नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित

पार्टी संगठन लथालिंग, भ्रातृसंगठन भताभुंग

अनिल क्षेत्री
Read Time = 11 mins

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । योसहित कांग्रेसले केन्द्रीय समिति बैठक लगातार तेस्रोपटक स्थगित गरेको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै माघ १५ गतेका लागि तय गरिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ । बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन । मंसिर ४ गते सम्पन्न आमचुनावको समीक्षा, समसामयिक राजनीति र विविध विषय केन्द्रीय समिति बैठकको एजेण्डा तय गरिएको थियो । पुस २२ गतेका लागि बोलाएको बैठक पटक-पटक सर्दै आएको थियो । कांग्रेसले यसअघि पुस २८ मा केन्द्रीय समिति बैठक राखे पनि स्थगित गरेर माघ १५ का लागि सारेको थियो । त्यसअघि कांग्रेसले पुस २२ मा केन्द्रीय समिति बैठक बोलाएकोमा स्थगित गरेको थियो ।

नेताहरूले राष्ट्रपति निर्वाचनअघि अब कांग्रेस बैठक बस्ने सम्भावना नरहेको बताएका छन् । आफ्नै नेतृत्वको गठबन्धन भत्किएपछि राज्यका शासकीय संवैधानिक पदहरूमा शून्य भएको कांग्रेस आलोचनाको घेरामा छ । कतिपय नेताहरूले पार्टी सभापति शेरबहादुर देउवा केन्द्रीय समिति फेस गर्न डराएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको विषयमा पनि कांग्रेसभित्र मतभेद छ । अर्कोतिर, गठबन्धन जोगाउन नसकेको आरोप सभापति शेरबहादुर देउवामाथि छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिनेजस्तो महत्वपूर्ण निर्णय केन्द्रीय समिति बैठकबाट गरेको छैन । केन्द्रीय कार्यसम्पादन र विधानले नचिन्ने पदाधिकारी बैठकबाट महत्वपूर्ण निर्णय हुँदै आएकामा केन्द्रीय सदस्यहरूले सभापतिलगायत पदाधिकारीको आलोचना गर्दै आएका छन् । कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छ ।

नेताहरूका अनुसार सभापति शेरबहादुर देउवा राष्ट्रपति निर्वाचन अगाडि बैठक राख्ने पक्षमा नभएको कारण बैठक स्थगित भएको हो । सभापति देउवा राष्ट्रपतिको निर्वाचन नहुँदासम्म बैठक गर्न नचाहनुको कारण सत्ता गठबन्धन जोगाउन नसकेको अपजस खेप्नुपर्ने, माओवादी अध्यक्ष प्रचण्डलाई नचिढ्याउने र राष्ट्रपति निर्वाचन पनि प्रभावित हुनसक्ने भय रहेको नेताहरूको जिकिर छ । १० पुसमा आफू नेतृत्वको गठबन्धन छोड्नुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको समर्थनमा सरकार बनाउनुभएको थियो । त्यसको दुई दिनपछि कांग्रेसले निर्वाचनको समीक्षा र समसामयिक राजनीतिक सन्दर्भबारे छलफल गर्न २२ पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । तर, बैठकको मिति नजिकिँदै गर्दा शीर्ष नेताहरू प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन लाइनमा उभिए । त्यही कारण सभापति देउवाले केन्द्रीय समिति २८ गतेलाई सारेर संसदीय दल र कार्यसम्पादन समितिको बैठक बोलाउनुभयो । त्यसयता पनि सभापति देउवाले पटक-पटक कहिले पदाधिकारी त कहिले पूर्वपदाधिकारी समेतको बैठक राख्नुभएको छ ।

राष्ट्रपतिको निर्वाचन पार्टीको पक्षमा पार्न एकताबद्ध बनाएर लैजाने मनस्थितिमा रहनुभएका सभापति देउवाले अहिले केन्द्रीय समिति बैठक बस्दा आरोप प्रत्यारोप हुनसक्ने सम्भावना रहेकाले पटक-पटक केन्द्रीय समिति बैठक स्थगित गर्नुभएको संस्थापन पक्षका कतिपय नेताहरूको भनाइ छ । कांग्रेसको विधानअनुसार हरेक दुई/दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने हो । पछिल्लोपटक २७ असारदेखि २ साउनसम्म केन्द्रीय समिति बैठक बसेको थियो । ५ भदौमा प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पास गर्न अर्को बैठक बस्यो । त्यसयता केन्द्रीय कार्यसमितिको बैठक बसेको छैन ।

