संघर्षशील प्रेम प्रसादको आत्मदाहले उब्जिएका प्रश्न !

सामाजिक सञ्जालमार्फत साझा गरेका भनाइ देशको वास्तविक अवस्था

हिमालय टाइम्स
Read Time = 24 mins

चिन्तन क्षेत्री/हिटा
काठमाडौं । मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गर्नुभएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा बुधबार बिहान निधन भयो । इलाम सुर्योदय-११ केराबारी स्थायी घर हुनुभएका ३६ वर्षीय आचार्यले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गर्नुभएको थियो । उहाँको तत्कालै उद्दार गरी कीर्तिपुरमा रहेको बर्न अस्पताल पुर्‍याइए पनि ज्यान जोगिन भने सकेन । अस्पतालका डा. किरण नकर्मीले ८० प्रतिशत शरीर जलिसकेकाले क्रिटिकल अवस्थामा ज्यान जोगाउन नसकिएको बताउनुभयो ।

नेपालमा यसअघि पनि छिटफुट आत्मदाहका घटना घटेका छन् । तर, संघीय संसद् भवनअगाडि प्रधानमन्त्रीको सवारीका बेला घटेको यो घटनाले धेरै प्रश्न उब्जाएको छ । प्रेमले देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराशा व्यक्त गरेको पाइन्छ । उहाँले आफ्ना निराशा मात्रै सार्वजनिक गर्नुभएको छैन राज्यमाथि र राज्यका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूमाथि प्रश्नसमेत उठाउनुभएको छ । आचार्यले उठाएका प्रश्नमा देशको वास्तविक अवस्था देखिन्छ ।

अत्यासलाग्दो आर्थिक संकट !
प्रेमले आफू निकै आर्थिक संकटमा परेकाले यस्तो कदम चाल्न बाध्य भएको उहाँको फेसबुक स्टाटसबाट बुझ्न सकिन्छ । धेरै हण्डर खाँदाखाँदै मन सम्हाल्न नसकेको, आर्थिक भार थाम्न नसकेर पटकपटक आत्महत्याको प्रयास गरेको उहाँले उल्लेख गर्नुभएको छ । उहाँले आत्मदाह गर्नुअघि फेसबुकमा लेख्नुभएको छ, ‘बाँच्ने सबै उपाय लाउँदा पनि केही भएन, आशा सबै मरिसकेको हुनाले मर्ने नै बाचा गरेँ । मलाई माफ गर्नुहोला । कोही मनकारी/सहृदयीजनहरू हुनुहुन्छ भने मेरो ऋण तिर्न मेरी श्रीमतीलाई सहयोग गर्दिनुहोला । उनले पनि मेरै बाटो समाउन बेर छैन, हाम्रा दुई छोरीहरू टुहुरा हुनेछन् ।’

व्यवसायीले लुटे, राज्यले साथ दिएन
ठूलै आर्थिक संकटमा परेको बताउने आचार्यले आफूले धेरैपटक विभिन्न व्यवसाय गर्न सुरुवात गरे पनि राज्य आतंकले घाटा मात्रै भएको बताउनुभएको छ । सुरुमा ट्राभल एजेन्सी खोलेर विदेशी नागरिक र विभिन्न कलेजका विद्यार्थीहरूलाई ग्राहक बनाए पनि कहिले पैसा नदिने दिए पनि पूरा नदिने गरेको गुनासो गर्नुभएको छ । ट्राभल एजेन्सी घाटामा गएपछि काठमाडौंमा भएको घर जग्गासमेत बेचेर आफू विदेश पलाएन भएको उहाँले बताउनुभएको छ ।

