आधा बाटाको दुःखान्त यात्रा

हिमालय टाइम्स
Read Time = 13 mins

✍️ अनिल नेपाली

यदि जिन्दगी खोलाजस्तै भइदिए बग्दैबग्दै सागरमा पुगेर आफ्ना सारा पीडाहरू समाहित गरिदिन्थे अनि दुई दिन भए पनि खुला आकाशमा बादलझै यो जिन्दगीलाई चङ्गाजस्तै छोडिदिन्थे । उनले त त्यसो पनि गर्न सकेनन् । किनकि, मनुष्य जीवन विश्रान्तिको अन्तिम सागर केवल मृत्युवरण रहेछ । मर्न पटक–पटक प्रयास गरे तर सकेनन् । मर्न धेरै गाह्रो रहेछ क्यारे तर छाडेर जानेहरूको सम्झनामा मर्नभन्दा तड्पिएर बाँच्न लाखगुणा बढी गाह्रो हुँदोरहेछ । आज पनि उनी छोडी जानेहरूको सम्झनामा तड्पिरहेको जिन्दगीलाई मृत्युको सागरतर्फ घिसारेर बाँचिरहेका छन् ।

आँसुको खोलामा आफूलाई बगाइरहेका छन् । पिडैपिडाले भरिएको जिन्दगी बोकेर समयको जाँतोमा पिसिँदै जीवनको क्षितिजपारि महाविश्रान्तिको सागरतर्फ सुस्तरी लम्किरहेका छन् । कहिले सम्हाल्नै नसकिने खुशी नै खुशी त कहिले सम्हाल्नै नसकिने पिडैपिडाले भरिएको, कहिले हाँसो नै हाँसोले शृङ्गारिएको त कहिले आँसु नै आँसुले रुझेको उनको जिन्दगी, कहिले सबथोक पाएर त कहिले नियतिको भुँमरीले सबथोक उजाडउजाड पारेको, कहिले जिन्दगीलाई जितेको त कहिले जिन्दगीदेखि यतिधेरै हारेको, अनि यो संसारमा दुई दिन बाँच्न जुन दैवले उनको भाग्य लेख्न जाँगर चलायो कुन्नि त्यही दैवले सारा खुसीहरू नरसंहार पारेको कहालिलाग्दो उनको जिन्दगीको सत्य कथा मैले यसरी लेखेँ ।

उनको नाम रामकृष्ण बर्देवा हो । विसं २०४२ साल साउन २९ गते काभ्रे जिल्लाको तत्काल ज्याम्दी गाविस वडा नं. ९ मेलडाँडामा बुबा प्रेमकुमार बर्देवा र आमा पूर्णकुमारीको कोखबाट उनको जन्म भयो । दोस्रो सन्तानको रूपमा जन्मिएका उनको एक दिदी र एक भाइ छन् । बुबाआमा गरी जम्मा पाँचजनाको उनको खुशी परिवार थियो । दिदी कमला रामकृष्णभन्दा १० वर्ष जेठो हुनुहुन्छ । दिदी जन्मेको १० वर्षसम्म अरू सन्तान नभएपछि उनका बुबाआमा धेरै चिन्तित भएर विभिन्न मन्दिरमा धाउनु भएछ ।

रामकृष्ण १६ वर्षको र लक्ष्मीमात्र १५ वर्षकी । न त रामकृष्ण दिनभरि हलो जोत्न सक्थे न त लक्ष्मी दिनभरि खन्न सक्थिन् । दुवैजना अरूको जस्तो दिनभरि काम गर्न सक्दैनथे । रामकृष्ण-लक्ष्मीले निक्कै दुःख पाए पनि दुवैले हरेश खाएनन् ।

अन्ततः दोलखा जिल्लामा पर्ने दूध पोखरीमा गएर सन्तान भाकेपछि रामकृष्णको जन्म भएको रे । उनी जन्मिएको सात वर्षपछि उनको भाइ रामशरणको पनि जन्म भयो । त्यसपछि रामकृष्णलाई पढ्नका लागि स्थानीय श्री वागदेवी माध्यामिक विद्यालयमा भर्ना गरियो । उनी नियमित स्कुल जान थाले । पढ्दै गए । बढ्दै गए । उनको माइलो ठूलोबुबाको जेठो छोरा रामको सिन्धुपाल्चोकको चौतारामा विवाह भएको थियो । राम दाइ र भाउजूले उनलाई असाध्यै माया गर्नुहुन्थ्यो रे । भाउजूको तीन भाइ र एकमात्र बहिनी थिइन् लक्ष्मी । उनी लक्ष्मीजस्तै साह्रै राम्री थिइन् । गुणवती थिइन् ।

