सर्भर हृयाकको प्रभाव

हिमालय टाइम्स
Read Time = 6 mins

वर्तमान समय विज्ञान र प्रविधिको समय हो । अहिलेको समयसम्म आइपुग्दा संसारले प्रविधिमा राम्रै फड्को मारेको छ । साँच्चै भन्ने हो भने अब प्रविधिबाट अलग रहेर कोही बाँच्नै सक्दैन । विज्ञानलाई गाली गर्नेहरूले पनि विज्ञानकै सहारा लिनुपर्ने हुन्छ । मानिसका जीवन पद्धतिका हरेक कार्यहरू विज्ञान र पद्धतिसँगै जोडिएका छन् । सामान्यभन्दा सामान्यदेखि ठूला-ठूला औद्योगिक क्षेत्रमा समेत प्रविधिकै प्रयोग भएको हुन्छ । अब त प्रविधिमा चुस्त र दुरुस्त भएर लाग्न सकिएन भने जीवन चल्नै मुस्किल हुने देखिन आएको छ । प्रविधि मानिसलाई उसले गर्नुपर्ने कामलाई सजिलो बनाउन विकास भएको हो, समस्यामा पार्नका लागि होइन । तर, हामी प्रविधिमा पोख्त बन्न नसक्नाले प्रविधिसँग डराएर पन्छिने गर्दै आएका छौं ।

यसो गर्नाले हामीलाई विकसित बन्दै गएको विज्ञान प्रविधिबाट टाढा रहुनुपर्ने हुन्छ जसका कारण हाम्रो जीवनगति नै पछाडि पर्न जान्छ । अब त बैंकहरूले क्यासलेस सेवा दिन थालेका छन् भने पसल बजारहरूमा पनि यस्तै व्यवहार हुन थालेको छ । क्रेडिट कार्ड डेबिड कार्ड तथा बैंकहरूमा एटीएमको प्रयोगले व्यापकता पाएको छ । आफ्नो खातामा पैसा राखेको र झिकेको सन्देश घरैमा बसेर पाउने गरिन्छ । यस्ता अनेकौं काम प्रविधिबाट लिने गर्दै आएका छौं । तर, प्रविधिका खराबी वा कमजोरी छन् र त्यस्तै कारणले गर्दा कहिलेकाहीँ अप्ठ्यारोमा पर्ने गरिएको छ । शनिबार भएको सरकारी सर्भर डाउन हुँदा सेवाहरू प्रभाविता भएको घटना यस्तैमध्येको एक हो ।

व्यक्तिका निजी खाताहरू हृयाक गरेर रकम झिकेर लाने, फेसबुक आइडी हृयाक गरेर उसका निकटका मानिसबाट पैसा मागेर लिने गरेका जस्ता अनेकौं घटना हुँदै आएका थिए । यस्तामध्ये केही पक्राउ पर्ने र कतिपय हृयाकरहरू पक्राउसमेत नपर्ने गर्दै आएका छन् । पक्राउ पर्नेहरू पनि सबै कारबाहीमा पर्दैनन् । कडाइ गर्न नसक्दा व्यक्तिको हृयाकरले लुटेको पैसा फिर्ता हुन नसकेका धेरै सन्दर्भ सुनिँदै आएको छ । अरू देशका ठूला–ठूला हृयाकिङका घटना समाचारमा सुनिन्थ्यो । पछिपछि हाम्रो देशले पनि प्रविधिको पहुँच बढाउँदै लान थाले पनि र सेवा दिने ठाउँहरूमा परम्परागत सेवाका कार्यलाई विस्तारै प्रविधिले विस्थापित गर्दै लगेपछि यससम्बन्धी समस्या देखापर्दै आएका थिए ।

यसमध्येको एउटा चिनियाँ हृयाकरले नेपालका बैंकहरूका एटीएम हृयाक गरी ठूलो परिणामको रकम झिक्न सफल बनको उदाहरण छ तर अन्ततः तिनीहरू भाग्न भने पाएनन्, पक्राउ परे । शनिबारको सर्भर डाउन भएर सेवा प्रभावित भएको घटना एउटा त्यस्तै सन्दर्भ हो ।

यसलाई सर्भरमा हृयाकरको प्रवेश भएको रूपमा मानिएको छ । शनिबार नेपालको सरकारी सेवा क्षेत्र बिदा हुने दिन भएका कारण सेवाग्राहीका लागि दिइने सेवा प्रभावित त भएन तर दिनरात निरन्तर सेवा प्रवाह गरिरख्नुपर्ने ठाउँमा यसको सिधा प्रभाव पर्न गयो । सबैभन्दा बढी हवाई उडान प्रभावित भयो । दुई घण्ठासम्म उडान अवरुद्ध भयो । त्यसबाट धेरैतिर अप्ठ्यारो भयो ।

यात्रीहरू आन्दोलित हुनपुगे । आफू समयमै आफ्नो गन्तव्य पुग्न नपाएको र आफूले गर्नुपर्ने काम समयमै सम्पन्न हुन नपाएको आक्रोस् तिनमा थियो । त्यसपछि उपकरणबाट नभएर मानिसद्वारा सेवा सुचारु गर्नुपरेको सम्बद्ध अधिकारीले बताएका छन् । यसबाट कहिलेकाहीँ यस्तो प्रकारको समस्या पनि आइपर्दो रहेछ भन्ने शिक्षा लिएर त्यसका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता देखिन आयो । हुन त यस्ता घटना विदेशतिर पनि हुनेगरेका छन् तर त्यहाँ तिनले हामीभन्दा बढी विज्ञता राख्ने गरेका कारण तुरुन्त समाधान गर्न सक्छन् । हामीले विज्ञहरूको विज्ञता ऐन मौकामा प्रयोग गरी यस्ता समस्या आउनासाथ समाधान खोजिहाल्न सक्नुपर्छ । यसो गर्न सकिएन भने अप्ठ्यारो परिस्थिति आइपर्न सक्छ र कतिपय संवेदनशील क्षेत्रहरूमा ठूलै क्षति व्यहोर्नुपर्ने परिस्थितिसमेत आउन सक्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?