क्यान इन्फोटेकमा प्रविधिप्रेमी

Read Time = 3 mins

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी इन्फो डेभलपर्स क्यान इन्फोटेक २०२३ मा प्रविधिप्रेमीको आकर्षण देखिएको छ । मेलाकोे चौथो दिन विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिप्रेमीहरूले इन्फोटेक अवलोकन गरेका छन् । आइतबारसम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, इ-कमर्श, आइटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुललगायतसँग सम्बन्धित स्टलमा अवलोकनकर्ताको आकर्षण रहेको आयोजकले जनाएको छ ।

विशेषगरी नेपाली विद्यार्थीले तयार पारेका एप्लिकेसन र प्रोजेक्ट, विभिन्न स्टार्टअप यार्सा टेक, इट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्सलगायतमा बढी आकर्षण देखिएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले बताउनुभयो । यसैबीच इन्फोटेक कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, सांसद तारा लामा, टिकटक स्टार बिना राउत, सरोज राना प्रजा, निमेशजंग थापाका साथै विद्यार्थीहरूले अवलोकन गरेका छन् ।

यसैबीच उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटो मोबाइल्स विलासिताको वस्तु नभई आवश्यकताको वस्तु भएको बताउनुभएको छ । शुक्रबार नाडाको ४६औँ वार्षिक साधारणसभामा उहाँले राज्यले सडक पूर्वाधारमा अर्बौं लगानी गरेको भन्दै त्यसमा गुड्ने साधनलाई विलासिताको ट्याग लगाउन नमिल्ने बताउनुभएको हो । लामो समयदेखि अटोमोबाइल्सलाई विलासिताको वस्तुको परिभाषा नगर्न नाडाले गर्दै आएको मागमा सरकार गम्भीर रहेको उहाँले बताउनुभयो । अर्थमन्त्री पौडेलले एक समयमा मोबाइल फोनको प्रयोग विलासिताको वस्तु मानिने भए पनि अहिले मोबाइल फोन अपरिहार्य वस्तुभित्र परिरहेको भन्दै अटोमोबाइल्स पनि त्यस्तै रहेको बताउनुभयो ।

उहाँले विद्युत्मा आत्मनिर्भर भई निर्यातको अभ्यास गरिरहेकाले विद्युतीय गाडीको प्रयोग बढाउन गुणस्तरीय विद्युतीय सवारीमात्रै आयात र प्रयोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । विद्युतीय सवारी प्रयोग बढाउन आवश्यक सहयोग गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?