त्यस बेला रामकृष्ण कक्षा तीन मा पढ्थे । लक्ष्मी पनि दिदीलाई भेट्न ज्याम्दी गाउँमा आइरहन्थिन् । रामकृष्ण र लक्ष्मी खोइ कसरी साथी बन्न पुगे । उनीहरू असाध्यै मिल्ने साथी भए । बालापनमा उनीहरूको जोडी पनि असाध्यै मिल्ने रे देख्नेहरूले भन्थे । माया थियो या थिएन भाग्यमा थियो या थिएन थाहा थिएन तर उनीहरूको साथीको नाता गहिरो भएर गयो । यो देखेर रामकृष्णको बुबा र लक्ष्मीको बुबाले अनायासै दुवैको विवाह गरिदिने सल्लाह गर्नुभएछ । साथी के हो ? प्रेम के हो ? विवाह के हो ? जीवन के हो ? इत्यादि बुझ्ने चेतनाको विकास नै भइसकेको थिएन । तर, अमूर्तरूपी प्रेमको संयोगबाट गर्भधारण भएको अङ्कुराउँदो मित्रताको कोपिला अनायासै विवाहरूपी जञ्जिरले जुनीभर कसेर राख्ने पो भयो दुवैलाई ।

उनका बुबाले साँझबिहान एकान्तमा फकाउँदै भन्न थाल्नुभयो ‘छोरा दिदीको पनि विवाह भयो । घरमा काम गर्ने कोही छैन अब तेरो विवाह गर्नुपर्‍यो । रामकृष्ण छाँगाबाट खसेजस्तै भए । उनी जममा १४ वर्षको बालक थिए । यो उनको हाँस्ने खेल्ने पढ्ने र बढ्ने उमेर विवाहको बारे उनी केही सोच्न सक्दैनथे । उनले बुबाको प्रस्तावलाई ठाडै प्रतिकार गरे ।

अन्ततः उनी हारे । बुबाले जित्नुभयो । ‘विवाह गरेर पनि त पढ्न सकिन्छ’ उनका बुबाले बारम्बार फकाउँदै भन्नुहुन्थ्यो, ‘बुहारीले घरको काम गर्छे त पढ्न जान भइहाल्छ नि’ बुबाले बारम्बार सम्झाउन छाड्नुभएन । आफ्नो विवाहको प्रस्तावलाई रामकृष्णले बारम्बार अस्वीकार गरिरहे । मानेनन् तर उनको माइलो बुबाको छोरा रामदाइ र रामकृष्णको बुबा बिहेको कुरा छिन्न सिन्धुपाल्चोक चौतारास्थित लक्ष्मीको घरमा जानुभयो र बिहेको कुरा छिनेर फर्कनुभयो ।

आखिर जिन्दगी बुझ्न खोज्दाखोज्दै सकिँदो रहेछ । यदि जन्मेको छैटौं दिनमा ईश्वरले लेखिदिएको भाग्य मेटेर चाहेजस्तो आफ्नो भाग्य आफैँ लेख्न मिल्ने भए उनीमात्र होइन संसारका सबै मानिसहरू आफ्नो भाग्य आफूले चाहेजस्तो लेख्ने थिए । अँहँ नसकिने । ईश्वरले जे लेखिदियो त्यही स्वीकार्नुपर्ने । रामकृष्णले पनि विवश भएर त्यही स्वीकारे जुन उनको भाग्यमा लेखिएको थियो । उनी १४ वर्षको हुँदा विसं २०५६ साल वैशाख ११ गते परम्परागत रूपमा लक्ष्मीसँग विवाह भयो । उनी हाँस्ने, रमाउने, पढ्ने, बढ्ने उमेरमा विवाह बन्धनमा बाँधिए । रामकृष्ण र लक्ष्मी केवल साथी थिए । अब दुवैजना सधैँका साथी भए । राष्ट्रकवि घिमिरेले लेखेजस्तै, रामकृष्णको बिहे गर्नुअघि बुबाले भनेझैँ लक्ष्मीले घरको काम गर्न थालिन् । उनी स्कुल पढ्न गइरहे । राम्रोसँग उनको घरव्यवहार चलिरहेको थियो । थाहै नपाई रामकृष्ण–लक्ष्मीको बिहे भएको एक वर्ष पूरा भयो ।

