नियन्त्रणबाहिर जाँदै वनका डढेलो

फाईल तस्बिर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सानो हेलचेक्य्राइँले ठूलो क्षति हुन्छ तर आमजनमानसमा चेतनाको अभाव र वनका कर्मचारीको लापरबाहीका कारण वनमा दिनहुँजस्तो डढेलो लागिरहेको छ । जंगलको आगलागीबाट छेउका बस्तीमा समेत क्षति पुगिरहेको देखिन्छ । साँझपख दिनहुँजस्तो वनमा आगो लागे पनि जिम्मेवार निकाय भने मूकदर्शक देखिन्छन् । जसले गर्दा जंगल विनाश हुनुका साथै वनमा आश्रित वन्यजन्तुको जीवनसमेत संकटमा पर्न थालेको छ ।

एकातिर वन्यजन्तुको जीवन संकटमा छ भने अर्कातिर साना बिरुवाहरू मर्दा जंगल उजाड बन्दै जान थालेको छ । पर्यावरणमा समेत गम्भीर असर परिरहेको छ । वस्तु चराउन जाने गोठालाले घाँस पलाउने आशमा वनजंगलमा आगो लगाउँछन् भने भूमाफिया जग्गा अतिक्रमण गर्न र शिकारीले शिकार गर्नका लागिसमेत जंगलमा आगो लगाउने गरेका छन् ।

आगलागी मुख्य गरी पूर्व-पश्चिम राजमार्ग आसपासमा भइरहेको छ । लालबन्दीभन्दा पूर्व र रानीगञ्जभन्दा पश्चिमका राजमार्गछेउमा अहिले दिनहुँजस्तो जंगलमा आगो लाग्ने गरेको छ । तर, सम्बन्धित निकायबाट भने अनुगमन भएको छैन । जसले गर्दा आगलागी गराउनेहरूको मनोबल झनै बढेको छ ।

यता, जिम्मेवार निकाय डिभिजन वन कार्यालय भने आफूहरूलाई अहिले लागेको डढेलोका बारेमा कुनै जानकारी नरहेको बताउँछ । यदि यस्तो भएको पाइए कानुन बमोजिम कारबाही गरिनेसमेत कार्यालयले जनाएको छ । स्थानीय प्रदेश हुँदै संघीय सरकारले समेत यसतर्फ ध्यान दिन आवश्यक छ । नत्र हरियो वन नेपालको धन उखानमा मात्र सीमित हुने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?