डोजर आतंक मच्चाएको भन्दै काठमाडौं महानगरविरुद्ध प्रदर्शन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित भएका छन् । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले आइतबार माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले ‘डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन’ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

बालेन अत्याचारी र निरंकुश शासक भएर निस्किए : सायमी
उक्त प्रदर्शनलाई सम्बोधन गर्दै सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले बालेन साह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आरोप लगाउनुभयो । मेयर साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको सायमीले आरोप लगाउनुभयो । ‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन् । पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौं’ उहाँले भन्नुभयोे, ‘अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ । डोजर लिएर आएको छ । आक्रमण गरेको छ, लुट्दै बसेको छ । यो लुटतन्त्र हामी सहदनौं ।’

मेयर साहलाई सच्चिन आग्रह गर्दै सायमीले नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको बताउनुभयो । सायमीले भन्नुभयो, ‘यदि उहाँ सच्चिनुभएन भने सच्याउने अधिकार हामीसँग छ । जनताले त्यहाँ पु¥याएको भन्ने महसुस गर्नुपर्‍यो । जनचाहना विपरीत गएपछि त्यहाँबाट ओराल्ने अधिकार जनतासँग छ ।’ महानगरबासीको करबाट महानगर चलिरहेको भन्दै उहाँले दुख दिने हो भने कर पनि नतिर्ने चेतावनी दिनुभयो । ‘महानगरपालिका चलाउन महानगरबासीले ट्याक्स तिरेका छौं । हामीलाई सुविधा दिएन भने हामी ट्याक्स पनि तिर्दैनौं’ सायमीले भन्नुभयो ।

यो देशमा गरिब पनि छन् भन्ने महसुस गर्न आग्रह गर्दै सायमीले डोजर आतंक बन्द गर्न मेयर बालेनलाई आग्रह गर्नुभएको छ । निजी सम्पत्तिमा डोजर प्रयोग गर्दा कानुनी र संवैधानिक अधिकार सुनिश्चित गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?