अब त्यस घरमा सासू-बुहारीको सानातिना कुरामा विवाद सुरु हुन थाल्यो । ती सानातिना विवादले बारम्बार झगडाको रूप लिन थाल्यो । घर अशान्त हुँदै गयो । १५ वर्षको बालक रामकृष्ण केही गर्न सक्दैनथे । आमा पनि आफ्नै श्रीमती पनि आफ्नै मनभरि क्वाँ क्वाँ रुनबाहेक अरू केही गर्न सक्दिनथे । लक्ष्मी घर छाडेर माइतीमा बस्न गइन् । त्यसपछि रामकृष्ण मानसिक तनावको भुँमरीमा होमिए । भित्रभित्र चिन्ताले जल्न थाले । स्कुल जान छाडिदिए । कलिलो उनको मष्तिष्कमा चिन्तैचिन्ताको आँधीहुरी चल्न थाल्यो । केही समयपछि बुबाले लक्ष्मीलाई घरमा लिएर आइज भनेर रामकृष्णलाई ससुराली पठाउनुभयो । उनी लक्ष्मीलाई लिन चौतारा गए ।

उनले श्रीमतीलाई धेरै सम्झाए फकाए तर श्रीमति घर आउन मानिनन् । बरू घरमा जानुपर्छ भने बुबालाई लिएर आउनु भनेर खाली हात फर्काइन् । घर आएर उनले सबै कुरा बुबालाई भने । ‘ठिकै छ म गएर मेरी बुहारीलाई घर लिएर आउँछु ।’ उनका बुबा यति भनेर भोलिपल्ट बिहानै चौतारा गए तर छोराबुहारीलाई भिन्नै राखिदिने सर्तमा बुहारी लिएर घर फर्किए । भोलिपल्टैदेखि रामकृष्ण-लक्ष्मी भिन्नै बस्न थाले । श्रीमतीको नाताले बाँधेको एउटी बालिकालाई लिएर एउटा बालक बाआमाको न्यानो काखबाट सधैँका लागि यस धरतीमा पछारिए । हाँस्ने, खेल्ने, पढ्ने उमेरमा बाआमाको चुलोबाट सधैँका लागि घटे उनी । मूल घरबाट अब उनी सधैँका लागि विरानो हुने भए ।

रामकृष्ण–लक्ष्मीलाई दुई छाक खान पनि निक्कै धौधौ पर्न थाल्यो । उनीहरूलाई छिमेकमा कसैले विश्वास गर्दैनथे । ऐँचोपैँचो कसैले दिँदैनथे । महिनौं ढिडो र गुन्द्रुक पनि मुस्किलले खान पाउँथे उनीहरू । रामकृष्ण १६ वर्षको र लक्ष्मीमात्र १५ वर्षकी । न त रामकृष्ण दिनभरि हलो जोत्न सक्थे न त लक्ष्मी दिनभरि खन्न सक्थिन् । दुवैजना अरूको जस्तो दिनभरि काम गर्न सक्दैनथे । रामकृष्ण-लक्ष्मीले निक्कै दुःख पाए पनि दुवैले हरेश खाएनन् । हिम्मत हारेनन् । दुवैले मेलापात गरेर अन्न जम्मा गर्न थाले । खेतबारीमा दुःख गर्न थाले । थोरै पैसा र अन्नमा दिनभरि दुवैजना अरूको काम गर्थे । लक्ष्मी धेरै मिहिनेत गर्थिन् । उनको मिहिनेत देखेर मैले हरेश खाएको थिइन् ।

रामकृष्ण पलपल दुःखमा लक्ष्मीको साथ पाएर म खुशी थिएँ । तर गाउँमा जति दुःख गरेपनि दुःखले लखेट्न छाडेन । अन्ततः लक्ष्मीलाई गाउँमै छाडेर रामकृष्णले काठमाडौं जाने निधो गरे । लक्ष्मीले पनि उनलाई काठमाडौं जान सल्लाह दिइन् । अनि दुःखैदुःखका बीच आफ्नी बालिका श्रीमतीलाई गाउँमा एक्लै छाडेर सुखी जिन्दगीको मिठो सपना आँखाभरि बोक्दै रामकृष्ण काठमाडौं छिरे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?