क्यान इन्फोटेकमा बजारीकरणका लागि प्रतिस्पर्धा

Read Time = 3 mins

काठमाडौं । भृकुटीमण्डपमा जारी सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक २०२३’ मा प्रदर्शनीकर्ता कम्पनीबीच आफ्ना सेवा र उत्पादनको बजारीकरण गर्ने प्रतिस्पर्धा चलेको छ । मेलाको तेस्रो दिन बिहीबार अवलोकनकर्तालाई आकर्षित गर्न कम्पनीहरूले क्यान इन्फोटेक विशेष अफर तथा स्किम ल्याएका छन् । विशेषगरी कृषि, पर्यटन, हस्पिटालिटीलगायतका क्षेत्रमा प्रयोग हुने प्रविधिबारे बुझ्न चाहने अवलोकनकर्ता धेरै रहेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । विगतका इन्फोटेकको तुलनामा यसपटक युवाहरूको क्रेज देखिएको उहाँको भनाइ छ ।

क्यान इन्फोटेकको अवसर पारी विभिन्न सेवाप्रदायक तथा बिक्रेताले आफ्ना सेवा तथा वस्तुमा छुट घोषणा गरेका छन् । जसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद तथा बुकिङमा छुट, निःशुल्क परामर्श, कोडिङ च्यालेन्ज तथा रमाइला खेल सञ्चालन गरिरहेका छन् । बिहीबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधिकत दीपेश विष्टसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले मेला अवलोकन गरेका छन् ।

सो अवसरमा बुधबारदेखि फरक-फरक विषयमा आइसिटी सेमिनार पनि सुरु भएको छ । बिहीबार ‘नेपालमा ब्लकचेन’ विषयमा सेमिनार सम्पन्न भएको छ ।

त्यसैगरी मेलामा नेपाल टेलिकम र एनसेलले निःशुल्क सिम वितरण गरेका छन् । सेवाग्राहीले नयाँ सिम लिन चाहेमा सम्बन्धित व्यक्तिको पहिचान खुल्ने कागजात जस्तै नागरिकता, लाइसेन्स, पान नम्बर अथवा ड्राइभिङ लाइसेन्सको फोटोकपी र एउटा फोटो लिएर सिम दर्ता गर्न सक्ने कम्पनीले जनाएको छ । मेलाकै क्रममा नेपाल टेलिकमका प्रयोगकर्ताले हाल प्रयोग गरिरहेको सिम निःशुल्क इ-सिममा अपग्रेडसमेत गर्न सक्ने बताइएको छ । क्यान इन्फोटेकमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक, मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल रहेका आयोजकले जनाएको छ । मेला प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?