६ महिनामा गठन हुनुपर्ने विभागहरू अझै अलपत्र
कांग्रेस सभापति शेरबहादुर देउवाले दोस्रोपटक पार्टीको नेतृत्व सम्हाल्नुभएको १३ महिना पुगेको छ । देउवाले केन्द्रीय कार्यसमितिमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूसँगै २०७८ पुस १० गते पार्टी कार्यालय सानेपामा आयोजित समारोहमा केन्द्रीय निर्वाचन समितिबाट विजयी भएको प्रमाणपत्र बुझ्नुभएको थियो । दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएको १३ महिना पूरा हुँदा पनि देउवाले पार्टीमा गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिन सुरुवातसम्म गर्नुभएको छैन । विधानअनुसार यो काम महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गरिसक्नुपर्ने हो । १३औँ महाधिवेशनबाट पहिलोपटक सभापतिमा निर्वाचित हुँदा पनि देउवाले कार्यकाल समाप्त हुँदा मात्रै विभागहरू गठन गर्नुभएको थियो । १४औँ महाधिवेशनमा संशोधन गरिएको विधानअनुसार विभागको संख्या ४३ बाट घटाएर २८ र गठन गर्नुपर्ने समयावधि दुई महिनाबाट बढाएर ६ महिना बनाइएको छ । तर, पनि विधानले तोकेको समयावधि समाप्त भएको ६ महिना नाघिसक्दा पनि सभापति देउवाले विभाग गठन गरिसक्नुको सट्टा चासोसमेत देखाउनुभएको छैन । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले विभाग गठन गर्न ढिलाइ भएको स्वीकार गर्दै भन्नुभयो, ‘ढिलो भयो । विभिन्न कारणहरूले ढिलाइ भयो । अब हामी विलम्ब नगरी छिट्टै विभाग गठन गर्छौं । भ्रातृ संगठनहरूलाई पूर्णताका विषयमा छलफल भइरहेको छ । यो सकेपछि विभागहरू गठन हुन्छन् ।’

कांग्रेसका प्रत्येक विभागमा बढीमा ५१ जना सदस्य रहने व्यवस्था छ । विधानले केन्द्रीय सभापतिलाई विभागका प्रमुख, उपप्रमुख, एकजना सचिव र सदस्यहरूको नियुक्ति गर्ने अधिकार प्रत्यायोजन गरेको छ । विभागका उपप्रमुख, सचिव सदस्यमा मनोनयन हुन कांग्रेसको क्रियाशील सदस्य हुनुपर्छ भने प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्यलाई दिने गरिन्छ । विधानअनुसार गठन भएका चार समिति केन्द्रीय कार्यसम्पादन समिति, संसदीय समिति, अनुशासन समिति र केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान पनि अधुरा छन् । सभापति देउवाले गत २०७८ माघ १४ गते केन्द्रीय कार्यसमितिको ‘भर्चुअल’ बैठक बोलाएर केन्द्रीय कार्यसम्पादन समिति गठन गर्नुभएको थियो । देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति चयन भएको १३ महिना पुगिसक्दा पनि कांग्रेसले केन्द्रीय कोषाध्यक्ष पाउन सकेको छैन ।

राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई मत दिनुपर्छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको जिकिर गर्दै महामन्त्री थापाले भन्नुभयो, ‘संविधान र निर्वाचन कानुन बाझिएकाले समय धकेल्ने प्रयास भइरहेको छ । तर, राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ । यो बेलामा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारलाई जिताउन प्रयास गर्छ ।’ पार्टीले राष्ट्रपतिको उम्मेदवारबारे केही दिनभित्र निर्णय गर्ने जानकारी दिँदै महामन्त्री थापाले भन्नुभयो, ‘खासगरी नेकपा माओवादी केन्द्रले कांग्रेसको उम्मेदवारलाई मत हाल्ने अपेक्षा हाम्रो हो, किनभने पुष्पकमल दाहाल गोरखाबाट जितेर आउँदै गर्दा त्यहाँ कांग्रेसको मत परेको छ । म काठमाडौंमा विजयी हुँदा त्यहाँ माओवादीको मत परेको छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिनुपर्छ । त्यसो भयो भने राजनीतिमा सन्तुलन हुन्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?