लागुऔषध कारोबारमा संलग्न १३ जना सार्वजनिक

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागुऔषध कारोबारमा संलग्नमध्ये चारजना थाई नागरिक, दुईजना भारतीय र सातजना नेपाली नागरिक गरी कुल १३ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले २०७९ साल माघ २४ गते काठमाडौं महानगरपालिका २८ बाट सोलुखुम्बु जिल्लाका ३५ वर्षीय लाक्पा शेर्पालाई नियन्त्रित लागुऔषध ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन एम्पुल-२०, तीन सय पिस, नाइट्रोभेट १२ हजार ९५० ट्याब्लेट र नगर चार लाख पाँच हजारसहित पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा माघ २५ गते कामनपा-२२ सुनधाराबाट लाक्पा शेर्पालाई बिक्री गरेको लागुऔषध बापतको रकम लिन भारत मधुवनीबाट काठमाडौं आएका भारत, बिहार राज्य मधुवनी जिल्लाका ३८ वर्षीय भारतीय नागरिक फैज अहमदलाई पक्राउ गरेको थियो । त्यस्तै, प्रहरीले माघ २६ गते धनुषाको औराही गाउँपालिका–३ बाट जनकपुरबाट काठमाडौंसम्म सवारीसाधन व्यवस्थापन गरी लागुऔषध एम्पुल लुकाएर पठाउने धनुषाका २९ वर्षीय रिहासद भन्ने अयान रेजालाई पक्राउ गरेको थियो ।

प्रहरीले माघ २६ गते नै धनुषाको औराही गाउँपालिका-३ स्थित कपटोलस्थित सडक किनाराबाट जनकपुरदेखि काठमाडौंसम्म लागुऔषध लुकाइएको गाडीमा सँगै आई लागुऔषध एम्पुल लाक्पा शेर्पालाई दिने जिल्ला धनुषा औरही गाउँपालिकाका ४५ वर्षीय जाकिर नदाफलाई धनुषाबाट पक्राउ गरेको थियो । नेपाल प्रहरीले माघ २७ गते काठमाडौं महानगरपालिका-१६ बालाजुबाट लाक्पा शेर्पासँग लागुऔषध एम्पुल खरिद गर्दै आएका जिल्ला काभ्रेपलाञ्चोक भुम्लु-४ का २४ वर्षीय दीपक तामाङलाई ६ हजार रुपैयाँसहित पक्राउ गरेको र माघ २७ गते नै काठमाडौं महानगरपालिका-२२ काठमाडौं मलबाट लाक्पा शेर्पासँग लागुऔषध एम्पुल खरिद गर्दै आएका नुवाकोट शिवपुरी-८ का २९ वर्षीय लक्ष्मण बखतीलाई ६ हजार नगदसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताउनुभयो ।

उहाँले लागुऔषध चरेस २३.८ किलोग्रामसहित चारजना थाई नागरिकलाई पक्राउ गरेको पनि बताउनुभयो । उहाँले माघ २८ गते कामनपा-९ गौचरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर कक्षमा थाई एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाइल्याण्डको बैंकक जान लागेका ५१ वर्षीय थाई नागरिक यवालुक जुएबश्री, ४२ वर्षीया परिचर्त पमप्रुक, २५ वर्षीय नतापोल त्रिचेइया र २० वर्षीया नतनरे त्रिचेइया रहेको बताउनुभयो । त्यस्तै, लागुऔषध खैरो हेरोइन ३९ ग्राम र डिजिटल तराजु थान एकसहित दुईजना भारतीय व्यक्ति पक्राउ परेको उहाँले बताउनुभयो । उहाँका अनुसार कामनपा-९ सिनामंगलस्थित एक होटलबाट मोरङ लेटाङ नगरपालिका-२ का ३४ वर्षीय रोशन रिसाललाई लागुऔषध खैरो हेरोइन एकग्राम र डिजिटल तराजुसहित पक्राउ गरिएको हो । त्यस्तै, थप अनुसन्धानको सिलसिलामा रोशन रिसालको साथबाट लागुऔषध खैरो हेराइन बिक्री गरेका मोरङ केराबारी गाउँपालिका-३ का ३५ वर्षीय अमित श्रेष्ठलाई काठमाडौं ३२ कोटेश्वरबाट लागुऔषध खैरो हेराइन ३८ ग्रामसहित पक्राउ गरी सार्वजनिक गरिएको बताउनुभयो ।

त्यस्तै, माघ २९ गते कामनपा-३२ कोटेश्वरस्थित एक होटलबाट भारतको बिहार राज्य मधुवनी जिल्ला जयनगर, हथलेटेवा–४ का भारतीय नागरिक ३२ वर्षीय श्रवणकुमार महरालाई लागुऔषध खैरो हेरोइन १२ ग्राम, डिजिटल तराजु एकथान र नगद ६ हजार रुपैयाँसहित पक्राउ गरिएको बताउनुभयो । उहाँले बरामद लागुऔषध एम्पुलको बजार मूल्य प्रतिएम्पुल १६८ रुपैयाँका दरले २० हजार तीन सय एप्पुलको अहिलेको मूल्य ३४ लाख १० हजार चार सय रहेको बताउनुभयो । त्यस्तै, बरामद लागुऔषध नाइट्राभेट ट्याब्लेटको अवैध बजारमूल्य प्रतिट्याब्लेट ३० रुपैयाँका दरले १२ हजार ९५० ट्याब्लेटको अहिलेको मूल्य तीन लाख ८८ हजार पाँच सय रहेको छ । त्यस्तै, बरामद लागुऔषध चरेसको अवैध बजारमूल्य प्रतिकिलोग्राम ३५ हजारका दरले २३.८ केजीको अहिलेको मूल्य आठ लाख ३३ हजार रहेको छ । त्यस्तै, बरामद लागुऔषध खैरो हेरोइनको अवैध बजार मूल्य प्रतिग्राम १० हजार रुपैयाँका दरले ५१ ग्रामको अहिलेको मूल्य पाँच लाख १० हजार रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?