संघीय संसद्‌मा राष्ट्रपति भण्डारीको अन्तिम सम्बोधन

‘राजनीतिले गति लियो, अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ’

डिबी शर्मा
Read Time = 10 mins

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक अब विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शुक्रबार संघीय संसद्मा अन्तिम सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशको राजनीतिले एउटा लय र गति समातिसकेको भन्दै अब विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपालको संविधान कार्यान्वयनको सात वर्षको अभ्यास र अनुभव महत्वपूर्ण रहेको उहाँको भनाइ थियो । ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भहरू संस्थागत भएका छन् । संविधान कार्यान्वयन, संघीय शासन व्यवस्था सञ्चालन र लोकतन्त्रको व्यावहरिक सुदृढीकरणका लागि हामीले अवलम्बन गरेका नीति, निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ,’ सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘देशको राजनीतिले एउटा लय र गति समातिसकेकोले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ भन्ने मैले ठानेको छु ।’

यसबीचमा देशको आर्थिक-सामाजिक क्षेत्रमा धेरै नै प्रगति भए पनि त्यो प्रयाप्त नभएको उहाँले बताउनुभयो । देशको आर्थिक अवस्था जटिल मोडमा रहेको विषयप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अर्थतन्त्रमा देखिएका तत्कालीन, अल्पकालीन र दीर्घकालीन समस्याको समाधान नखोजी गरिने कुनै पनि क्रियाकलाप सफल नहुने जिकिर गर्नुभयो । ‘विकास निर्माणले गति लिएको छ । तर, यो गति पर्याप्त छ त ?’ उहाँको प्रश्न थियो, ‘हामीले हरेक नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न गरेको प्रयासले सार्थकता पाएको छ त ? यी प्रश्नहरूको जवाफलाई केन्द्रमा राखेर अबका हाम्रा कामकारबाही अगाडि बढ्नुपर्दछ ।’ अर्थतन्त्रका सूचकहरूमा पछिल्लो समय केही सकारात्मक संकेत देखापरे तापनि यसको दीगोपनामा आश्वस्त भइहाल्ने अवस्था नदेखिएको उहाँको भनाइ थियो ।

औपचारिक अर्थतन्त्रलाई बढावा दिन र संस्थागत गर्नेतर्फ वित्त नीति निर्देशित हुनुपर्ने उहाँको सुझाव छ । सरकारले आगामी दिनमा राजस्वको क्षेत्र र दायरा विस्तार गरी सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक माध्यममा आबद्ध गर्न प्रोत्साहित गर्ने राष्ट्रपति भण्डारीको अपेक्षा छ ।

शिक्षकले अध्यापन नगरी राजनीति गर्ने, विद्यार्थीले राजनीतिक दलको भ्रातृ संगठनको रूपमा काम गर्ने अनि शिक्षण संस्थाका पदाधिकारीले राजनीतिक आग्रह पूर्वाग्रहमा शैक्षिक कार्यक्रम चलाउने स्थितिको अन्त्य गर्नु अपरिहार्य देखिएको छ ।

विगत केही वर्षदेखि विनियोजित बजेट पूर्ण रूपमा खर्च नभएको भन्दै राजस्व संकलनमा समेत कमी आउनु सुखद् संकेत नभएको उहाँले बताउनुभयो । पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरू सकारात्मक हुँदै गए तापनि ढुक्क भइहाल्ने स्थिति नबनेको उहाँको भनाइ थियो ।
अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादनको क्षेत्र सबल बनाउनुपर्ने भन्दै सरकारले छिटोभन्दा छिटो उत्पादन वृद्धिका लागि समन्वयात्मक कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।

