कृषि मेलाको आकर्षण पोर्क फेस्टिबल

Read Time = 3 mins

रूपन्देही । बुटवलमा हुन लागेको ‘कृषि मेला–२०७९’ को तयारी पूरा भएको छ । आयोजक बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले फागुनको २ देखि ६ गतेसम्म सञ्चालन गर्न लागेको ११औँ संस्करणको कृषि मेलामा विशेष आकर्षणका रूपमा पोर्क फेस्टिबल रहेको छ ।

बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजना हुने मेलामा पोर्क फेस्टिबलसहित कृषिमा आधुनिक प्रविधि प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवासम्बन्धी जानकारीमूलक स्टल तथा कृषिसम्बन्धी अन्तरक्रियासमेत आयोजना हुने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । संघका अध्यक्ष तथा कृषि मेला मूल समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले मेलामा ५० स्टल रहने बताउनुभएको छ ।

खाने बानी परिवर्तन गर्दै स्थानीय कृषि वस्तुको प्रवद्र्धन, पोषणमा सुधार र आयात प्रतिस्थापनका लागि मेलामा च्याउ, दुग्ध, कोदो, माछाका परिकार राखिने बताइएको छ । मेलामा १३ वटा स्टल पोर्क फेस्टिबलका लागि स्टल रहनेछन् । जसमा नौ प्रकारका चिनियाँसहित बंगुरको मासुबाट बनेका २१ परिकार पस्किने बंगुर व्यवसायी संघ लुम्बिनीका अध्यक्ष लिलाबहादुर सूर्यवंशीले जानकारी गराउनुभयो ।

त्यस्तै, कृषिका अत्याधुनिक प्रविधितर्फ धान रोप्ने, बाली काट्ने, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिँचाइ प्रविधि, हाइड्रोपोनिक्स, मौरीपालन, जैविक मलका साथै ताजा तरकारी, खाद्यान्न बाली, फलफूल प्रतियोगितात्मक हिसाबले प्रदर्शन गरिने कृषि मेला समन्वय समितिका संयोजक वसन्तप्रसाद ढकालले बताउनुभयो । कृषिको व्यावसायिक विकासका लागि मन्त्रालयले निजी क्षेत्रसँग सहकार्य गरेर मेला आयोजना गरिएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लोकराज भुसालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?