करिब तीन वर्ष कतारमा काम गरेपछि ऋण तिरेर स्वदेश फर्किएको आचार्यको भनाइ छ । कतारबाट फर्केपछि इलाममा सूर्योदय एग्रो इन्डस्ट्रिज एण्ड फार्म हाउस खोलेर व्यवसाय गर्दा व्यवसायी र राज्यबाटै ठगिएको गुनासो उहाँले गर्नुभएको छ । प्रदेश नम्बर १ सरकारले दिने अनुदानका लागि पटकपटक आफूले आवेदन दिँदा पनि नपाएको बरु एउटै व्यक्ति (आफ्नै वडाको जनप्रतिनिधिले) पटकपटक पाएको गुनासो उहाँको सुसाइड नोटमा छ । उहाँले भन्नुभएको छ, ‘प्रदेश नम्बर १ सरकारलाई चारपटक अनुदानका लागि निवेदन दिएँ । सर्टलिष्ट भए पनि कहिल्यै अनुदान पाइएन । अनुगमनमा आउनेले राम्रो गर्नुभएको छ । राम्रो छ भने तर कहिल्यै अनुदान पाइएन । बरु मेरै नजिक रहेको सूर्योदय-११ का तत्कालीन वडाध्यक्ष टेकबहादुर राईको डेरीले तीन लाख १० लाख गरी दुई वर्षमा लगातार अनुदान पायो । उनकै साङ्पाङ बंगुर फार्मले २५ लाख अनुदान पायो । साङ्ला टी स्टेटले एकै वर्षमा २०/२५ लाख अनुदान पायो ।

भाटभटेनी, बिगमार्ट लगायतका डिलर र मार्टहरूले पनि सामान उठाएर पैसा नदिएको विभिन्न बहानामा ठगेको उहाँले बताउनुभएको छ । यति मात्रै होइन व्यवसायीहरूबाट पनि आफूले धोखा पाएको भन्दै उनीहरूको नाम नै उहाँले सार्वजनिक गर्नुभएको छ । उहाँले डा. उपेन्द्र महतो, डा. समता प्रसादले नेपाल ग्रामो उद्योग कम्पनीलाई प्रकृति ब्राण्ड बनाएर घ्यु दिए पनि पैसा नदिएको गुनासो गर्नुभएको छ । सुरुमा राम्रोसँग काम भए पनि पछि धोका दिएको उहाँको सुसाइड नोटमा भनिएको छ । उहाँले भाटभटेनीका मीनबहादुर गुरुङको नाम पनि उल्लेख गर्नुभएको छ । उहाँ फेसबुकमा लेख्नुहुन्छ, ‘मलाई ३० प्रतिशत मार्जिन दिनुपर्ने त्यो पनि उधारोमा ! तीन महिनासम्म पैसा नदिने त्यसपछि पनि विभिन्न बहानामा दुःख दिने ।’ यस्तै, बिगमार्टले समेत पाँच/सात लाखको सामान अर्डर गर्दा एक डेढ लाख मात्रै दिने गरेको उहाँले गुनासो पोख्नुभएको छ । यस्तै, पवन गोल्यानको गोल्यान एग्रोले ११० कार्टुन घ्यु अर्डर गरेको तर तयार भएर दिँदा अर्डर क्यान्सिल गरेको गुनासो उहाँको छ । यसैगरी साथी मार्टका सागर पोखरेलले पनि सामान उठाएर पछि फिर्ता गरेको आचार्यले लेख्नुभएको छ । अनिल बस्नेतको मेट्रो तरकारी डट कम र नेप एक्सप्रेस युएई र डाबर नेपालले पनि आफूलाई अहिलेसम्म पैसा नदिएको उहाँले उल्लेख गर्नुभएको छ ।

राजनीतिमा हाम फाले, रवीन्द्रहरूले धोका दिए !
व्यवसाय मात्रै होइन केही परिवर्तनका आशामा राजनीतिमा समेत आफू सामेल भएको तर नेतृत्वबाटै धोका पाएको उहाँले उल्लेख गर्नुभएको छ । रवीन्द्र मिश्र, सूर्यराज आचार्य, मुमाराम खनाल, केशव दाहाल, मिलन पाण्डे, महेन्द्र थापा, भीमप्रसाद अधिकारी, निर्देश सिलवाल, समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियारले महत्वाकांक्षी युवाको भावनासँग खेलबाड गरेको उहाँले आफ्नो भनाइमा आरोप लगाउनुभएको छ । मिश्रलगायत नेताहरू विवेकशीलबाट राप्रपामा गएकोतर्फ संकेत गर्दै उहाँले भन्नुभएको छ, ‘तपाईंहरू एकीकृत हुनै नसक्ने, पार्टी चलाउनै नसक्ने भए किन यो देशका मजस्ता सयौँ युवालाई राजनीतिमा लगाउनुभयो ? किन समय र पैसा बर्बाद गरिदिनुभयो ? यो देशमा सपना बाँड्ने, आश्वासन बाँड्ने अनि त्यसैलाई आफ्नो गरिखाने साधन बनाउनेको जमात ठूलो रहेछ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग पनि उहाँको गुनासो छ । उहाँले भन्नुभएको छ, ‘प्रचण्ड तिमीले १७ हजार मार्ने गरी जनयुद्ध गर्‍यौ । देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्यायौ । संविधानसभामार्फत देशमा नयाँ संविधान जारी गर्‍यौ तर मजस्ता केही गर्छु भन्ने युवालाई देशमा केही गर्नै नसक्ने बनायौ । तिमीलाई थाहा छ ? यदि युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापानजस्ता देशहरूले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहने छैन । तिम्रो देश खाली हुनेछ । अनि रित्तो देशको प्रधानमन्त्री बन्नु । र, ती १७ हजार शहीदलाई शासन गरेर बस्नु ।’

