प्रिन्स र जेशिकालाई उपाधि

हिमालय टाइम्स
Read Time = 5 mins

इटहरी । इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍यांकिङ खुला ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि पुरुष एकलतर्फ नेपाल पुलिसका प्रिन्स दाहाल र महिला एकलतर्फ एपिएफकी जेशिका गुरुङले जित्नुभएको छ । प्रिन्सले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनलाई २३-२१, २१-१५ ले पराजित गर्दै उपाधि उचाल्नुभएको हो । विजयबापत दाहालले नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । उपविजेता प्रफुलले नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । तेस्रो स्थानमा पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जन रहनुभयो । विष्णु र रुकेश प्रत्येकले नगद १०/१० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

यसैगरी जेशिकाले आर्मीकी अमिता गिरीलाई २१-८, २१-१५ ले पराजित गर्दै उपाधिका साथ नगद ५० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । अमिताले दोस्रो भएबापत नगद २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनुभएकी सेनाकी रशिला महर्जन र कस्तुरी कलेजकी सीमा राजबंशीले नगद १०/१० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ पुलिसका विष्णु कटुवाल र प्रिन्स दाहालको जोडीले जित हात पार्दै उपाधिसहित नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । कटुवाल र दाहालको जोडीले आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई १९-२१, २१-१३, २१-१४ ले पराजित गर्दै उपाधि उचाल्नुभएको हो ।

दोस्रो स्थानमा रहेको महर्जन जोडीले नगद १५ हजार र तेस्रो स्थानमा रहनुभएका दीपक बोहरा र सुनिल जोशी तथा पुलिसका जीवन आचार्य र एपिएफका विजित थापा मगरको जोडी संयुक्त तेस्रो हुँदै ७ हजार ५ सयसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

यस्तै, महिलातर्फ सेनाका अमिता गिरी र रशिला महर्जनको जोडीले एपिएफका जेशिका गुरुङ र सुनयना मुखियाको जोडीलाई २१-१०, २१-९ ले पराजित गर्नुभयो । विजयी जोडीले नगद ३० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । उपविजेताले नगद १५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

तृतीय स्थान प्राप्त गर्नुभएका झापाकी अञ्जना राई र धनकुटाकी अरुणा तामाङ तथा एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडी प्रत्येकले ७ हजार ५ सयसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

मिक्स युगलतर्फको खेलमा आर्मीका प्रफुल महर्जन र रशिला महर्जनको जोडीले आफ्नै क्लबका पविन लिनथेप र अनुमाया राईको जोडीलाई २१-१०, २१-८ ले पराजित गर्दै उपाधिका साथ नगद ३० हजार प्राप्त गर्नुभयो । उपविजयी लिनथेप र राईको जोडीले नगद १५ हजार प्राप्त गर्नुभयो । यस्तै, तेस्रो स्थानमा रहनुभएका एपिएफका क्षितिज खनाल र जेशिका गुरुङ तथा पुलिसका जीवन आचार्य र निता लम्सालको जोडी प्रत्येकले नगद ७ हजार ५ सय प्राप्त गर्नुभयो ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि नेकपा एमाले १ नं. प्रदेशसभा सदस्य तथा सचेतक माननीय रेवतीरमण भण्डारी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, उपाध्यक्ष चन्द्रशेखर लामा, सुनसरी जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष प्रतीक श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?