दशरथचन्द नगरपालिकाद्वारा खेलाडीलाई भत्ता

हिमालय टाइम्स
Read Time = 3 mins

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकाले स्थानीय महिला खेलाडीलाई भत्ता दिँदै आएको छ । नगरपालिकामा जारी नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीलाई भत्ता दिइरहेको हो । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन प्रत्येक खेलमा खाजा खर्चस्वरूप जनही १५० का दरले नगद दिने गरिएको दशरथचन्द नगर खेलकुद विकास समिति अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिनुभयो ।

नगरपालिकाले पहिलोपटक खेलाडीको हौसला र सम्मानस्वरूप प्रत्येक खेलमा खाजास्वरूप भत्ताको व्यवस्था गरेको हो । नगरपालिकाले खाजा खर्चस्वरूप भत्ताको व्यवस्था गरेपछि खेलाडीहरू पनि खुसी भएका छन् । खेलाडीको सम्मानस्वरूप भत्ता व्यवस्था गर्दा निकै खुसी लागेको दनपा-२ देहीमाडौंकी खेलाडी पिंकी बोहराले बताउनुभयो । खाजा खर्चबापत दिँदै आएको भत्ताले आफूहरूलाई खेलमा हौसला मिलेको र उक्त रकमले आफूले चाहेअनुसारको खाजा खान पनि सहज भएको बोहराको भनाइ छ ।

दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रम र नगर खेलकुद विकास समितिको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको प्रतियोगिता आँउदो मंगलबार सम्पन्न हुँदैछ । प्रतियोगिताको विजेताले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

यस्तै, प्रतियोगितामा ‘ओमेन अफ द सिरिज’लाई तीन हजार, ‘बेष्ट बलर’ र ‘बेष्ट ब्याट्स ओमेन’लाई १५/१५ सय, अनुशासित टोलीलाई तीन हजार र ‘ओमेन अफ म्याच’लाई ट्रफी, प्रमाणपत्र दिइने जनाइएको छ । समापन समारोहमा नगरपालिकाभित्रका अन्तर्राष्ट्रिय खेलाडीलाई दोसल्ला र कदर पत्रसहित सम्मान गरिने जनाएको छ ।

यसअघि नगरपालिकाले ब्याडमिन्टनका राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरेको थियो । खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको र महिलाहरूको क्रिकेट खेलतर्फ रुचि बढाएर दक्ष खेलाडी उत्पादन गर्ने हेतुले प्रतियोगिताको आयोजना गरिएको नगरपालिकाका प्रमुख पुष्करराज जोशी लख्खाभाइले बताउनुभयो । निकट भविष्यमै नगरपालिकाले सबै खेलकुद प्रतियोगिता सञ्चालन गर्ने तयारी गरेको नगर खेलकुद विकास समिति अध्यक्ष चन्दको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?