उहाँले रवि लामिछाने, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाही, सोविता गौतम, गगन थापा, विश्वप्रकाश शर्मा, योगेश भट्टराई, तोसिमा कार्कीको नाम लिएरै र संसद्का नयाँ अनुहारलाई लक्षित गर्दै ‘सरकार बनाउने, मन्त्री हुने मात्र प्रतिस्पर्धा होइन, कसैले नदेखेको, जनतालाई पिल्साएको मुद्दाहरू आँखा च्यातेर केलाउनुहोस्, समाधान गर्नुहोस् ।’, भन्दै याचनासमेत गर्नुभएको छ ।

सरकारलाई २५ बुँदे सुझाव
आचार्यले आफ्ना समस्या र पीडा मात्रै पोख्नुभएको छैन सरकारलाई समेत सुझाव दिएर मनन गर्न आग्रह गर्नुभएको छ । उहाँले कर प्रणालीमा सुधारदेखि कक्षा ६ बाटै अनिवार्य उद्यमशीलताका लागि आग्रह गर्नुभएको छ । राष्ट्रिय उत्पादनमा भ्याट शून्य गर्नुपर्ने माग राख्दै आयातित वस्तुमा २० प्रतिशत कर लगाउन आचार्यले आग्रह गर्नुभएको छ । जसले गर्दा स्थानीय उत्पादनले बजार पाउने र नव उद्यमीहरूको विकासमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

उहाँले बायर पे फष्र्ट नीति लागू गर्दै उधारो बजारको अन्त्य गर्न पनि आग्रह गर्नुभएको छ । जसका कारण नयाँ र साना उद्यमीहरूलाई राहत पुग्ने उहाँको भनाइ छ ।

भाटभटेनी, बिगमार्ट, डाबर नेपाल जस्ता व्यापारिक घरानालाई डनको संज्ञा दिँदै उहाँले ती क्षेत्रलाई निमयन गर्न र स्थानीय उत्पादकलाई राहत दिन पनि आग्रह गर्नुभएको छ ।

‘हायर द प्रोफट, लोअर द ट्याक्स रेट’ कर नीति लागू गर्न आग्रह गर्दै उहाँले ‘ल्याण्ड लिजिङ’ को पनि माग गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘जग्गा जमिन पुस्तौँसम्म हस्तान्तरण गरिने हुँदा जनताहरू अल्छे भएका छन् । एक जमिनको स्वामित्व एक व्यक्तिलाई ५० वर्षसम्म मात्रै देऊ ।’

उत्पादनशील गाउँको जग्गा र अनुत्पादक सहरको जग्गाको वर्गीकरण र मानक एउटै हुनुपर्ने माग पनि उहाँले गर्नुभएको छ । बैंकिङ मोर्टेज भ्यालुएसन प्रणाली परिवर्तन गर्न आग्रह गर्दै आचार्यले सहरका अनुपात्पादक जग्गाले जति नै भ्यालुएसन गाउँका उत्पादक जग्गाले पनि पाओस भन्नुभएको छ ।

यस्तै, सबै बहालका घरलाई करको दायरामा ल्याउन पनि उहाँले आग्रह गर्नुभएको छ । १० हजार तलब खाने कर्मचारीले एक प्रतिशत टिडिएस तिर्नुपर्ने तर एक लाख बढी भाडा असुल गर्ने बहाल मालिकले शून्य कर भन्दै उनले प्रश्न गर्नुभएको छ ।

