अंकतालिकामा पुलिसलाई अग्रता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको अंकतालिकामा नेपाल पुलिस क्लब अग्रता लिएको छ । १० स्वर्णको छिनोफानो हुँदा पुलिसले सात स्वर्ण पदक जितेको छ । शुक्रबार पुलिसका सोनम लामाले पुरुष कुमुते ५५ केजी तौल समूहमा स्वर्णपदक जित्नुभएको हो । ४५ केजी तौल समूहमा पुििलसका पुष्पका लामा, ६८ केजीमाथिको तौल समूहमा एरिका गुरुङ, ५० केजी तौल समूहमा साजन मोक्तान, ८४ केजीमाथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले जित्नुभयो ।

एपीएफका सुविन खत्रीलाई आठ-तीनले हराउँदै सोनमले स्वर्ण पदक जित्नुभएको हो । त्यसअघि सेमिफाइनलमा सोनमले गण्डकी अंकित गुरुङलाई १०-२ ले र सुविनले सुदूरपश्चिमका राम बिसीलाई ६-२ ले हराउँदै फाइनल भेट पक्का गर्नुभएको थियो । अंकित र रामले कास्य पदक प्राप्त गरे । सो इभेन्टमा १० खेलाडीले प्रतिस्पर्धा गर्नुभएको थियो ।

त्यसअघि महिला ५० केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी मिस्ली श्रेष्ठ स्वर्ण पदक जित्नुभयो । त्यसमा सुदूरपश्चिम प्रदेशकी गरिमा मल्लले रजत, पुलिसकी सविना श्रेष्ठ र बागमती प्रदेशकी सोनु श्रेष्ठले कास्य पदक प्राप्त गर्नुभयो । पुरुष कुमुते ८४ केजी तौल समूहमा विप्लवलाल श्रेष्ठले स्वर्ण, एपिएफ क्लबका तेन्जिङ शेर्पाले रजत तथा आर्मीका विपिनराज सिंह दर्जी र लुम्बिनी प्रदेशका नारायण गुरुङले कास्य पदक प्राप्त गर्नुभएको हो ।

त्यसअघि पुलिसकी एरिका गुरङले महिला कुमुते ६८ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जित्नुभएको थियो । त्यसमा आर्मीका विभुषो रजत तथा रोजिता ढुंगेल र बागमती प्रदेशकी महिमा राईले कास्य पदक प्राप्त गर्नुभयो । त्यस्तै दिनको पहिलो खेलमा पुलिसका सन्जय मोक्तानले कुमुते पुरुष ५० केजीमा स्वर्ण पदक जित्नुभयो । त्यसमा बागमतीका सिमोन श्रेष्ठले रजत तथा प्रदेश-१ का विशाल राई र आर्मीका विजय रिमालले कास्य पदक प्राप्त गर्नुभयो ।

पुलिसबाहेक प्रतियोगितामा एपिएफले दुई र आर्मीले एउटा स्वर्ण पदक जितेको छ । गोदावारी नगरपालिकाद्वारा आयोजित कृष्णप्रसाद भट्टराई खेल महोत्सव-२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरेको राष्ट्रिय कराते प्रतियोगिता शनिबार सम्म चल्नेछ ।

प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । हरेक इभेन्टको स्वर्ण पदक जित्ने खेलाडीले स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कारसहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सात प्रदेश तथा तीन विभाग (सेना, प्रहरी, सशस्त्र) गरी १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?