रासायनिक मलको नियमित आपूर्तिका लागि मल उत्पादक राष्ट्रसँग सोझै वार्ता गरी कम्तीमा तीनदेखि पाँच वर्षसम्म एकमुष्ट सम्झौता गर्न सकिएमा आपूर्ति दिगो हुने उहाँको विश्वास छ । यसका साथै मूल्य र गुणस्तरलाई नियमनको दायरामा ल्याई मल आपूर्तिमा निजी क्षेत्रलाई सहभागी गराउने विकल्प पनि प्रयोगमा ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो । नेपालमै आगामी पाँच वर्षभित्र गुणस्तरीय रासायनिक मल उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने गरी समयबद्ध सुरुवात गर्नुपर्नेसमेत उहाँले बताउनुभयो ।

अबको दुई/पाँच वर्षमा निश्चित खाद्यवस्तुमा आत्मनिर्भर भई बचत हुन जाने उत्पादन निर्यातसमेत गर्न सक्षम हुने गरी कृषिका कार्यक्रम कार्यान्वयन गर्नु आवश्यक देखिएको उहाँले बताउनुभयो ।

स्वदेशी वस्तुको उत्पादन र उपभोग बढाउन निजी क्षेत्रबाट अघि सारिएका ‘मेक इन नेपाल’ र मेड इन नेपाल’ जस्ता कार्यक्रमहरूलाई सरकारले पनि अपनत्व प्रदान गरी सहकार्य गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रतिभा विदेश पलायन रोक्न आग्रह
राष्ट्रपति भण्डारीले नेपालमै श्रमबजार खोलेर प्रतिभा विदेश पलायन रोक्न आग्रह गर्नुभएको छ । स्वदेशमै रोजगारीको व्यवस्था गर्न उहाँले आग्रह गर्नुभयो । प्रत्येक वर्ष श्रम बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन सार्वजनिक र निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेकोमा उहाँको जोड छ ।

सुशासनको प्रत्याभूत गर्न र आम नागरिकमा राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त बनाउनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ । ‘सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाउन नसकिए मुलुकमा सुशासन छ भनेर दाबी गर्नु निरर्थक हुन्छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले नागरिकले घरदैलोमै सरकार छ भन्ने अनुभूत गर्नसक्ने गरी सेवाप्रवाहको व्यवस्था मिलाउनुपर्दछ ।’

विकास आयोजना कार्यान्वयनको गति अत्यन्त सुस्त रहेको भन्दै देशमा दिनदिनैजसो हुने सडक दुर्घटनाका कारण नागरिकले अकालमै मृत्यवरण गर्नुपरिरहेको मात्र होइन, नेपालको यातायात सेवा सुरक्षित छैन भन्ने सन्देश संसारभर गएको उहाँले बताउनुभयो । सडक दुर्घटना न्यून गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने उहाँको भनाइ छ । शिक्षकले अध्यापन नगरी राजनीति गर्ने, विद्यार्थीले राजनीतिक दलको भातृ संगठनको रूपमा काम गर्ने अनि शिक्षण संस्थाका पदाधिकारीले राजनीतिक आग्रह पूर्वाग्रहमा शैक्षिक कार्यक्रम चलाउने स्थितिको अन्त्य गर्नु अपरिहार्य देखिएको उहाँले बताउनुभयो ।

कुनै देशसँग नजिक र टाढा हुन आवश्यक छैन
राष्ट्रपति भण्डारीले नेपाल कुनै पनि देशसँग अनावश्यक रूपमा नजिक वा टाढा हुन आवश्यक नरहेको बताउनुभएको छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सुरक्षामा किञ्चित पनि सम्झौता नहुने उहाँको भनाइ छ । ‘नेपालले सदैव असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको छ । हामीलाई कसैसँग अनावश्यक नजिक र कसैसँग टाढा हुनु जरुरी छैन,’ उहाँले भन्नुभयो, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र सुरक्षामा किञ्चित पनि सम्झौता नहुने गरी कुनै पनि मुलुकसँग हामीले मित्रता कायम गर्नुपर्दछ र एकअर्काको हितमा सहकार्य गर्नुपर्दछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?