बिगमार्ट, भाटभटेनी, पतञ्जली, डाबर नेपाल, युनिलिभर जस्ता ठूला व्यापारी घरानाले नेपालको बजार कब्जा गरेकोले नियमन गर्नुपर्ने, दर्ता नगरी खुलेका अनलाइन पसलहरू बन्द गर्नुपर्ने वा उनीहरूलाई पनि करको दायरामा ल्याउनुपर्ने उहाँले आफ्नो लामो सुसाइड नोटमा माग गर्नुभएको छ । उहाँले वैदेशिक रोजगारमा अफिसियल भिसामा जान चाहनेलाई श्रम स्वीकृतिको लफडामा नपार्न पनि आग्रह गर्नुभएको छ ।

यस्तै, अनुदान र सब्सिडी प्रणालीको सबै पुरानो फाइल निकालेर छानबिन गर्न आग्रह गर्दै उहाँले अनुदानका नाममा ठूलो रकम भ्रष्टाचार भएको जिकिर गर्नुभएको छ । अलैँची, चिया लगायतका नेपाल ब्राण्डलाई नेपालमा नै बेच्न पाउने वातावरण सिर्जना गर्न पनि सरकारलाई उहाँले माग गर्नुभएको छ ।

गाँजा र त्यसको बोटबाट बन्ने सामानको माग विश्वमा धेरै रहेकाले गाँजा खेतीलाई वैधानिकता दिन पनि उहाँले सरकारसँग आग्रह गर्नुभएको छ । यस्तै, शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातमा निजीकरण बन्द गर्नुपर्ने उहाँको माग छ ।

भ्रष्टाचार न्यूनीकरणका लागि सरकारी कर्मचारी, शिक्षकलाई घर पायक जागिर दिनुपर्ने नभए अनिवार्य आवास सुविधा उपलब्ध गराउनुपर्ने उहाँको माग छ । सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर्दै कम कबोल गर्नेलाई नभई वैज्ञानिक र आधुनिक विकास अवधारणा लिएर आउनेलाई ठेक्का दिने प्रणालीको विकास गर्न उहाँको सुझाव छ ।

भ्रष्टाचार, जघन्य अपराध हत्या र बलात्कार जस्ता घटनामा अपराधीलाई मृत्युदण्डसम्मको सजायको व्यवस्था गर्न, जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई परिचयपत्र मार्फत मात्र आरक्षण प्रदान गर्नुपर्ने उहाँले आग्रह गर्नुभएको छ ।

भारतसँगको खुला सिमाना अन्त्य गर्न आग्रह गर्दै उहाँले आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर्न पनि उहाँको माग छ । बचत तथा ऋण सहकारी र माइक्रो फाइनान्सले देशको ६० प्रतिशत पैसा परिचालन गरिरहेको उल्लेख गर्दै उहाँले सहकारीको अवधारणा कृषि सरकारी, उद्योग सहकारीको अवस्थामा मात्रै लागू गर्न आग्रह गर्नुभएको छ । विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने उपभोक्ताबाट उठाउँदै आएको २५ प्रतिशत रकम उठाउन बन्द गर्न पनि उहाँले सुझाव दिनुभएको छ ।

यस्तै, कक्षा ६ बाट नै उद्यमशीलता विषयलाई अनिवार्य गर्नुपर्ने, सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप्रतिनिधि/सांसद/मन्त्री/प्रधानमन्त्री सबैका छोराछोरीलाई अनिवार्य सरकारी/सामुदायिक स्कुल/कलेजमा पढाउनुपर्ने नियम तत्काल लागू गर्न उहाँको आग्रह छ । त्यस्तै, बैंक ऋणको ब्याजदर ७५ भन्दा कहिल्यै मािथ नउठ्ने गरी सीमित गर्नुपर्ने उहाँले माग गर्नुभएको छ ।

सरकारले छानबिन गर्ने
आत्मदाहअघि आचार्यले उठाएका विषयहरूलाई सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेको हो । सोको जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ ।

