राष्ट्रपतिको चासो र चिन्ता

हिमालय टाइम्स
Read Time = 6 mins

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल समाप्त हुन लागेको छ । उहाँको पहिलो कार्यकाल छोटो समयका लागि रहृयो भने दोस्रो कार्यकाल पूर्ण रहृयो । उहाँभन्दा पहिले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा.रामवरण यादवले सम्हाल्नु भएको थियो । २०७४ सालमा भएको संसदीय निर्वाचनबाट नेकपाको बहुमत भएका कारण उहाँ उक्त दल संबद्ध भएको हुनाले अर्को पटकका लागि पुनः उक्त जिम्मेवारीमा दोहोरिन पाउनुभएको थियो । अब उहाँको कार्यकाल सकिनै लागेको छ । त्यस अर्थमा राष्ट्रपतिको हैसियतले संसद्मा उहाँको अन्तिम सम्बोधन हो । उहाँले शुक्रबार संसद्मा गरेको सम्बोधनमा राष्ट्रको बारेमा धेरै चिन्ता र चासोका सवाल उठाउनुभएको छ ।

राष्ट्रपति राष्ट्रको सर्वोच्च पद हो । यो पद राष्ट्रप्रमुखको पद हो, त्यस अर्थमा देशको अभिभावकीय पद हो । उहाँले विभिन्न राष्ट्रिय सवालमा चिन्ता र चासो अभिव्यक्त गर्नु स्वाभाविक हुन आउँछ । नेपालको वर्तमान संविधानले राष्ट्रपतिलाई आलंकारिक मानेको छ । संविधानले गरेको वर्तमान व्यवस्था नेपालका लागि उपयुक्त रहेकोमा सबै राजनीतिक पार्टीको सहमति पाइन्छ । राष्ट्रप्रमुखबाट संसद्मा परम्परालाई निरन्तरता दिँदै शुक्रबार भएको सम्बोधनमा केही चिन्ता व्यक्त गरिएको छ । शिक्षा, प्रतिभा पलायन, परराष्ट्र सम्बन्ध जस्ता विषय मूलरूपमा सम्बोधनमा परेका छन् । यसबाट यी क्षेत्रमा कमीकमजोरी रहेछन् भन्ने देखिन आएको छ । उहाँको यो अभिव्यक्ति सरकारका लागि मार्गदर्शन हो, सरकारले चासो लिनुपर्ने हुन्छ ।

संघीय संसद्को अन्तिम सम्बोधनमा राष्ट्रपतिले शिक्षकले अध्यापन नगरी राजनीति गर्ने, विद्यार्थीले राजनीतिक दलको भ्रातृ संगठनको रूपमा काम गर्ने, अनि शिक्षण संस्थाका पदाधिकारीले राजनीतिक आग्रह-पूर्वाग्रहमा शैक्षिक कार्यक्रम चलाउने स्थितिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्नुभएको छ । वास्तवमा यो आजको मात्र समस्या होइन । नेपालमा प्राजातन्त्र पुनर्वहाली भएदेखिकै समस्या हो, ३३ वर्षदेखि निरन्तर छ । जुन ठाउँमा जुन राजनीतिक दलको वर्चस्व छ त्यहाँ ती दलहरूले विद्यालयका अध्यापक कर्मचारी र विद्यार्थीलाई आफ्नो प्रभावमा राख्ने गरेका छन् । यदि तिनीहरूले ती दलको पक्षमा काम नगर्ने हो भने तिनीहरू त्यहाँ रहन सक्दैनन्, त्यो बाध्यता हो । यसर्थ राष्ट्रपतिले चिन्ता गर्नु भएबमोजिम यस्तो अवस्थाको अन्त्य हुनैपर्छ ।

कुनै पनि देशको मेरुदण्ड भनेकै शिक्षा हो । शिक्षा कमजोर भएका खण्डमा देशले उन्नति गर्न सक्दैन । ‘कुनै देशलाई कमजोर पार्नु छ भने त्यस देशको शिक्षा प्रणालीलाई कमजोर पारे पुग्छ’ भन्ने त भनाइ नै छ । त्यसैगरी उहाँले उठाउनुभएको अर्को विषय प्रतिभा पलायनको । देशका सक्षम र योग्य मानिस उचित अवसर नपाएर विदेशिन्छन् । त्यहाँ आफ्नो योग्ता, क्षमताबमोजिमको काम पाउँछन् र उतै बस्छन्, देश फर्किंदैनन्, सबैको चिन्ताको विषय हो । बौद्धिक वर्ग आफ्नो योग्यता अनुसारको काम खोज्दै पश्चिमा मुलुकमा जाने गरेका छन् भने अर्धदक्ष–अदक्ष व्यक्तिहरू श्रमबजारको खोजीमा विभिन्न मुलुकमा जाने गरेका छन् ।

उनीहरूकै विप्रेषणबाट हाल देश चलिरहेको छ । एकातिर राष्ट्रपतिको यस्तो चिन्ता छ भने अर्कातिर सरकार आफ्ना नागरिकलाई श्रमका लागि विदेश पठाउन श्रम बजार विस्तार गरिरहेको छ । यो विरोधाभाषको अन्त्य हुनुपर्ने देखिन्छ । राष्ट्रपतिले चिन्ता गर्नुभएको अर्को विषय हो परराष्ट्र सम्बन्ध । कुनै देशसँग नजिक र कुनैसँग टाढा हुनु आवश्यक छैन भनेर उहाँले पृथ्वीनारयण शाहका पालादेखिको सन्तुलित परराष्ट्र सम्बन्धको संस्मरण गराउनुभएको छ । राष्ट्रपतिले चिन्ता गरेका विषयलाई चिन्ता र चासो अनुसारकै सोच राखेर सरकारले सोही बमोजिम नीति–निर्माण गरी कार्यान्वयन गर्नु त्यत्तिकै आवश्यक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?