइ छ । ‘विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारीलाई रोक्न असम्भव भए पनि यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक छ,’ उहाँ भन्नुहुन्छ, ‘सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्दै बाध्यात्मक वैदेशिक रोजगारीको वर्तमान यथार्थलाई सुखद तस्बिरमा बदल्न प्रयास गर्ने विषयमा मेरो कार्यकाल समर्पित हुने विश्वास दिलाउँछु । वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको छ ।’

नियुक्त भएदेखि नै विवादमा
त्यसो त मन्त्री अर्याल मन्त्री पदमा नियुक्त भएदेखि नै विवादमा तानिनुभएको छ । स्वार्थ बाझिने मन्त्रालयमा मन्त्री अर्यालको नियुक्ति भएको भन्दै चर्को आलोचनासमेत भइरहेको छ । म्यानपावर व्यवसायमा संलग्न उहाँले श्रमिकको हितमा काम गर्न नसक्ने भन्दै विरोध र आलोचना भइरहेको छ ।

मन्त्री अर्याल इन्टरनेसनल मार्केटिङ डाइरेक्टर रहेको सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिले ठगी गरेको भन्दै क्षतिपूर्तिका लागि वैदेशिक रोजगार विभागमा उजुरी परेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मनालाल महतासहित सात जनाले मलेसियामा रोजगारीमा जाँदा ठगिएको भन्दै सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्ध क्षतिपूर्तिका लागि उजुरी गरेका थिए ।
तर, विभागबाट समयमै सुनुवाइ नभएपछि उनीहरू काठमाडौं धाउन छाडेका थिए । विभागका एक अधिकारीका अनुसार ३० कात्तिक २०७१ मा दर्ता भएको सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिसविरुद्धको उजुरी अहिले पनि तामेलीमा छ । तामेलीमा भए पनि उजुरीमाथि अनुसन्धान गर्न बाटो बन्द भएको छैन । उजुरीकर्ताले आवश्यक प्रमाणसहित सम्पर्क गरेमा छानबिन अघि बढ्ने विभागले बताएको छ ।

चर्को आलोचनापछि मन्त्री अर्यालको नाम नै हटाइयो वेबसाइटबाट
त्यसो त मन्त्री आफू वैदेशिक रोजगार व्यवसायी नरहेको अर्यालको जिकिर छ । आफू त्यसरी संलग्न भएको पाइए कारबाही भोग्ने अभिव्यक्तिसमेत दिनुभएको छ ।

तर, उता सृष्टि ओभरसिज इम्प्लोइमेन्ट सर्भिस प्रालिको वेबसाइटमा बिहीबारसम्म अर्यालको नाम अन्तर्राष्ट्रिय बजार निर्देशकका रूपमा थियो । म्यानपावर व्यवसायीलाई मन्त्री बनाएको र यसमा स्वार्थ बाझिने कुरा व्यापक भएपछि उक्त साइड दिउँसो बन्द गरियो । त्यहाँ भएका अर्यालका नाम र तस्बिर हटाइयो । पुनः खुलाइयो । तर, मन्त्री अर्यालले भने त्यो कुरालाई ‘त्यहाँका साथीहरूले सल्लाहकारका रूपमा राखिदिएको’ प्रस्टीकरण दिनुभएको छ । तर, त्यही कम्पनीका एक सञ्चालकका अनुसार मन्त्री अर्यालले अन्तर्राष्ट्रिय बजार निर्देशकका हैसियतमा थुप्रै देशमा डिल गर्दै आएको जनाइएको छ ।

जापान बसेर फर्किएको, भाषा र सम्पर्कसमेत भएको कारण उहाँले मुख्यतः जापानको रोजगारी ‘ह्याण्डिल’ गर्नुभएको थियो । ती सञ्चालकका अनुसार अर्यालले जापानबाट ‘जिट्को’ मार्फत श्रमिक विदेश लैजान एजेन्टसँग सम्पर्क र समन्वय गर्नुहुन्थ्यो । तर, सृष्टिबाट कामदार लिने जापानको कम्पनीले बढी शुल्क उठाएको भन्दै जापान सरकारले कामदार लैजान प्रतिबन्ध लगाएपछि सृष्टिले जिट्को अन्तर्गत कामदार पठाउन बन्द गरिएको थियो ।

अर्यालले ‘डिल’ गरेर कामदार पठाउने सृष्टि म्यानपावरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरीसमेत परेको पाइएको छ । विभागका अधिकारीका अनुसार, पीडित सम्पर्कमा नआएकाले यसलाई तामेलीमै राखिएको छ । पीडित प्रमाणसहित आएमा अनुसन्धान अघि बढ्ने विभागका एक पूर्वमहानिर्देशक बताउनुहुन्छ । ‘तामेली च्याप्टर क्लोज होइन । उजुरीकर्ता प्रणाणसहित जहिल्यै आएमा प्रक्रिया अघि बढ्छ’, ती पूर्वमहानिर्देशकले बताउनुभयो । विभागका अनुसार पछिल्लो समयमा कम्पनीको सञ्चालक लक्ष्मण कोइराला र लेखनाथ भण्डारी छन् ।
म्यानपावर कम्पनीमा लगानी नभएको मन्त्री अर्यालको दाबी
दर्जनौँ कम्पनीका सञ्चालक भएको श्रममन्त्री आर्याल आफैँले समेत फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ । तर, म्यानपावर कम्पनीमा भने लगानी नभएको उहाँको दाबी छ । मन्त्री अर्यालले विभिन्न कम्पनीको कन्सल्टेन्ट भएर काम गर्ने गरेको वैदेशिक रोजगार व्यवसायी बताउँछन् ।

साथीहरूको संलग्नतामा धेरै क्षेत्रमा हात हालेको मन्त्री अर्यालले बताउनुभएको हो । ‘देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरैथोरै संलग्नता भएकाले मेरो स्वार्थ नबाझिने त कुनै क्षेत्र नै छैन’, मन्त्री अर्याल भन्नुहुन्छ, ‘एक्लै कुनै व्यवसायमा लगानी गर्ने मेरो आर्थिक हैसियत हिजो पनि थिएन र अझै पनि छैन ।’

अर्यालले कृषि, ट्राभल, सहकारी, उद्योग, रेमिट्यान्स, एजुकेसन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस कम्पनी, होटल व्यवसाय, ट्रेकिङ कम्पनी, क्याटरिङ कम्पनीमा लगानी भएको बताउनुभएको छ । ‘म्यानपावर कम्पनीमा म कहिल्यै पनि छैन । साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर ‘इन्टरनेसनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाइदिन भुले,’ अर्याल भन्नुहुन्छ, ‘तर त्यो वा कुनै म्यानपावर कम्पनीमा न मेरो लगानी छ, न संलग्नता, न सेयर न स्यालरी ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?