गृहमन्त्री रवि लामिछानेले आचार्यले उठाएका विषयहरूको अध्ययन गरी सत्य बाहिर आएपछि आवश्यक कदम चाल्ने निर्णय भएको बताउनुभयो ।

आचार्यले उठाउनुभएका मागको छानबिन हुन्छ : गृहमन्त्री लामिछाने
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मंगलबार संसद् भवनअगाडि आत्मदाह गर्नुभएका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेर सहानुभूति प्रकट गर्नुभएको छ । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा आत्मदाह प्रयास गरेर उपचारका क्रममा कीर्तिपुरमा मृत्यु हुनुुभएका उहाँका परिवारलाई भेट्न बुधबार कीर्तिपुर अस्पताल पुग्नुभएका उहाँले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरूबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताउनुभयो । उहाँले अहिले चलिरहेको राजनीति र प्रशासनिक कुराहरूमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशलाई केही गरौँ भन्ने मनशायबाट आएको बताउनुभयो । उहाँले मृतक आचार्यले उठाउनुभएका मागका बारेमा यथेष्ट छानबिन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आफूबाट भएका कमी कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्नसक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन ।’

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिक ऋण सरकारबाट तिरिदिन आग्रह गर्नुभयो । उहाँले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँले देशका लागि केही गरौँ भनेर भन्नुभयो, तर अब बच्चाहरूको भविष्य के हुने हो ? मैले कसरी गर्ने, मेरा छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्, मैले सक्ने रोजगारी पनि दिनु, म यो आर्थिक उहाँले तिर्ने कतितिर छ यो सक्दिनँ राज्यले यसमा सहयोग गरोस् । यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले भर्न नै कति लाख खर्च भयो ।’
उहाँले कोहीले १५ पटक अनुदान पाउँदा आफूले भने फारम भर्नसमेत लाखौँ खर्च गर्नुपरेको बताउनुभयो । गृहमन्त्रीले मृतकका आफन्तलाई भेटेसँगै आफन्तहरूले शव बुझेका थिए ।

युवाहरूको प्रदर्शन
आत्मदाह गर्नुभएका आचार्यको न्यायका लागि भन्दै काठमाडौंमा प्रदर्शन भएको छ । आचार्यले उठाएका २५ बुँदे माग पूरा गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारसँग प्रदर्शनकारीले माग गरेका छन् । काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीले ‘यो देश हो कि बधशाला ?, अर्को जल्दो शरीर मेरो नहोस्’, ‘उद्यमशील नेपाल नारा मात्रै हो सरकार ?, ठूला व्यापारी कसको आश्रयमा, प्रेमप्रसाद आचार्यको परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हो सरकार ?, यो आत्महत्या होइन हत्या हो’ जस्ता नारासहितको पम्लेट बोकेका थिए ।
विभिन्न व्यवसाय गर्न खोज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेको र आफूले काम गरेको ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको भन्दै सामाजिक सञ्जालमा लामो ‘सुसाइट नोट’ लेखी आत्मदाह गर्नुभएका आचार्यलाई न्याय मिल्नुपर्ने माग गर्दै युवाहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनमा लेखक, पत्रकार, विद्यार्थीलगायत विभिन्न पेसामा आबद्ध रहेका युवाहरूको सहभागिता थियो ।

सामाजिक सञ्जालमा आक्रोश र सहानुभूति
नयाँ बानेश्वर संसद् भवनअगाडि आफैंमाथि आगो लगाएर आत्मदाह प्रयास गर्नुभएका आचार्यको मृत्युपछि सामाजिक सञ्जालमा धेरैले सहानुभूति व्यक्त गर्दै सरकारप्रति आक्रोश पोखेको छन् । सरकारका मन्त्रीदेखि सर्वसाधारण र विभिन्न तहमा रहेका व्यक्तिहरूले समाजिक सञ्जलामा आ-आफ्ना भनाइ राखेका छन् । कलाकार, राजनीतिक व्यक्ति, पत्रकार तथा विभिन्न क्षेत्र र पेसामा आबद्ध व्यक्तिहरूले यसरी आ-आफ्ना भनाइ राखेका हुन् । विदेशबाट पनि धेरै नेपाली नागरिकले आचार्यप्रति साहनुभूति व्यक्त गर्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?